डेपुटी गभर्नर बन्नको लागि उनीहरुलाई गभर्नरदेखि अर्थमन्त्री, प्रधानमन्त्रीदेखि सत्तारुढ राजनीतिक पार्टीका नेताहरुको आर्शिवाद पाउन दौडादौड गरिरहेका हुन्थे ।

तर, अहिले परिस्थिति फरक छ । बहालवाला डेपुटी गभर्नरद्धय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल सकिने दिनगन्ती शुरु हुँदासमेत दावेदारहरुबीच मौन जस्तै छन् । उनीहरु मात्र होइन, गभर्नर डा. विश्व पौडेल पनि रनभुल्लमा देखिएको र उनी पनि ‘पर्ख र हेरको अवस्थामा रहेको’ उनी निकट व्यक्तिहरु बताउँछन् ।
डेपुटी गभर्नरद्धय तिम्सिना र मिश्रको पाँच वर्षे कार्यकाल फागुन २४ गते सकिँदैछ । सामान्यतया वहालवाला डेपुटी गभर्नरको कार्यकाल सकिनु १ महिना अगाडि नै नयाँ नियुक्तिको लागि प्रकृया शुरु गर्ने चलनछ । तर, अहिले भने डेपुटी गभर्नरको कार्यकाल सकिनु ३ दिन अगाडि प्रतिनिधि सभाको निर्वाचन हुन लागेको र त्यो अगाडि निर्वाचन आचारसंहिताको कारण पनि नयाँ नियुक्ति हुन असम्भव देखिएको छ । त्यसमाथि निर्वाचन सम्पन्न भएर परिणाम आउँदा र नयाँ सरकार गठन गर्दा अरु कैयौं दिन लाग्न सक्छ ।
नयाँ सरकार गठन भएर डेपुटी गभर्नरको नियुक्ति प्रकृया शुरु हुँदा अरु कैंयौं दिन लाग्न सक्छ । त्यसको अर्थ नयाँ सरकार गठन प्रकृया फटाफट भएको अवस्थामा पनि अर्काे एक महिना लाग्न सक्ने देखिन्छ । नयाँ सरकारमा प्रधानमन्त्री र अर्थमन्त्री को बन्छ र उनीहरुको रोजाईमा को पर्ने हुन् ? कसैले अनुमान समेत गर्न सक्ने अवस्था छैन । त्यसैले पनि राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्तिको प्रकृया अन्योलमा परेको छ । ‘पार्टीका नेताहरुलाई गुहारौं, चुनाव पछि के हुन्छ भन्ने छ, नगुहारौं, फ्याट्टै चुनावपछि पार्टीकै नेताहरु मन्त्री प्रधानमन्त्री भएर उनीहरुले अर्कैलाई काखी च्याप्ने हुन कि भन्ने डर’ एक जना दावेदार कार्यकारी निर्देशकले मेरो लगानीसँग भने । उनकाअनुसार अहिले डेपुटी गभर्नरको नियुक्तिको लागि भित्रभित्रै गभर्नरलाई रिझाउने दाउपेच त चलिरहेको छ, तर कसरी चलिरहेको छ त्यो कसैले भन्न सक्ने अवस्था छैन ।