महानगरले ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्र रहेको सो मैदानलाई समथर बनाएर बरुनाग्रास दुबो रोप्ने तयारी गरेको छ । महानगरको आर्थिक वर्ष २०८२/०८३ को योजना उक्त क्षेत्रलाई व्यवस्थित खुला मैदानका रूपमा विकास गर्न लागिएको महानगरका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालले जानकारी दिए । महानगरले दुबो रोप्नको लागि आवश्यक काम थालनी गरिसकेको छ । यस परियोजनाको लागत अनुमान ४ करोड २५ लाख रुपैयाँ रहेको छ । महानगरले २०८३ पुस मसान्तसम्म काम सक्नेगरी २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको इन्जिनियर अर्यालले जानकारी दिए ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८२-०८३ को योजनाअनुसार टुँडिखेलको यो मैदान सैनिक मञ्चको दक्षिणपट्टीको भाग ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रलाई हामीले समथर बनाएर बरुनाग्रास दुबो लगाउन खोजेका छौँ । यसको लागत अनुमान हाम्रो स्टिमेट रकम ४ करोड २५ लाख रुपैयाँ हो । यसमा निर्माण व्यवसायीबाट कबुल भएको रकम दुई करोड ७० लाख रुपैयाँ रहेको छ । हामीले ठेक्का गर्दाखेरी २०८३ पौष मसान्तसम्मको लागि समय दिएका छौँ । हामी त्यही समयभित्र नै यो काम सम्पन्न गर्नेछौँ ।’
महानगरले टुँडिखेललाई हरियाली बनाउने बाहेक अन्य कुनै स्थायी संरचना निर्माण नगर्ने पनि स्पष्ट पारेको छ । मैदानलाई हरियाली बनाउनको लागी आवश्यक केही संरचना भने निर्माण गरिने इन्जिनियर अर्यालले जानकारी दिए । उनकाअनुसार मैदान व्यवस्थापनका लागि शुरुमा लेभलिङ गर्ने कार्य गरिनेछ । त्यसपछि तीन इन्च मलिलो माटो राखेर दुबो रोप्ने उनले बताए ।
मैदानको चार कुनामा पानीको लागि बोरिङ संरचना निर्माण गरिने छ । उनकाअनुसार पानी पुनर्भरणका लागि १.२ मिटर व्यासका १० वटा ‘वाटर रिचार्ज पिट’ निर्माण गर्ने योजना पनि समावेश छ । यसले काठमाडौं उपत्यकामा बढ्दो सुक्खापन न्यूनीकरण गर्न सहयोग पुग्ने उनले बताए ।
उनले भने, ‘टुडिँखेलमा हामीले कुनै संरचना निर्माण गर्न लागेका होइनौँ, यसलाई व्यवस्थित प्रयोगको लागि सर्वसाधरणलाई राम्रो होस् भन्ने हिसावले नै गर्न लागिएको हो । यसमा शुरुमा हामीले लेभलिङको काम गछौँ, त्यसपछि बरुनाग्रास दुबो रोप्नको लागि ३ ईन्च मलिलो माटो राख्नेछौँ । चार कुनामा चार वटा पानीको लागि भनेर बोरिङको संरचना बन्छ, त्यो बाहेक अरु संरचना केही पनि बन्नेछैन । यसमा हामीले वाटर रिचार्ज पिट भनेर पानी पुनःभरणको लागि १० वटा १ दशमलव २ डायमिटर भएको पिट डिजाइन गरेका छौँ । काठमाडौं महानगरपालिकामा सुख्खा भइरहेको हुनाले त्यसको लागि सहयोग होस् भनेर १० वटा पिटको पनि डिजाईन गरेका छौँ ।’
महानगरले निर्माणपछि मैदान व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ । महानगरले हेरालु र माली खटाएर दुबोको नियमित स्याहार, मल हाल्ने र पानी व्यवस्थापन गर्ने योजना बनाएको महानगरका वरिष्ठ इञ्जिनियर अर्यालले बताए।
उनले भने, ‘निर्माण कार्यपछि व्यवस्थापनमा हामीलाई च्यालेन्ज धेरै छ । त्यसको लागि हामीले हेरालू राखेर, माली राखेर विहान बेलुका नै दुबोमा फर्टिलाईजर हाल्ने, पानी रोक्नेदेखि लिएर व्यवस्थापन गर्नेगरी योजना बनाएका छौँ । त्यो चाहीँ निर्माण कार्य सम्पन्न भएपछि त्यही आधारमा काम गर्छौं ।’
टुँडिखेल महानगरभित्रको सबैभन्दा ठूलो खुला क्षेत्र हो । यहाँ विभिन्न सभा–समारोह तथा सर्वसाधारणहरुले विहान बेलुका शारीरिक व्यायाम लगायतका कार्यहरु गर्ने गरेका छन् । महानगरले टुँडिखेलको व्यवस्थापन गर्नको काम शुरु गरेपछि यी कामहरु भने अवरोध हुने भएको छ । महानगरले भने सभा समारोह लगायतका गतिविधि खुलामञ्चमा गर्न सकिने जनाएको छ । वरिष्ठ इन्जिनियर अर्यालले सभा समारोह लगायतका गतिविधि गर्नलाई खुला मञ्चलाई व्यवस्थित बनाइएको बताए । त्यहाँ सभा, समारोह तथा खेलकुद गतिविधि सञ्चालन गर्न सकिने उनको भनाई छ ।
उहाँले भने, ‘महानगरभित्र सबैभन्दा ठूलो ठाउँ यही हो । धेरै सभा समारोह हुने स्थान पनि यही हो । यसको वैकल्पिक व्यवस्था गर्नु भनेर हामीले सूचनामा पनि उल्लेख गरेका छौँ । त्यसको अलवा हाम्रो खुला मञ्च छ, खुला मञ्चलाई हामीले व्यवस्थित हुनेगरी निर्माण गरिसकेका छौँ, त्यहाँ पनि सभा समारोह, खेलकुद गतिविधिहरु गर्न सकिन्छ ।’
उनले खुलामञ्चलाई व्यवस्थित मात्रै गर्न लागिएको जानकारी दिए । यहाँ सर्वसाधारणलाई कुनै रोकावट नरहेको उनको भनाई छ । यो मैदानमा हालपनि सर्वसाधारणका लागि खुला रहेको र निर्माण सम्पन्न भएपछि पनि खुला नै रहने उनले बताए ।