विदेशी धितोपत्र र निक्षेपबाटै खर्बौं कमाउँदै केन्द्रीय बैंक

Jan 27, 2026 04:38 PM Merolagani



नेपाल राष्ट्र बैंकले आफ्नो विदेशी मुद्रा सञ्चितिलाई केवल ढुकुटीमा थन्क्याएर मात्र नराखी अन्तर्राष्ट्रिय बजारमा उच्च प्रतिफल दिने क्षेत्रमा परिचालन गर्न थालेको देखिएको छ। २०८२ पुस मसान्तको पछिल्लो वित्तीय विवरण अनुसार राष्ट्र बैंकले विदेशी बैंकको मुद्दती निक्षेप र विदेशी धितोपत्रमा आफ्नो लगानीलाई निकै आक्रामक ढंगले विस्तार गरेको छ।

तथ्याङ्क अनुसार राष्ट्र बैंकले विदेशी धितोपत्रमा मात्रै १९ खर्ब १७ अर्ब २० करोड रुपैयाँ लगानी गरेको छ, जुन असार मसान्तको तुलनामा करिब २ खर्ब ५० अर्बले बढी हो। त्यसैगरी, विदेशी बैंकको मुद्दती निक्षेपमा पनि ७ खर्ब ५० अर्ब रुपैयाँ राखिएको छ। यसरी हेर्दा राष्ट्र बैंकले आफ्नो कुल सम्पत्तिको ठूलो हिस्सा सुरक्षित र ब्याज आउने वैदेशिक उपकरणहरूमा परिचालन गरेर संस्थागत नाफा बढाउने रणनीति लिएको प्रष्ट हुन्छ। यसको प्रत्यक्ष प्रभाव राष्ट्र बैंकको जगेडा कोषमा देखिएको छ, जुन ६ महिनामै २८ प्रतिशतले बढेर ८ खर्ब ६४ अर्ब पुगेको छ।

त्यस्तै, बैंकले सुन र चाँदीको सम्पत्तिमा पनि ५५ अर्ब ४१ करोड रुपैयाँ बराबरको लगानी कायम राखेको छ। एकातिर आन्तरिक बजारमा सरकारी खर्च कम हुँदा निक्षेप थुप्रिएको देखिए पनि अर्कोतिर केन्द्रीय बैंकले आफ्नो पोर्टफोलियो व्यवस्थापनमार्फत विदेशी मुद्राबाट अधिकतम लाभ लिने प्रयास गरिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा ब्याजदरमा हुने उतारचढावबाट फाइदा उठाउन बैंकले लिएको यो रणनीतिले आगामी दिनमा सरकारलाई बुझाउने लाभांशमा समेत वृद्धि हुने देखिएको छ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।