सरकारकै नाममा आउने र निर्वाचन प्रयोजनका लागि भारतले सहयोगस्वरुप उपलव्ध गराएका केही गाडीहरु नेपाल भित्रिइसकेको गृह मन्त्रालयले जनाएको छ ।
पहिलो लटमा ७९ वटा गाडीहरु नेपाल आइसकेको र बाँकी ४० वटा गाडीहरु भन्सार प्रक्रिया पूरा गरेर आज-भोलिमा नै काठमाडौं आइपुग्ने गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले बताइन् । उनका अनुसार, पहिलो लटमा १२९ वटा गाडीहरु ल्याउन लागिएको हो । ‘पहिलो लटमा ७९ वटा गाडीहरु आइसकेका छन । बाँकी ४० वटा गाडीहरु भोलि (मंगलबार) सम्म काठमाडौं आइपुग्नेछन्,’ उनले मेरो लगानीसँग भनिन् ।
भारत सरकारले निर्वाचन प्रयोजनका लागि दिने ती गाडीहरु भन्सार छुट गरेर नै ल्याउन लागिएको उनको भनाइ छ । अर्थ मन्त्रालयको सहमतिमा भारतबाट ल्याउन लागिएका १०६ वटा गाडीको भन्सार छुट भइसकेको छ । नेपाल सरकारकै नाममा आउने र निर्वाचन प्रयोगका लागि प्रयोग हुने भएकाले पनि भन्सार छुट गरेर ल्याउन लागिएको अर्थ मन्त्रालका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए ।
‘भारत सरकारले दिने ती गाडीहरु नेपाल सरकारकै नाममा आउने हो । निर्वाचनकै प्रयोजनका लागि ल्याउन लागिएको हो, त्यसकारण पनि भन्सार छुट गरेर ल्याउन लागिएको हो,’ उनले भने । हालसम्म १०६ वटा गाडीको लागि भन्सार छुट दिने गरी मन्त्रालयले सहमति दिइसकेको उनको भनाइ छ ।
सवै सवारी साधनहरु निर्वाचन सामग्री ढुवानी र तयारीका लागि नेपाल सरकारले माग गरेबमोजिम भारतले उपलव्ध गराउन लागेको हो । आगामी चुनावका लागि भारत सरकारले ६५० सवारी साधनहरु नेपाललाई उपलव्ध गराउने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता जनाएअनुरुपका सवारी साधनहरु आगामी हप्तामा चरणबद्ध रुपमा आउने जनाइएको छ ।