शेयर बजारका खेलाडी ५ मन्त्रीहरु, जसले लगानी गरेका छन् करोडौं

Apr 13, 2026 01:23 PM mero lagani



प्रधानमन्त्री बालेन्द्र शाहसहितका मन्त्रीहरुले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

यो विवरण सार्वजनिक भएसँगै विभिन्न कोणबाट प्रश्न उठिरहेका छन् । खासगरि सुन र गहनाहरुको विवरणले कतिपयले नेपालको इतिहासकै सबैभन्दा धनी मन्त्रिमण्डल भएको टिप्पणी भइरहेको छ । ती टिप्पणी कति जायज, कति नजायज आफ्नो सरोकारवाला निकायहरुको क्षेत्राधिकारको विषय भयो ।

सुन, चाँदीसहितका गहगहना मात्र मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा केही मन्त्रीहरु शेयर बजारका ‘खत्रै खेलाडी’ रहेको देखिन्छ । खासगरि गृहमन्त्री सुधन गुरुङ, शिक्षा र खेलकुदमन्त्री सस्मित पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव, संस्कृति पर्यटनमन्त्री खडकराज पौडेलको शेयर बजारमा करोडौंको लगानी रहेको उनीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख रहेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेसँग करोडौँ रुपैयाँ बराबरको शेयर लगानी रहेको सार्वजनिक सम्पत्ति विवरणबाट देखिएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार वाग्लेले सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरमा गरी करिब १ लाख कित्ता प्रोमोटर शेयर राखेका छन्। त्यस्तै विभिन्न कम्पनीमा गरेर करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको विवरण सार्वजनिक गरेका छन् । 

सार्वजनिक विवरणअनुसार अर्थमन्त्री वाग्लेसँग ९ स्थानमा जग्गा रहेको छ। काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी, ललितपुरको सानेपामा ३.७५ आना, भैँसेपाटीमा ४ आना तथा धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिकामा समेत जग्गा रहेको उल्लेख छ। उनको सम्पत्तिमा ४५ तोला सुन समेत रहेको छ ।

उता, धनकुटा चितवन र गोरखामा जग्गा तथा ८९ तोला सुन र ६ किलो चाँदी भएका गृहमन्त्री सुधन गुरुङसँग विभिन्न कम्पनीको ४ करोड ३० लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै काठमाडाैंमा ४ र ५ करोड रुपैयाँ मूल्यका दुइटा घर, काठमाडाैं उपत्यका र मोरङका ५ स्थानमा ११ करोड रुपैयाँ मूल्यका जग्गा तथा सुन २५ तोला, चाँदी १०० तोला भएका शिक्षा र खेलकुदमन्त्री पोखरेलसँग १ करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको विभिन्न कम्पनीको शेयर रहेको सम्पत्ति विवरणमा जानकारी दिइएको छ ।

काठमाडाैंमा एउटा घर र तीन ठाउँमा जग्गासहित १८० तोला सुन तथा २ किलो चाँदी र दुई सेट हिराको हार भएकी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग विभिन्न कम्पनीको ३ करोड ३८ लाख रुपैयाँ मूल्य बराबरको शेयर रहेको छ ।

संस्कृति पर्यटनमन्त्री खडकराज पौडेलसँग १७ हजार कित्ता शेयर रहेको छ । त्यो शेयर कुन कुन कम्पनीको भन्ने नखुलाइए पनि त्यो करोडौं बराबरको हुने जानकारहरु बताउँछन् । पौडेलसँग पोखरामा २ करोड ६० लाख रुपैयाँमा खरिद गरेको घर तथा सुन ११ तोला, चाँदी ५ तोला रहेको छ ।कृषि र वनमन्त्री गीता चौधरीले २ लाख ५० हजार बराबरको शेयर रहेको विवरण सार्वजनिक गरेकी छन् । उनीसँग सुन ५ तोला, चाँदी १०० तोला रहेको छ ।