निर्वाचन सुरक्षाका लागि काठमाडौँमा रात्रिकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न निर्देशन

Feb 27, 2026 04:17 PM merolagani



जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै जिल्लाभर सञ्चालन हुने रात्रिकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ। प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राती ९ बजेपछि व्यवसाय सञ्चालनमा रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू आगामी फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राती ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ।

प्रशासनले तोकिएको समय (राती ९:०० बजे) पश्चात् सम्पूर्ण व्यवसायहरू अनिवार्य रूपमा बन्द गर्न र गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ। आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको र सोही अन्तर्गत यो कदम चालिएको सूचनामा उल्लेख छ।

यो नियम पालना नगर्ने व्यवसायीहरूलाई कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ।