सानो पूँजीलाई एकीकृत गर्दै शेयर बजारको यात्रा तय गरेका श्रेष्ठका लागि पिपुल्स फाइनान्सको २० कित्ता आईपीओ पर्नु महान उत्सवभन्दा कम थिएन। तर यात्राको सुरुवाती पाईलामै श्रेष्ठले ठूलो ठक्कर खाए। हरिसिद्धि इँटा तथा टायल कारखानाको शेयरमा गरेको लगानी बालुवामा पानी हाले सरह नै भयो। आज उनीसँग केवल अस्तित्वबिहिन कम्पनीको कागजरुपी प्रमाणपत्र मात्रै सुरक्षित छ ।
बजार केवल अध्ययनले बुझिने अंक गणितको खेलमात्र होइन। बजारको बुझाईमा फरक दृष्टिकोण छ श्रेष्ठसँग । उनको विशेषता बजारमा मात्र सीमित छैन। सूचकको उतारचढाव र बजारको सेन्टिमेन्टलाई सहि जलप लगाएर सञ्चार गर्न श्रेष्ठ खप्पिस छन् । कम्पनीका विवरण र नेप्से सूचकमा अल्झिरहने उनी फुर्सदको समयमा घरको कौसीको सानो संसारमा हराउँछन्। तरकारी र फलफूलका बोटबिरुवासँग गफिदै प्राकृतिक कविता पस्कन्छन् ।
नेप्सेको ग्राफमा कविताको रंग दिने तिनै साहित्यनुरागी श्रेष्ठलाई ‘मेरो लगानी मार्केट लेजेन्ड्स सिरिज’मा स्वागत गर्दछौं ।