पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Feb 24, 2026 10:12 AM Merolagani



पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते), मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ८१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा र २ लाख ८९ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन २६ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नबिल स्टक डिलर लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४ लाख ५० हजार जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले कम्पनीलाई २०८२ जेठ २ का दिन क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ बैशाख २९ गतेसम्म रहने छ।

कस्तो कम्पनी हो?

श्री पाल्पा सिमेन्ट इण्डष्ट्रीज प्राईभेट लिमिटेड नामबाट २०६६ कात्तिक ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा विधिवत दर्ता भई २०७८ असार २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा. लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा कम्पनीमा परिणत भएको हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा. नं. ११, सेन्ट्रल बिजनेस पार्क, थापाथली, काठमाडौँमा रहेको छ। त्यस्तै, कम्पनीको उद्योग स्थल सुनुवल, आदर्स ७, नवलपरासीमा रहेको छ र चुनढुङ्गा खानी लुम्बिनी प्रदेश पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं. ७ रहबासमा रहेको छ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको लुम्बिनी प्रदेश पाल्पा जिल्ला माथागढी गाउँपालिका वडा नं.७ रहबासमा रहेको ५.८५ वर्ग किलोमिटरमा फैलिएको चुनढुंगा खानीबाट उद्योगलाई आवश्यक पर्ने चुनढुंगा आपुर्ति गर्दै आईरहेको छ। कम्पनीले सो चुनढुंगा खानीबाट चुनढुंगा उत्खनन् कार्य गर्नको लागि नेपाल सरकार खानी तथा भु–गर्भ विभागबाट २०७३ फागुन ४ गते अनुमति प्राप्त गरेको थियो र सो अनुमति मिति २१०३ फागुन ३ गतेसम्म बाहल रहनेछ। साथै, पाल्पा सिमेन्ट इन्डष्ट्रिजको चुनढुङ्गा खनिज उत्खननको लागि जमिन वन क्षेत्रमा पर्ने भएकोले सो क्षेत्र उपलब्ध गराउने र सीमा क्षेत्रमा रहेका रुख बिरुवाहरु हटाउने सम्बन्धमा वन विभाग र पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका बीच २०७४ मंसिर ११ गते सम्झौता समेत भइसकेको छ। कम्पनीले युरोपियन प्रविधिकबाट निर्मित उच्च स्तरीय भर्टिकल रोलर मिल ग्रान्डिङ्ग र रोटरि किल्न प्रयोग गरेर सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ।

कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँरहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष रहेको छ। कम्पनीको उद्योगको कुल क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर र खानीको कुल क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। कम्पनीले २०७६ बैशाखदेखि क्लिंकर र २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन गरिरहको छ। कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता १ हजार २०० मेट्रिक टन रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि भारतमा सिमेन्ट निर्यात गर्ने कार्य सुरु गरेको तथा आजको मितिमा सिमेन्ट तथा क्लिंकर दुबै उत्पादित वस्तु निर्यात गर्ने कार्य गर्दै आइरहेको छ। कम्पनीले भारतमा उपभोग हुने सिमेन्ट निर्यात गर्ने प्रायोजनका लागि भारतको उच्चतम गुणस्तर मापक संस्था ब्यूरो अफ इण्डियन स्ट्याण्डर्डबाट इस्वि संवत् २०२२ जुन १६ मा बिआईएस प्रमाणपत्र प्राप्त गरेको थियो। कम्पनीले शतप्रतिशत लगानी गरेर जम्मा १२ वटा सहायक कम्पनीहरु स्थापना गरेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागिएको हो। निष्काशनबाट प्राप्त रकम कम्पनीले 󠄧आफ्नो 󠄧स्थायी चालु कर्जा भुक्तानीका लागि प्रयोग गर्ने मुख्य उद्देश्य रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले आईपीओ निष्काशनबाट संकलन गरेको रकममध्ये २४ करोड ३० लाख ३३ हजार ५३ रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ भने १३ करोड ३६ लाख ६८ हजार १७८ रुपैयाँ सानिमा बैंकको कर्जा भुक्तानी गर्न र १२ करोड १५ लाख १६ हजार ५२६ रुपयाँ हिमालयन बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ। त्यस्तै, कम्पनीले ८ करोड १६ लाख ५९ हजार १०६ रुपैयाँ नबिल बैंकका कर्जा तिर्न र १७ करोड १ लाख २३ हजार १३७ रुपैयाँ ग्लोबल आइएमई बैंकबाट लिएको ऋण तिर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक जगेडा कोष १ अर्ब ७ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७द्ध पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ २५ पैसा रहेको छ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी जगेडा कोषमा १ अर्ब ३४ करोड ८५ लाख ३३ हजार रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालकहरु रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक १ जना रहनेछन्।

हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा राजेश कुमार अग्रवाल रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा विष्णु कुमार अग्रवार, स्वीटी कुमारी अग्रवाल, यश अग्रवाल र प्रियान्सी अग्रवाल रहेका छन्। प्रियान्सी अग्रवाल आरएमसी कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट प्रालिका प्रतिनिधि हुन्।

भावी योजना तथा रणनीति

उद्योगको क्षमता विस्तार गर्ने तथा अन्य स्थानमा शाखा उद्योग÷कार्यालयहरु खोल्ने तथा अधिग्रहण गरी सञ्चालन गर्ने र समयानुकुल प्रविधिको गुणस्तरलाई प्राथमिकतामा राखी आफ्नो उत्पादन लागत कटौती गर्ने कम्पनीको योजना रहेको छ। त्यस्तै, सिमेन्टसँग सम्बन्धित खनिज पदार्थहरुको अन्वेषण तथा विकास र उत्खनन् कार्य गर्ने र कम्पनीलाई नेपालको सिमेन्ट उत्पादकहरु मध्ये अग्रणी उत्पादकको रुपमा स्थापित गर्ने कम्पनीको योजना छ।

यो योजना प्राप्त गर्न कम्पनीले बजारलाई विश्लेषण गरेर आउने ५ वर्ष भित्र उद्योगको क्षमता विस्तार गर्ने तथा अन्य स्थानमा शाखा उद्योग/कार्यालयहरु खोल्ने तथा अधिग्रहण गरी सञ्चालन गर्ने, समयानुकुल प्रविधिको गुणस्तरलाई प्राथमिकतामा राखी आफ्नो उत्पादन लागत कटौती गर्ने प्रक्रिया निरन्तर रुपमा जारी राख्ने, कम्पनीले विभिन्न खानी क्षेत्रहरुमा अनुसन्धान गरी रहेको छ। कम्पनीले हाल खोज तलास कार्यमा संलग्न रहेको खानीबाट प्रति दिन ३ हजार टन उत्पादन क्षमताको लागि वातावरण प्रभाव मुल्यांकन प्रक्रिया अगाडि बढाईसकेको र भविष्यमा छिट्टै नै सो खानी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।