समानुपातिक सिटलाई लिएर हर्क साम्पाङको दल 'श्रम संस्कृति पार्टी' मा रडाको, हर्कले दिए यस्तो चेतावनी

Mar 13, 2026 11:58 AM merolagani



प्रतिनिधि सभाको भर्खरै सम्पन्न निर्वाचन मार्फत राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको धरानका पूर्व मेयर हर्क साम्पाङ नेतृत्वको 'श्रम संस्कृति पार्टी' भित्र समानुपातिक सांसद छनोटको विषयलाई लिएर तीव्र विवाद सुरु भएको छ। पार्टीभित्रको यो विवादले पछिल्लो समय उग्र रूप लिएको छ।

निर्वाचनमा पार्टीले करिब ३ लाख ८५ हजार समानुपातिक मत प्राप्त गरेको छ। जसका कारण पार्टीले ४ सिट समानुपातिकतर्फ पाउने निश्चित  छ। प्रत्यक्षतर्फको सिटसमेत जोड्दा पार्टीको कुल सांसद सङ्ख्या ७ पुग्ने देखिन्छ। संवैधानिक व्यवस्थाअनुसार दलहरूले सांसद छनोट गर्दा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ।

यही सिट बाँडफाँटलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको हो। समानुपातिक बन्द सूचीको महिला क्लस्टरमा १६औँ स्थानमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी भएको आरोप लगाएकी छन्। धरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्वलाई नै चेतावनीयुक्त भाषामा आफ्नो दाबी प्रस्तुत गरेकी छन्। उनले भनेकी छन्, "मभन्दा बढी सङ्घर्ष गरेर आएको कोही छ भने म दाबी छाडिदिन्छु। तर जनजाति कोटामा अरूलाई अघि सारिए त्यो राम्रो हुँदैन। हर्क साम्पाङ ज्यूले यो बुझ्नुपर्छ।" उनले आफूलाई सांसद नबनाए त्यसको गम्भीर परिणाम आउने भन्दै नेतृत्वप्रति आक्रोश पोखेकी छन्। उनले थपिन्, "अध्यक्षलाई यो ठाउँसम्म पुर्‍याउन मेरो भूमिका कति छ? के म जस्तो इमान्दार मान्छेलाई हेप्ने हो ?"

पार्टीभित्र बढ्दो यो विवाद र 'रोइलो' प्रति अध्यक्ष हर्क साम्पाङले कडा प्रतिक्रिया जनाएका छन्। विवाद थामिनुको साटो झन् बढेपछि साम्पाङले आफ्ना सामाजिक सञ्जाल (फेसबुक) मार्फत चेतावनी दिँदै लेखेका छन्, "अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु! हद भयो!" पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाउने सङ्घर्षका बिचमा देखिएको यो विवादले 'श्रम संस्कृति पार्टी' मा विभाजन आउन सक्ने आँकलनसमेत गर्न थालिएको छ। अध्यक्ष साम्पाङको यो कडा कदमले असन्तुष्ट पक्षलाई थप चिढ्याउने हो वा विवाद साम्य हुने हो। त्यो भने आगामी दिनमा स्पष्ट हुनेछ। यद्यपि, समानुपातिक सांसद छनोटको प्रक्रियालाई लिएर पार्टीमा देखिएको यो 'रडाको' ले समर्थकहरूलाई भने निराश बनाएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।