चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २१.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.२१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.२९ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ४३ लाख रूपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६८ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।
१९ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
