पछिल्लो दु्ई महिनायता बजारमा ग्यासको ‘सर्टेज’ कायमै रहेको छ ।
नेपाल खाना पकाउने ग्यासमा पूर्णतया आयातमा निर्भर छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनमार्फत वर्षेनी ५० देखि ६० अर्बको ग्यास आयात गर्दै आएको छ । विगतमा खपतभन्दा बढी ग्यास आयात भए पनि बिचौलिया व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको र आम उभोक्ताले पनि ग्यासको अतिरिक्त सञ्चिति गर्दा ग्यासको अभाव हुँदै गएको हो ।
निगमका अनुसार, नेपालमा मासिक ३० लाख ग्यास सिलिन्डर खपत हुने गरेको छ । तर, आयात भने ३२ लाख ४० हजार वटा सिलिन्डर आयात हुने गरेको छ । अर्थात, एक वर्षमा खपतको तुलनामा २ लाख ४० हजार वटा बढी सिलिन्डर आयात भइ कारोबार भएको निगमको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार, होटल, रेष्टुरेन्ट, होस्टेल, उद्योगलगायतमा त एक ग्राहकले नै ९/१० वटासम्म ग्यास सिलिन्डर सञ्चिति गर्ने गरिएको छ । त्यसकारण पनि औसत खपतभन्दा बढी आयात हुने गरेको छ ।
निगम स्रोतका अनुसार, विगतमा वार्षिक माग र खपतको तुलनामा ग्यास आयात बढी नै भए पनि पछिल्लो समय मध्यपूर्वी क्षेत्रको युद्धले ढुवानी समस्या निम्तिदा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको हो ।
बजारमा खपतको तुलनामा बढी परिमाणमा ग्यास आयात भए पनि आम उपभोक्तामा देखिएको मनौवैज्ञानिक त्रासका कारण ग्यासको अभाव सिर्जना भएको निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् ।
‘आम उपभोक्ताले ग्यास पाइँदैन कि भन्ने मनौवैज्ञानिक त्रासका कारण अनुचित भण्डारण गर्नतर्फ लागे । यता, व्यापारीहरुले पनि कृत्रिम अभाव सिर्जना गर्न खोज्दा अहिलेको अवस्था सिर्जना भयो ।’ उनले मेरो लगानीसँग बताए ।
फागनुमै बढी ग्यास आयात, अभाव भने कायमै
निगमका अनुसार, चालू आव २०८२।०८३ को फागुन महिनामा पनि खपतभन्दा बढी नै एलपीजी ग्यास आयात भएको छ । मासिक ४५ देखि ४६ हजार मेट्रिक टन एलपीजी ग्यासको अपत हुने गरेकोमा फागुनमा मात्रै ५१ हजार मेट्रिक टन ग्यास आयात भएको निगमका प्रवक्ता ठाकुरले बताए ।
उनका अनुसार, फागुन महिनामा मात्र खपतको तुलनामा ५ हजार मेट्रिक टन ग्यास बढी आयात भएको छ । आम उपभोक्ता र बिक्रेताहरु इमान्दार भइदिने हो र अनुचित भण्डारण नगरिदिने हो भने पछिल्लो पटक देखिएको ग्यासको अभाव हट्ने उनको भनाइ छ ।
बजारमा ग्यास बिक्रेता व्यापारीहरुले ग्यास नआएको र नभएको बताउँदै उपभोक्तालाई रित्तो हात फर्काउने गरेका छन् । अर्थात, ग्यासको कृत्रिम अभाव अहिलेसम्म पनि हटन सकेका छैन् ।
छैन ग्यासको स्टोर, उपभोक्तालाई आधा सिलिन्डरक बेच्दा के फरक पर्छ ?
एलपी ग्यासको तत्कालको अभाव टार्न निगमले अहिले आधा सिलिन्डरमात्र ग्यास आम उपभोक्तालाई वितरण गर्न निर्देशन दिइसकेको र ग्यास बिक्रेताहरुले पनि अहिले आधा सिलिन्डर ग्यास उपभोक्तालाई बेचिरहेका छन् ।
तत्कालको अभाव टार्न र बढीभन्दा बढी उपभोक्ताले ग्यास पाऊन भन्ने हेतुले आधा सिलिन्डर ग्यास बिक्रि गर्ने निर्णय गरिएको ठाकुरले बताए । उनका अनुसार, ग्यास भण्डारणका लागि निगमसँग कुनै स्टोर छैन् ।
जति खपत हुन्छ त्यति नै ग्यास आयात हुने गरेको उनी बताउँछन् । ‘निगमको आफ्नै स्टोर छैन् । ग्यास जति खपत हुन्छ, त्योभन्दा बढी नै आयात हुन्छ,’ उनले भने, ‘तत्काल अभाव नहोस् र बढीभन्दा बढी उपभोक्ताले ग्यास पाऊन् भनेर आधा सिलिन्डर भए पनि बिक्रि गर्ने निर्णय गरेका हौं ।’
यो निर्णयले भरिएका ग्यास आधा बनाएर बेच्ने गरी ग्यास बिक्रेताहरुले विवरण उपलव्ध गराइरहेका छन् । देशभर ५९ वटा ग्यास उद्योग तथा बिक्रेताहरुले निगमको निर्देशनमा ग्यास बिक्रि गरिरहेका छन् । ती ग्यास उद्योगहरुको स्टोर क्षमता भने १० हजार मेट्रिक टन ग्यासको मात्र रहेको देखिन्छ ।
त्यसले एक महिनाको खपत पनि थेग्न सक्ने अवस्था छैन् । निगमका अनुसार, अहिलेको स्टोरेज क्षमताले एक हप्ताका लागि पनि पुग्ने अवस्था छैन् । किनकी, देशभर मासिक रुपमा उपभोक्ताले ४५ हजार मेट्रिक टन ग्यास खपत गर्ने गरेका छन् ।