गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताइन् । उनले चालु आवमा बीमाका लागि छुट्याइएको रकम गत वर्षको ऋण तिरेर सकिएकाले चालु वर्षलाई बीमाका लागि बजेट नै नभएको बताइन् । उनले बीमाका लागि विनियोजित बजेट भन्दा बढी रकम बीमामा दाबी हुन थालेको बताइन्। असिमित खर्च हुँदै गएकाले बीमाको रिफर्म जरुरी रहेको उल्लेख गरिन् ।
उनले भनिन्, ‘बीमको तत्काल भुक्तानी गराउन मैले बीमामा हालै कार्यकारी पदमा जानुभएका डा. कृष्ण पौडेललाई भनेको छु, मुख्य समस्या बीमामा हो । बीमामा हामीले के गरेछौँ भने जति बजेट विनियोजन गरिएको थियो, त्यो बजेट भन्दा धेरै बढी बीमाको दाबी हुन थाल्यो । यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिर्दैमा ठिक्क भयो । यो वर्षलाई बीमामा बजेट नै छैन । तर खर्च असिमित हुँदै गयो । महिनाको दुई अर्ब खर्च हुने स्थिति आयो । त्यो दिनसक्ने अवस्था छैन । त्यसकारण त्यहाँ कसरी हुन्छ, बीमालाई सुधार गर्नुपर्ने अवस्था छ । त्यो गर्दैछौँ । त्यसमा दुई, तीन वटा नयाँ कुरा राख्न लागेका छौँ । बीमामा एकोहोरो बोझ परेको छ । बीमा कार्यक्रममा संघ र प्रदेश र स्थानीय सरकारको योगदान हुनुपर्छ भनेको छ अहिलेसम्म संघीय सरकारले मात्रै हेरिरहेको अवस्था छ । त्यहाँ समस्या परेको छ । आधारभुत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भनेर संविधानले तोकेको छ, ९८ किसिमको औषधि प्राथमिकता स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुले दिनुपर्छ । त्यसमा पनि कहाँ न कहाँ बीमा लागेको छ । आधारभुत सेवाबाट बीमा दिने होइन । निःशुल्क पाइने उपचारमा बिरामीले पैसा तिर्नुपरेको अवस्था बिरामीको लागि राम्रो होइन, सरकारका लागि पनि राम्रो होइन । स्वास्थ्यकर कोषमा प्राप्त हुने रकम ऐनले नै २५ प्रतिशत स्वास्थ्य करलाई दिने भनेर किटेको छ । सूर्तिजन्य पदार्थमा उठेको रकममध्ये २५ प्रतिशत दिने भनेको छ जुन हामीले पाएका छैनौँ धेरै न्युन मात्रै पाएका छौँ ।’