ट्रंक व्यवसायी महासंघले पनि गर्यो भाडादर समायोजन गर्न सरकारसँग माग

Mar 17, 2026 04:35 PM merolagani



खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको प्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ।

महासंघले नेपाल आयल निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अमेरिका, इजरायल र इरानबिचको युद्धका कारण खाडी क्षेत्रबाट विश्व बजारमा पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति प्रभावित हुँदा कच्चा तेलको मूल्य बढेको र त्यसको असर नेपालमा परेको निगमको भनाइ छ।

विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम नागरिक आक्रोशित बन्न पुगेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर यातायात व्यवसायमा पर्ने बताइएको छ। महासंघका अनुसार वैज्ञानिक प्रणालीका आधारमा निर्धारण गरिएको भाडादरअनुसार ट्रक सञ्चालन गर्ने र पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँ तलमाथि हुँदा भाडादर समायोजन गर्ने विषयमा यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी महासंघबिच लिखित सहमति भइसकेको थियो ।

डिजेलको मूल्य बढेसँगै सोही वैज्ञानिक विधिअनुसार ट्रक भाडादर स्वचालित रूपमा समायोजन गर्न सरकारका सम्बन्धित निकायसँग महासंघले माग गरेको छ। अहिले भाडादर प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य बढाइँदा ट्रक व्यवसायीलाई पुरानै भाडादरमा व्यवसाय सञ्चालन गर्न कठिन हुने महासंघले स्पष्ट पारेको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।