पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको यो क्षेत्रमा एक त परम्परागत प्रतिस्पर्धीहरु मैदानमा छैनन् । एक दुई जना पुराना बाहेक अधिकांश नयाँ उम्मेदवार छन् भने देशको राजधानी काठमाडाैं महानगर पालिका भित्र पर्ने यहाँबाट चुनाव लड्ने अधिकांश उम्मेदवारको मुख्य चुनावी एजेण्डा सुकम्बासी समस्या समाधान गर्ने भन्ने रहेको छ ।

एमालेको गढ भत्काएर यो क्षेत्रलाई कांग्रेसको गढकोरुपमा रुपान्तरण गर्ने प्रकाशमान सिंहले यसपटक टिकट नै पाएनन् र उनी चुनावी भिडन्तबाट बाहिर छन् । तर, उनीसँग विगतमा दुई पटक पराजित भएका रविन्द्र मिश्र भने तेस्रो पटक चुनावी मैदानमा छन् । त्यस्तै कुनै बेला मिश्रकै पार्टीमा रहेकी र २०७४ को स्थानीय चुनावमा काठमाडाैं महानगर पालिकाको प्रमुखमा उम्मेदवारी दिएर आकर्षक मत ल्याएकी रन्जु न्यौपाने (दर्शना) ले उनलाई चुनौति दिइरहेकी छन् ।
यो क्षेत्रमा अहिले कांग्रेस, एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
२०७९ को चुनावमा मिश्र कांग्रेस नेता सिंहसँग १२५ मतले पराजित भएका थिए । सिंहले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।
२०७४ को आम निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र कांग्रेसका सिंहसँगै ८१८ मतान्तरले पराजित भएका थिए । त्यतिबेला सिंह १० हजार ९३६ ल्याएर निर्वाचित हुँदा मिश्रले १०११८ मत ल्याएका थिए ।
यसपटक नेपाली कांग्रेसले सिंहको टिकट खोसेर प्रवल थापा क्षेत्रीलाई टिकट दिएको छ भने एमालेका मोहनराज रेग्मी, र रास्वपाकी रञ्जु न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी, नेपाल मजदुर किसान पार्टीकी रमिला ज्याख्व (सुवाल), मितेरी पार्टी नेपाल राजकुमार लिम्बु, जनता समाजवादी पार्टी, नेपालका प्रकाश नायजु, प्रगतिशील लोकतान्त्रिक पार्टीका सविन सिग्देल, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ उम्मेदवार छन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) धनराज शाही, उज्यालो नेपाल पार्टी मंगलाल श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालका इन्द्रप्रसाद श्रेष्ठ, नेपाल जनसेवा पार्टी अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टी सुरेन्द्र पाण्डे र जनादेश पार्टी नेपालका कमल सुवेदी पनि चुनावी प्रतिस्पर्धामा छन् ।
काठमाडौं-१ मा १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । कुशल खत्री, संगीत बम, कमल कोइराला, सुरेन्द्रप्रसाद ढकाल, शान्ति श्रेष्ठ, राजु भुजेल, सागर जोशी, असीममान सिंह बस्न्यात, बाबुराम आचार्य, रमेशप्रसाद जोशी, किरण शाह, कुमार शाही, राजकुमार बजगाईं र शम्भु पोखरेल स्वतन्त्र उम्मेदवार रहेका छन् ।
४८ हजार ४८९ मतदाता भएको यो क्षेत्रमा पुरुषको तुलनामा महिला मतदाता धेरै रहेका छन् । यहाँ २५ हजार २५२ महिला मतदाता छन् भने पुरुष मतदाताको सङ्ख्या २३ हजार २३७ मात्रै छ । अर्थात् पुरुषभन्दा २ हजार १५ जना महिला मतदाता धेरै छन् । काठमाडाैका अन्य क्षेत्रको तुलनामा मतदाताको संख्या कम भएकाले सबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने र हारजितको मतान्तर पनि कम हुने स्थानीय मतदाताको अनुमान छ ।
सबै उम्मेदवारको मुख्य एजेण्डा सुकम्वासी समस्या
शहरी भेग भए पनि यो क्षेत्रमा प्रायप् सबै उम्मेदवारको मुख्य एजेण्डा सुकम्बासी समस्या समाधान गर्ने रहेको छ । उक्त क्षेत्रको चार वडामध्ये १०, ११ र ३१ मा सुकुम्वासी समस्या रहेको छ । उक्त वडाहरुमा झन्डै ३ हजार सुकुम्वासी रहेको अनुमान छ । र त्यहींका मतदाता निर्णायक हुने अवस्था छ । त्यहीकारण सिनामंगल क्षेत्रको बागमती किनार हुँदै थापाथलीसम्मका सुकुम्वासीको विषय हरेक निर्वाचनमा उठ्ने गरेको छ ।
तत्कालिन मेयर बालेन साहको निर्देशनमा काठमाडौं महानगरपालिकाले डोजर लगाएर सुकुम्वासी हटाउन खोज्दा केही समय पहिले नगर प्रहरी र सुकुम्वासीबीच झडपसमेत भएको थियो । यस पटक सुकुम्बासी वस्ती र त्यस वरपरका वासिन्दाले सुकम्बासी समस्या समाधानको दीगो र भर पर्दाे समाधानको लागि राजनीतिक पार्टीहरुसँग स्पष्ट कार्यक्रम माग गरिरहेका छन् । त्यहीकारण पनि यस पटक उम्मेदवारहरु सुकम्बासी समस्या समाधानलाई मुख्य एजेण्डा बनाएका हुन् । त्यसवाहेक ढल निकास, सडक व्यवस्थापन, आवास क्षेत्रको व्यवस्थापन तथा नदी नियन्त्रण, शान्ति सुरक्षा र वातावरण प्रदूषण यहाँको थप एजेण्डा हो । होस्टल तथा कोठामा बस्ने कलेज विद्यार्थीहरुको ठूलो संख्यामा बस्ने भएकाले निकै भिडभाड हुने गरेको छ । तर खुलास्थानको अभाव छ भने साँघुरो सडकका कारण बस्तीमा एम्बुलेन्स र दमकल आउजाउ गर्नसमेत कठिन हुने गरेको भन्दै स्थानीय मतदाताले ती समस्या समाधानका लागि उम्मेदवारहरुको स्पष्ट कार्य योजना माग गरेका छन् ।
सबै उम्मेदवारहरु आफूले जिते सबै समस्या हल गर्ने दावी गरिरहेका छन् । तर, वास्तविकरुपमा समस्या समाधान हुने गरि भरपर्दाेरुपमा कुनै उम्मेदवारले पनि मतदातालाई सन्तुष्ट हुने गरि स्पष्ट खाका प्रस्तुत गर्न नसकेको स्थानीय वासिन्दा बताउँछन् ।
थापाथली, बबरमहल, नयाँ वानेश्वर क्षेत्र समेटिएको यो क्षेत्रमा अधिकांश उम्मेदवारहरू आफूले जित्ने दाबी गर्नु स्वभाविक हो। तर, परिणाम के हुन्छ ? त्यो भने फागुन २१ पछि थाहा हुनेछ ।