सुस्ताएको मितेरी डेभलपमेन्ट बैंकमा अनन्तको ‘जादु’: एक वर्षमै बैंकको कायापलट

Jan 30, 2026 06:11 PM merolagani



सुवास निरौला 

नेपालको बैंकिङ क्षेत्र यतिबेला अत्यन्तै चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको छ,जहाँ निष्कृय कर्जाको व्यवस्थापन र निक्षेपको सही परिचालन नै बैंकहरूको अस्तित्वको कडी बनेको छ। 

यस्तो कठीन समयमा कुनै पनि संस्थाको बागडोर कस्तो व्यक्तिको हातमा पुग्छ भन्ने कुराले उक्त संस्थाको आगामी भविष्य निर्धारण गर्दछ। मितेरी डेभलपमेन्ट बैंककाे २५०औँ सञ्चालक समितिको बैठकले अनन्त चापागाईँलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सुम्पियो। नबिल बैंक र प्राइम कमर्सियल बैंक जस्ता स्थापित संस्थाहरूमा झण्डै ३३ वर्ष बिताएका चापागाईँले कार्यभार सम्हाल्दा मितेरी बैंक स्थिर अवस्थामा थियो। उनले नेतृत्व सम्हाल्नु अघि अर्थात् २०८१ पुस मसान्तको वित्तीय विवरणलाई हेर्ने हो भने बैंकसँग पूँजी त थियो, तर त्यसको उच्चतम परिचालन र खराब कर्जाको व्यवस्थापनमा एउटा दरिलो ‘पुस’ को खाँचो देखिन्थ्यो।

पुस २०८१ सम्मको विवरण अनुसार बैंकको खुद नाफा २ करोड ५८ लाख ८१ हजार रुपैयाँमा सीमित थियो भने प्रतिशेयर आम्दानी ४.२५ रुपैयाँ मात्र थियो। त्यसबेला बैंकको खराब कर्जा १.७४ प्रतिशत रहेको थियो, जुन विकास बैंकहरूको औसत अवस्थाभन्दा खराब नभए पनि सन्तोषजनक भने पक्कै थिएन। सबैभन्दा रोचक पक्ष त के थियो भने बैंकको कर्जा–निक्षेप अनुपात (सिडि रेसियो) ६२.६८ प्रतिशत मात्र थियो, जसले बैंकसँग लगानी गर्ने प्रशस्त क्षमता भए पनि त्यसलाई बजारमा पठाउन नेतृत्व हिच्किचाइरहेको प्रष्ट पार्थ्यो। ७ अर्ब ९५ करोडको कुल सम्पत्ति बोकेको बैंकमा जब चापागाईँको प्रवेश भयो, तब उनको पहिलो प्राथमिकता नै बैंकको निष्क्रिय रहेको पुँजीलाई चलायमान बनाउनु र ऋण असुलीलाई तीव्रता दिनु बन्यो।

चापागाईँले नेतृत्व सम्हालेको पहिलो तीन महिना अर्थात् २०८१ चैत मसान्तको प्रतिवेदन सार्वजनिक हुँदा पुसमा २.५८ करोड रहेको खुद नाफा ह्वात्तै बढेर ९ करोड २४ लाख ५६ हजार रुपैयाँ पुग्यो ।। एउटा अनुभवी सिइओले छोटो समयमा कसरी नतिजा बदल्न सक्छ भन्ने उदाहरण त्यहाँ प्रष्ट देखियो।  नाफामा भएको यो झण्डै २५० प्रतिशतको वृद्धि कुनै सामान्य वित्तीय फेरबदल थिएन। यो त आक्रामक ऋण असुली र कुशल ब्याज व्यवस्थापनको प्रतिफल थियो । सोही अवधिमा बैंकको खराब कर्जा १.७४ प्रतिशतबाट घटेर ०.७८ प्रतिशतमा झर्यो। उनले पुसमा ६२ प्रतिशत रहेको सीडी रेसियोलाई बढाएर ८३.३८ प्रतिशत पुर्‍याए, जसको अर्थ बैंकले आफ्नो निक्षेपलाई कर्जामा रूपान्तरण गरी आम्दानीका बाटाहरू खोलेको थियो। प्रतिशेयर आम्दानी पनि ४.२५ बाट बढेर १०.१३ रुपैयाँ पुग्नुले लगानीकर्ताहरूमा बैंकप्रति नयाँ भरोसा जगायो ।

यस पछिको अर्को तीन महिना अर्थात् २०८२ असार मसान्तसम्म आइपुग्दा मितेरी बैंकले आफ्नो इतिहासकै उत्कृष्ट मध्येको एक नतिजा पेश गर्‍यो । आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको खुद नाफा १३ करोड ४ लाख २ हजार रुपैयाँ पुग्यो, जुन चापागाईँ आउनुअघिको तुलनामा पाँच गुणाले बढी थियो। सबैभन्दा उल्लेख्य सफलता भनेको खराब कर्जालाई ०.२३ प्रतिशतको न्यून विन्दुमा झार्नु थियो। समग्र बैंकिङ क्षेत्रमा खराब कर्जा ५ प्रतिशत नाघेर समस्या परिरहेका बेला मितेरीले ०.२३ प्रतिशतको एनपिएल कायम गर्नुले चापागाईँको ‘क्रेडिट क्वालिटी’ प्रतिको संवेदनशीलता र असुली रणनीति कति प्रभावकारी थियो भन्ने देखाउँछ। यस अवधिमा बैंकको कुल सम्पत्ति ८ अर्ब ३१ करोड पुग्यो र वितरणयोग्य नाफा १५ करोड ६१ लाख रुपैयाँ कायम भयो, जसले शेयरधनीलाई आकर्षक लाभांश दिने आधार तयार गर्‍यो।

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज) मा पनि बैंककाे लय बिग्रन पाएन। असोज मसान्तसम्म आइपुग्दा बैंकको कुल सम्पत्ति पहिलोपटक ९ अर्बको सीमा नाघेर ९ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ पुग्यो। यस अवधिमा पनि खराब कर्जालाई ०.२० प्रतिशतमा स्थिर भयाे। यो समय भनेको बैंकले आफ्नो आन्तरिक प्रणालीलाई थप मजबुत बनाउँदै शाखा सञ्जाल र ग्राहक सेवामा नवीनता ल्याउने समय थियो। उनले ठूला बैंकहरूको कार्यशैलीलाई मितेरी जस्तो क्षेत्रीय स्तरको बैंकमा स्थानीयकरण गर्दै कर्मचारीहरूमा नयाँ कार्यसंस्कृति विकास गरे।

चापागाईँले बैंकको कमान सम्हालेको एक वर्ष पूरा हुँदा अर्थात् २०८२ पुस मसान्तको वित्तीय विवरणले मितेरी डेभलपमेन्ट बैंकलाई एउटा नयाँ उचाइमा पुर्‍याएको देखिन्छ। एक वर्षअघि ७ अर्ब ९५ करोडको कुल सम्पत्ति रहेको बैंक अहिले १० अर्ब १५ करोड ९७ लाख रुपैयाँको आकारमा परिणत भएको छ। एक वर्षको छोटो अवधिमा संस्थाको आकारमा करिब २८ प्रतिशतको वृद्धि हुनु कुनै पनि बैंकका लागि चामत्कारिक प्रगति हो। हाल बैंकको खुद नाफा ५ करोड ७० लाख रुपैयाँ (अर्धवार्षिक) रहेको छ भने प्रतिशेयर आम्दानी ९.३७ रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी हो। खराब कर्जालाई ०.४५ प्रतिशतमा नियन्त्रण गर्नुले बैंकको वित्तीय स्वास्थ्य अत्यन्तै सबल रहेको पुष्टि गर्दछ।

चापागाईँले मितेरी बैंकमा आएर गरेको सबैभन्दा ठूलो परिवर्तन भनेको ‘डेड क्यापिटल’ लाई ‘उत्पादनशील क्यापिटल’ मा बदल्नु हो। सुरुवाती दिनमा बैंकसँग निक्षेप त थियो, तर नेतृत्वमा रिस्क लिने क्षमता र बजार चिन्ने भिजनको अभावमा त्यो पैसा राष्ट्र बैंकको खातामा न्यून ब्याजमा थन्किएको थियो। चापागाईँले आफ्नो ३३ वर्षे अनुभव प्रयोग गरेर सुरक्षित क्षेत्रहरूमा कर्जा विस्तार गरे  सँगसँगै पुरानो खराब कर्जा उठाउन कर्मचारीहरूलाई सही दिशाबोध गराए। उनले नबिल र प्राइम जस्ता व्यावसायिक बैंकको स्वाद मितेरीका ग्राहकलाई चखाउन सफल भए,जसका कारण निक्षेप संकलनमा पनि बैंकले ठूलो फड्को मार्यो ।

उनले एक वर्षमा केवल नाफा मात्र बढाएनन्, बैंकको जगलाई पनि उत्तिकै बलियो बनाएका छन्। बैंकको कस्ट अफ फण्ड (निक्षेपको लागत) र ब्याज दरको अन्तर (स्प्रेड रेट) लाई सन्तुलनमा राख्दै बैंकलाई नाफामा गएकाे छ। पुस २०८२ सम्म आइपुग्दा बैंकको निक्षेप ८ अर्ब ३८ करोड पुगेको छ भने कर्जा लगानी ७ अर्ब ११ करोड पुगेको छ। यो वृद्धिले बैंकको बजार हिस्सा मात्र बढाएको छैन, स्थानीय स्तरमा साना तथा मझौला व्यवसायीहरूका लागि मितेरी बैंकलाई पहिलो रोजाइको संस्था बनाएको छ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।