निर्वाचनपछि उत्साहित शेयर लगानीकर्ता, नेप्सेमा तीन सर्किट

Mar 09, 2026 12:41 PM Merolagani



प्रतिनिधिसभा निर्वाचनपछि नेपाली धितोपत्र बजारका लगानीकर्ताहरु उत्साहित भएका छन्। निर्वाचनको मतगणना परिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ। सोही आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षामा आज लगानीकर्ताहरु उत्साहित भएका हुन्।

सोमबार नेप्सेमा तीन सर्किट ब्रेक लागेर कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ। प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढी बढेको नेप्से, नियमित बजार खुल्ने वित्तीकै तिव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। सोपश्चात खुलेको बजारमा नेप्से पुनः बढ्ने क्रमलाई निरन्तरता दिँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुन पुग्यो। दोस्रो सर्किटपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्सेले पुनः तिव्रं गतिमा बढ्ने क्रमलाई निरन्तरता दिएपछि १२ बजेर १ मिनेट ३७ सेकेन्डमा तेस्रो सर्किट लागेर यस दिनका लागि शेयर कारोबार बन्द भएको छ।

यस दिन नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २८.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ११.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९६ अंक बढेको छ।

यस दिन २६१ स्टकको ४ हजार ५१ पटकको कारोबारमा ५५ करोड ५९ लाख ६३ हजार ८९४ रुपैयाँ ६६ पैसाबराबरको ११ करोड ४३ लाख ७६७ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन ८ स्टकको मूल्य करिब १० प्रतिशत बढेको छ भने १२ स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एक मात्र स्टकहरुको शेयरमूल्य घटेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य १.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नारायणी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोड १३ लाख ६७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको २ करोड ८६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.७३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र जलविद्युत उपसमूहको परिसूचक करिब ७ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।