राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि कसरी अगाडि बढ्छ पर्यटन क्षेत्र ?

Mar 11, 2026 01:59 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीले हालै सार्वजनिक गरेको ‘वाचा पत्र २०८२’ मार्फत देशको आर्थिक रूपान्तरणका लागि अघि सारेको नीतिगत खाकाभित्र पर्यटन क्षेत्रलाई अत्यन्त महत्वका साथ स्थान दिएको छ। पार्टीले आफ्नो राजनीतिक दस्तावेजमा पर्यटनलाई परम्परागत मनोरञ्जन वा भ्रमणको साधनको रूपमा मात्र नहेरी यसलाई मुलुकको आर्थिक समृद्धिको एउटा प्रमुख आधारस्तम्भको रूपमा व्याख्या गरेको छ।

वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि गरेर ५ देखि ७ वर्ष भित्रमा ३ हजार प्रति व्यक्ति आयसहित १ सय खर्ब डलरको अर्थतन्त्र बनाउने बाचा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ । विशेषगरी आगामी पाँच वर्षभित्र नेपालको भौतिक पूर्वाधार र डिजिटल अर्थतन्त्रसँग पर्यटनलाई एकीकृत गर्दै यसलाई ’राष्ट्रिय गौरव’को आयोजनाको तहमा लैजाने रास्वपाको स्पष्ट नीति रहेको छ । पार्टीले अघि सारेका यी नीतिहरूले नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि देखिएका संरचनागत अवरोधहरूलाई चिर्दै नयाँ ‘थिति’ बसाल्ने प्रयास गरेको छ ।

नेपाल भित्रिने पर्यटकको संख्या र उनीहरुको प्रति व्यक्ति खर्चलाई पाँच वर्ष भित्रि दोब्बर पार्दै औसत बसाई लम्ब्याउने आवश्यक नीति कार्यान्वयन गर्ने रास्वपाले बताएको छ । ट्रेकिङ केन्द्रित पर्यटनलाई विविधिकरण गर्न प्रकृति, संस्कृति र समुदायसँगै जोड्दै नयाँ इकोसिस्टम स्थापनामा ध्यान दिने पार्टीको लक्ष्य छ । कर्णाली र सुदुरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्यहरु स्थापित गर्ने तथा सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट तर्जुमा गर्ने बताएको छ । अहिले घोडेपानी घान्द्रुक ट्रेक दुई दिनमा पुरा गर्न सकिन्छ जबकि विगतमा यो ट्रेक गर्न ३ रात ४ दिन लाग्थ्यो ।

एकद्वार डिजिटल पर्यटन प्रणालीमार्फत अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, सम्पदास्थलका फरक फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटर्फममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउने रास्वपाको वाचा पत्रमा उल्लेख छ जसले ट्राभल एजेन्ट, टुर गाइडले अनावश्यक झन्झट भोग्नुपर्ने अवस्थाको अन्त्य गर्ने रास्वपाको ठहर छ ।

पर्वतीय पर्यटनमा सुरक्षाको सुनिश्चिता गर्दै नेपाललाई विश्वकै प्रमुख पर्वतारणेण प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न ‘माउन्टेन स्कुल’को नीतिगत ढाँचा तयार गरी उच्च हिमाली उद्धार र चिकित्सासम्बन्धी अन्तराष्ट्रिय एकेडेमी सञ्चालन गर्ने वाचा रास्वपाले गरेको छ । त्यस्तै ६ हजारदेखि ८ हजारमिटरको हिमाललाई ३ श्रेणीमा विभाजन गरी ८ हजार माथिको आरोही बन्न तलको अनुभव लिएको हुनुपर्ने नीति लिइने वाचापत्रमा उल्लेख छ ।

पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु र बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक सांस्कृतिक पर्यटन केन्द्रको रुपमा प्रबर्द्धन गरी विशेष पूर्वाधार निर्माण गर्ने पार्टीको योजना रहेको छ । अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका सुदुरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरुको प्रबर्द्धन गर्ने वाचा पत्रमा उल्लेख छ ।

रास्वपाले सांस्कृतिक पर्यटनलाई एक विशिष्ट र विविधीकृत क्षेत्रका रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ, जसलाई केवल सरकारी संयन्त्रले मात्र नभई निजी क्षेत्रको सक्रिय सहभागितामा अगाडि बढाउने योजना छ। पार्टीको वाचा पत्रअनुसार, पर्यटनसँग सम्बन्धित आयोजनाहरू अब सरकारी फाइलको चाङमा थन्किने छैनन्। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत सुनिश्चितता पछि, यस्ता आयोजनाहरूलाई ‘फास्ट ट्रयाक’ मोडेलमा कार्यान्वयन गरिनेछ। यसले नेपालको पर्यटन पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र नीतिगत अनिर्णयको बन्दीलाई अन्त्य गर्नेछ ।

रास्वपाको यो आर्थिक दस्तावेजमा पर्यटनलाई समग्र आर्थिक मोडेलसँग जोडिएको छ। पार्टीको मान्यता अनुसार नेपालको विकासको मापन केवल कुल गार्हस्थ्य उत्पादन वा आय वृद्धिबाट मात्र गरिनु हुँदैन। बरु, रोजगारीको व्यापक विस्तार, सामाजिक सामञ्जस्य, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा देखिने गुणात्मक सुधार नै वास्तविक विकासको मानक हुनुपर्ने पार्टीले वाचापत्रमा उल्लेख गरेकाे छ।

नेपाल पर्यटन बोर्डलाई पुनर्गठन गरेर नयाँ र सिर्जनात्मक मार्केटिङ, अनुभव संकलन र प्रशारण, स्थानीय समुदायका आफ्ना पर्यटकीय उत्पादनहरुलाई ‘कथा’ मार्फत बजारीकरण गर्ने नयाँ नीति राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ । कनेक्टिभिटीलाई विशेष जोड दिँदै नेपाल वायुसेवा निगमलाई खुला प्रतिस्पर्धाबाट छानिएको व्यवसायिक टोलीलाई सुम्पिने, वित्तीय अवस्था सुधार्न ५१ प्रतिशत सरकारी स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्र्याउने र त्यसलाई धितोपत्र बोर्डमा सूचीकृत गराउने नीति ल्याएको छ ।

रास्वपाले सरकारको भूमिकालाई फेर्न खोजेको छ। पार्टीको नीतिअनुसार सरकार अब आफैं व्यवसाय गर्ने निकाय नभएर, केवल नियामक र सहजीकरणकर्ता मात्र हुनुपर्छ। यसैले पर्यटन क्षेत्रमा निजी क्षेत्रले नै अग्रसरता लिनुपर्ने र सरकारले केवल लगानीमैत्री वातावरण र नीतिगत स्थायित्व दिनुपर्ने रास्वपाको धारणा छ । यसरी निजी क्षेत्रले रोजगारी सिर्जना गर्ने, वस्तु तथा सेवाको आपूर्ति व्यवस्था मिलाउने र राजस्वमा योगदान पुर्याउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नेछन्।

पर्यटन नीतिको अर्को महत्वपूर्ण पक्ष यसको सूचना प्रविधि (आईटी) सँगको अन्तरसम्बन्ध हो। रास्वपाले नेपाललाई ‘डिजिटल–फस्ट’ राष्ट्रका रूपमा चिनाउने लक्ष्य राखेको छ र यसले पर्यटनलाई पनि प्रत्यक्ष फाइदा पुग्नेछ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने र १० वर्षमा यसको निर्यात क्षमता ३० अर्ब डलर पुर्याउने रास्वपाको महत्वकांक्षी योजना छ। सातै प्रदेशमा निर्माण गरिने अत्याधुनिक ’डिजिटल पार्क’ले पर्यटनका लागि आवश्यक पर्ने डिजिटल इकोसिस्टमलाई पनि थप बलियो बनाउनेछ।

विशेषगरी विदेशी कम्पनीसँग आबद्ध भई नेपालमै बसेर काम गर्ने ’डिजिटल नोम्याड’हरूलाई आकर्षित गर्ने नीतिले पर्यटन क्षेत्रमा नयाँ प्रकारका आगन्तुकहरू भित्रिनेछ । यसले नेपालको पर्यटनलाई केही सिमित सिजन वा क्षेत्रमा मात्र नभई वर्षभरि नै चलायमान बनाउन मद्दत पुर्याउनेछ।

प्रशासनिक सुशासनको प्रश्नमा पनि रास्वपाको वाचा पत्रले पर्यटन व्यवसायीहरूका लागि राहतको सन्देश बोकेको छ। अहिले पर्यटन वा व्यावसायिक क्षेत्रमा सरकारी सेवा लिन कार्यालय–कार्यालय धाउनुपर्ने वा कर्मचारीको निर्णयको मुख ताक्नुपर्ने बाध्यता छ। रास्वपाले यसलाई पूर्णतः अनलाइनमा आधारित बनाउने घोषणा गरेको छ। सार्वजनिक सेवाहरू अब लाइनमा होइन, अनलाइनबाटै उपलब्ध हुनेछन्। साथै सरकारी कागजातहरूमा डिजिटल हस्ताक्षरलाई अनिवार्य गरिने र निर्णय प्रक्रियामा हुने ढिलाइलाई अन्त्य गर्न निश्चित समयसीमाभित्र काम नभए फाइल स्वतः स्वीकृत मानिने प्रणाली लागु गरिनेछ। यस्तो नीतिले पर्यटन क्षेत्रमा गरिने लगानी र सेवा विस्तारमा रहेको प्रशासनिक झन्झटलाई धेरै हदसम्म कम गर्नेछ।

नेपालले युवा–केन्द्रित जनसांख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्न सकेन भने आगामी १०–१५ वर्षभित्र देश ‘न्यून आय जाल’ मा फस्न सक्ने चेतावनी पनि पार्टीले दिएको छ। तसर्थ, पर्यटनलाई मात्र नभई कृषि, सूचना प्रविधि र अन्य सेवा क्षेत्रलाई पनि आधुनिक युग सुहाउँदो बनाउन रास्वपाले जोड दिएको छ। यी क्षेत्रहरूको एकीकृत विकासले मात्र युवाहरूलाई स्वदेशमै रोक्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने आधार तयार पार्छ। पार्टीको ‘थिति बसाल्ने सङ्कल्प’ अन्तर्गत अबको पर्यटन नीतिले प्रकृति, संस्कृति, आधुनिक प्रविधि र सुशासनको सुन्दर मिश्रण खोजेको छ।

रास्वपाको वाचा पत्रले पर्यटनका माध्यमबाट देशको मुहार फेर्ने एउटा प्रस्ट कार्यदिशा र सपना आम नागरिकसामु राखेको छ। सत्ताको जिम्मेवारीमा रहेका बेला यी वाचाहरू कति गम्भीरताका साथ र कति द्रुत गतिमा कार्यान्वयन हुन्छन्। यो भने हेर्न बाँकी नै छ । पर्यटनलाई राष्ट्रिय गौरवका आयोजनासँग जोड्ने र यसलाई डिजिटल अर्थतन्त्रको मेरुदण्ड बनाउने सोचले पक्कै पनि नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।