सञ्चालक समितिले दिएकाे विश्वास पूरा गर्न सानिमा बैंकका सिइओ पवनकुमार आचार्यले कस्ताे लिँदैछन् 'टार्गेट'?

Feb 13, 2026 02:45 PM merolagani



सुवास निरौला

सानिमा बैंक लिमिटेडको गत कात्तिक २४ गते बसेको सञ्चालक समिति बैठकले पवन कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गर्ने महत्त्वपूर्ण निर्णय गर्‍यो। 

करिब दुई दशकभन्दा बढी समयदेखि सानिमा बैंककै जग निर्माणमा अहोरात्र खटिएका आचार्यलाई नेतृत्व सुम्पिनु सञ्चालक समितिको एउटा रणनीतिक कदम थियो। माघ १२ गते औपचारिक रूपमा पदभार ग्रहण गरेका आचार्यको यो नियुक्तिले बैंकभित्र र बाहिर एउटा सकारात्मक ऊर्जा सञ्चार गरेको छ। किनकि उनले यो जिम्मेवारी कुनै बाह्य हस्तक्षेप वा संयोगले होइन, बरु आफ्नो दशकौँ लामो निष्ठा र कार्यक्षमताका आधारमा प्राप्त गरेका हुन्।

 

उनी केवल एक बैंकर मात्र होइनन्, बरु प्राविधिक र व्यवस्थापकीय दुवै पाटोमा पोख्त एक बहु आयामिक व्यक्ति हुन्। भारतको जयपुरस्थित प्रतिष्ठित एमएनआइटीबाट इन्जिनियरिङमा स्नातक र संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि हासिल गरेका आचार्यको शैक्षिक पृष्ठभूमि नै निकै मजबुत छ। बैंकिङ करियर सुरु गर्नुअघि उनले चार वर्षभन्दा बढी समय इन्जिनियरका रूपमा व्यावसायिक अनुभव बटुलेका थिए। जसले उनलाई परियोजनाहरूको जटिलता र प्राविधिक पक्ष बुझ्न विशेष क्षमता प्रदान गर्‍यो। सानिमा बैंकमा बिताएको २१ वर्षको लामो सेवा कालमा उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा उनको दक्खल बैंकिङ क्षेत्रमा उदाहरणीय मानिन्छ। यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा सेवा प्रदान गर्नुले उनको बौद्धिक क्षमता र ज्ञान बाँड्ने नेतृत्वदायी शैलीलाई झल्काउँछ। सानिमा बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहँदा उनले बैंकका रणनीतिक योजनाहरूमा पुर्‍याएको योगदान नै आज उनलाई सिइओको कुर्सीमा पुर्‍याउने मुख्य कडी बनेको छ।

आचार्यले सानिमा बैंकको बागडोर यस्तो समयमा सम्हालेका छन्। जब बैंकको दोस्रो त्रैमासिक (पुस मसान्त २०८२) को वित्तीय विवरणले एउटा सुदृढ तर सतर्क रहनुपर्ने चित्र प्रस्तुत गरेको छ। उनले नेतृत्व लिनुअघिको यो वित्तीय विवरणले सानिमा बैंकलाई नेपालको बैंकिङ उद्योगमा एउटा 'स्थिर र भरपर्दो' संस्थाका रूपमा उभ्याएको छ। पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड २३ लाख ११ हजार रुपैयाँ थियो। नाफामा देखिएको यो करिब १६.६ प्रतिशतको वृद्धिले आचार्यका लागि एउटा बलियो व्यावसायिक धरातल तयार गरिदिएको छ। बैंकको कुल सम्पत्ति २७० अर्ब रुपैयाँभन्दा माथि पुग्नु र प्रतिशेयर आम्दानी (ईपीएस) वार्षिक २०.५४ रुपैयाँ कायम हुनुले बैंकले आफ्नो पूँजीको सही परिचालन गरिरहेको देखाउँछ। १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा सञ्चित रहनु आचार्यका लागि अर्को ठुलो शक्ति हो। जसले शेयरधनीहरूलाई लाभांशको सुनिश्चितता प्रदान गर्दछ।

वित्तीय विवरणको गहिराइमा पुगेर बैंकका सबल र दुर्बल पक्षहरू केलाउँदा सानिमा बैंकको सबैभन्दा ठुलो सबल पक्ष यसको 'न्यून लागतको निक्षेप' र 'आधार दर' (बेस रेट) देखिएको छ। बैंकको निक्षेपको लागत ४.४० प्रतिशत र आधार दर ६.७९ प्रतिशत छ। जुन उद्योगको औसतभन्दा निकै प्रतिस्पर्धी हो। यसले गर्दा सानिमाले ग्राहकहरूलाई सस्तो ब्याजदरमा कर्जा दिन सक्ने क्षमता राख्दछ। जुन आचार्यको आगामी व्यावसायिक विस्तारका लागि एउटा अचुक हतियार बन्न सक्छ। बैंकको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७९.४२ प्रतिशत छ। जसको अर्थ बैंकसँग अझै पनि लगानी गर्ने पर्याप्त तरलता र क्षमता छ। २२ अर्ब रुपैयाँभन्दा बढीको नगद मौज्दातले बैंकको वित्तीय स्वास्थ्य निकै मजबुत रहेको सङ्केत गर्छ। 

यति हुँदाहुँदै पनि, केही सूचकहरूले चुनौतीको सङ्केत पनि गरेका छन्। बैंकको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको १.३१ प्रतिशतबाट बढेर १.३३ प्रतिशत पुगेको छ। यद्यपि यो वृद्धि झिनो देखिए पनि देशको विद्यमान आर्थिक मन्दीका बिच कर्जाको गुणस्तर कायम राख्नु आचार्यका लागि एउटा मुख्य परीक्षा हुनेछ। त्यस्तै, सञ्चालन खर्चमा भएको वृद्धि र ब्याजदरको उतारचढावले नेट इन्ट्रेस्ट मार्जिनमा पार्न सक्ने दबाबलाई पनि नजरअन्दाज गर्न मिल्दैन।

अबको यात्रामा आचार्यले केही विशिष्ट क्षेत्रमा थप सुधार र नवीनता ल्याउनु पर्ने देखिन्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण विषय भनेको 'डिजिटलाइजेसन' नै हो। आचार्य आफैँ यस क्षेत्रका विज्ञ भएकाले सानिमा बैंकलाई 'डिजिटल फस्ट' बैंकका रूपमा रूपान्तरण गर्नु उनको पहिलो प्राथमिकता हुनुपर्छ। बैंकको पहुँचलाई आधुनिक प्रविधिमार्फत दूर दराजसम्म पुर्‍याउन र ग्राहक सेवालाई थप सहज बनाउन उनले विशेष रणनीति बनाउनु पर्नेछ। दोस्रो, खराब कर्जाको व्यवस्थापनमा उनले आफ्नो 'क्रेडिट इभ्यालुएसन' को लामो अनुभवलाई प्रयोग गर्दै असुली प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्ने देखिन्छ। बजारमा तरलता सहज भए पनि कर्जाको माग कम भएको अवस्थामा, नयाँ र सुरक्षित परियोजनाहरू पहिचान गरी प्रोजेक्ट फाइनान्स मार्फत बैंकको लगानी विस्तार गर्नु गर्नुपर्ने देखिन्छ। यसका साथै, सानिमा बैंकको 'मर्यादित र अनुशासित' ब्रान्ड छविलाई कायम राख्दै कर्मचारीहरूको मनोबल उच्च राख्ने र उनीहरूलाई बदलिँदो बैंकिङ परिवेश अनुसार तालिम र प्रविधिमा अभ्यस्त बनाउने काममा पनि उनले ध्यान दिनु पर्ने देखिन्छ।

निष्कर्षमा, पवन कुमार आचार्यसँग संस्थाको विगतको अनुभव, वर्तमानको चुनौती बुझ्ने क्षमता र भविष्यको स्पष्ट मार्गचित्र छ। सानिमा बैंकको दोस्रो त्रैमासिक रिपोर्टले देखाएको सुदृढ अवस्थालाई अझै उचाइमा पुर्‍याउने जिम्मा अब उनको काँधमा छ। उनले  यो बलियो जगमाथि प्रविधि र दक्षताको थप इँटा थपेर सानिमालाई केवल नाफामूलक संस्था मात्र होइन, बरु नेपालको बैंकिङ क्षेत्रकै एउटा रोल–मोडल बनाउन सक्ने पूर्ण सामर्थ्य आचार्यले देखाउनु पर्ने छ। सञ्चालक समितिले उनीमाथि गरेको भरोसा र पुस मसान्तको रिपोर्टले दिएको उत्साहजनक नतिजाले आचार्यको कार्यकाल सफलताको दिशामा अगाडि बढ्ने बलियो आधार तय गरेको छ। सानिमा बैंकका लाखौँ निक्षेपकर्ता र हजारौँ शेयरधनीहरूका लागि आचार्यको यो नेतृत्व एउटा भरपर्दो आर्थिक भविष्यको ग्यारेन्टी बन्ने अपेक्षा गर्न सकिन्छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।