कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ४ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ३३ करोड २० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले माघ २२ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २ कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ३ लाख ३२ हजार जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इन्फोमेरिक्सले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
इन्फोमेरिक्सले कम्पनीलाई २०८२ साउन १४ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ साउन १३ गतेसम्म रहने छ।
कस्तो कम्पनी हो?
होटल फरेष्ट इन लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल मंसिर ६ गते होटल फोरेष्ट रिर्सोट प्रा.लि.को नामबाट दर्ता भएकोमा २०८० साल भदौ १२ गतेदेखि पब्लिक कम्पनीको रुपमा परिणत भई होटल फरेष्ट इन लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ। कम्पनी मार्फत होटल तथा रेष्टुराँ सञ्चालन गर्ने गरी २०७३ कात्तिक २५ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो। साथै कम्पनी रजिष्ट्रार कार्यालयबाट २०८० कात्तिक २ गते कारोबार स्वीकृति प्राप्त गरेको थियो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला बूढानिलकण्ठ नगरपालिका वडा नं. १, काठमाडौँमा रहेको छ। कम्पनीको कारोबार गर्ने मुख्य स्थानमा सोही रहेको छ।

कम्पनीले नेपाल सरकार, पर्यटन विभागबाट पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ तथा रिर्सोट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भए अनुसारको प्रावधान पूरा गरी सम्पूर्ण संरचना निर्माण तथा आवश्यक योग्यता हासिल गरी २०८१ असोज २३ गते पाँच तारे होटलको वर्गीकरणसहित होटल सञ्चालनको इजाजतपत्र प्राप्त गरेको थियो।
यस कम्पनी आंशिक रुपमा २०८१ साल साउन १ गतेदेखि ३९ ओटा कोठा, २०८१ साल पुस २५ गतेदेखि २७ ओटा कोठा र २०८१ साल चैत २५ गते देखि ३८ ओटा कोठा गरि हाल जम्मा १०४ ओटा कोठा सञ्चालनमा ल्याएको छ।
कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आफ्नो जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको साधारण शेयर जारी गरेको हो। सर्वसाधारण समूहमा छुट्टाइएको शेयरबाट प्राप्त रकम परियोजना निर्माण गर्न प्रयोग गरिएको ऋण भुक्तानी गर्न तथा व्यवसायको निरन्तरताका लागि उपयोग गर्ने आईपीओ निष्काशनको मुख्य उद्देश्य रहेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
साधारण शेयर निष्काशन गरि प्राप्त हुने ४० करोड रुपैयाँ कम्पनीले बैंकको ऋण भुक्तानी गर्न उपयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नोक्सानी २३ करोड ९४ लाख ३४ हजार रुपैयाँ रहेको छ भने कम्पनीको खुद नोक्सानी १७ करोड १९ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८६ पैसा ऋणात्मक रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चित नोक्सानी २० करोड ३४ लाख रुपैयाँमा झर्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीले ११ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीले प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ८० पैसा पुग्ने प्रक्षेपण गरेको छ।
त्यस्तै, आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८३/८४ मा कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। यद्यपि, कम्पनीको सञ्चित नोक्सानी १२ करोड १६ लाख रुपैयाँमा रहने प्रक्षेपण गरिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ १० पैसा र प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालकहरु रहेको सञ्चालक समिति गठन हुनेछ। जसमा संस्थापक शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।
हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व छैन।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा बिनिता थापा रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा रिङ्कु निरौला, चन्द्र सीहं साउद र अमर थापा रहेका छन् भने स्वतन्त्र सञ्चालकमा प्रल्हाद राज कुँवर रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको हाल जम्मा १०४ ओटा कोठा सहित रेष्टुराँ, सेमिनार हल, ब्याङ्क्वेट हल सञ्चालनमा रहेको छ। होटलको व्यवसाय विस्तार तथा ब्रान्डिङ्गको लागि स्वदेश तथा विदेशमा प्रचार प्रसार गरी आक्रमक रुपमा होटलको व्यवसाय विस्तार गर्ने कम्पनीको रणनीति रहेको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २६ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२५ रुपैयाँ २६ पैसादेखि ३७५ रुपैयाँ ७८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।