शुक्रवार उपसभापति अर्यालको मात्रै सो पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएकाले उनी सभामुख बन्ने निश्चित भएको हो । अर्यालको मात्रै उम्मेदवारी परेकाले सभामुख चयन हुनेकुरा सुनिश्चित भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।
सभामुखको निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो पदका लागि प्रस्ताव दर्ता गर्नुपर्ने थियो । त्यसमा रास्वपाका उपसभापति अर्यालले मात्रै उम्मेदवारी दिएका हुन् । आगामी मंगलबार बोलाइएको प्रतिनिधि सभा बैठकमा अर्यालका प्रस्ताव रवि लामिछानेले प्रस्ताव गर्ने र समर्थकहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेपछि सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने पनि संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका प्रवक्ता गिरीले भने,‘निर्वाचन कार्यक्रमअनुसार सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताका लागि आज ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको थियो । यो समयमा आज एक मात्रै प्रस्ताव दर्ता हुन आएको छ । प्रस्ताव माननीय रवि लामिछाने रहनुभएको छ भने समर्थक माननीय सदस्यहरु सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहनुभएको छ । उनीहरुले माननीय सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रश्ताव दर्ता गर्नुभएको छ । प्रस्ताव ११ बजेर ५ मिनेटमा दर्ता भएको हो । एक मात्रै प्रस्ताव दर्ता हुन आएको छ । प्रस्ताव सदस्यले २२ गते बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुन्छ । र समर्थन गर्ने सदस्यहरुले समर्थन गरिसकेपछाडि एक मात्रै प्रस्ताव दर्ता हुन आएकाले त्यस पछाडि निर्विरोध घोषणा हुन्छ ।’
रास्वपाको प्रतिनिधि सभामा करिव दुई तिहाई १८२ जना सांसदहरु रहेका छन् । उपसभामुख चयनका लागि भने अन्य राजनीतिक दलहरुसँग रास्वपाका शीर्ष नेताहरु छलफलमा रहेका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्नेछ ।