नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा (Price Limit) र प्री-ओपन सेसनको मापदण्डमा महत्त्वपूर्ण परिवर्तन गरिएको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीकाअनुसार, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा व्यक्तिगत कम्पनीको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। "व्यक्तिगत कम्पनीको हकमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत घटबढ हुने गरी संशोधन भएर आएको छ," प्रवक्ता पराजुलीले भने। यससँगै अब कुनै पनि सूचीकृत कम्पनीको शेयर मूल्य एकै दिनमा १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।

यसअघि यस्तो सीमा १० प्रतिशत मात्रै थियो। त्यसैगरी, बजार खुल्नुअघिको ‘प्री-ओपन सेसन’ (बिहान १०:४५ देखि ११:०० बजेसम्म) को मूल्य सीमामा पनि संशोधन गरिएको छ। अब प्री-ओपन सेसनमा शेयरको मूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि यो सीमा निकै कम थियो, जसले गर्दा बजार खुल्ने बित्तिकै हुने मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो। ५ प्रतिशतको नयाँ सीमाले नियमित बजार खुल्नुअघि नै वास्तविक मूल्य तय हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
समग्र बजार सूचक (नेप्से इन्डेक्स) मा नयाँ सर्किट ब्रेकर व्यक्तिगत कम्पनीको सीमासँगै समग्र बजार सूचक (नेप्से इन्डेक्स) को सर्किट ब्रेकर प्रणालीमा पनि हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार: ५ प्रतिशतको पहिलो ब्रेक: कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से सूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेटका लागि स्थगित गरिनेछ। (यसअघि ४ प्रतिशतमा २० मिनेटको व्यवस्था थियो)। ८ प्रतिशतमा पूर्ण बन्द: यदि ५ प्रतिशतको ब्रेकपछि पुनः खुलेको बजारमा सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको बाँकी समयका लागि सम्पूर्ण कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। (यसअघि ६ प्रतिशतको उतारचढावमा दिनभरका लागि कारोबार बन्द हुने प्रावधान थियो)।
यसअघि प्रचलनमा रहेको ४, ५ र ६ प्रतिशतको तीन तहको सर्किट ब्रेकरलाई हटाएर अब ५ र ८ प्रतिशतको दुई तहको प्रणाली लागू गरिने भएको हो।
कहिलेदेखि हुन्छ कार्यान्वयन?
धितोपत्र बोर्डबाट विनियमावली संशोधनको आधिकारिक पत्र नेप्सेमा पुगिसकेको छ। अब नेप्से सञ्चालक समितिको बैठक बसेर यो नयाँ व्यवस्था कुन मितिदेखि प्राविधिक रूपमा कार्यान्वयनमा ल्याउने भन्ने निर्णय गर्नेछ। नेप्सेका अनुसार प्राविधिक तयारी पुरा हुनासाथ छिट्टै यो नयाँ प्रणाली लागू गरिनेछ। अन्तर्राष्ट्रिय अभ्यास र नेपाली बजारमा बढ्दो लगानीकर्ताको संख्यालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो। व्यक्तिगत कम्पनीको मूल्य सीमा १५ प्रतिशत पुर्याउँदा बजार थप 'भोलाटाइल' (अस्थिर) हुन सक्ने भए पनि यसले बजारलाई वास्तविक मूल्य खोज्न र तरलता बढाउन सहयोग पुग्ने विश्लेषण गरिएको छ।