तीन वर्षयताकै उच्च कारोबारसँगै घरजग्गा कारोबारमा सुधार, १० आना मुनिका जग्गाको कारोबार बढी

Apr 13, 2026 02:07 PM Merolagani



पछिल्लो समय शिथिल रहेको नेपालको घरजग्गा बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको घरजग्गा बजारको अवस्था’ सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा कुल ४ लाख ५६ हजार लिखत पारित भएका छन्, जुन पछिल्लो तीन आर्थिक वर्षकै उच्च हो । यसअघिका त्रैमासहरूको तुलनामा यो संख्याले घरजग्गा क्षेत्र बिस्तारै पुरानै लयमा फर्कन थालेको संकेत गरेको छ ।

कारोबार संख्यासँगै घरजग्गामा भएको आर्थिक लगानी (थैली रकम) पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा मात्रै १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको तुलनामा दोब्बरभन्दा बढी हो ।

कारोबार संख्या र कारोबार भएको क्षेत्रफलका आधारमा मधेस प्रदेश देशभरिमै अग्रस्थानमा रहेको छ । कारोबार संख्यामा मधेस अगाडि भए पनि कारोबार रकमका आधारमा वाग्मती प्रदेश सबैभन्दा अगाडि छ । चौथो त्रैमासमा मात्रै वाग्मतीमा ५१ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ ।महानगरपालिकाहरूमध्ये भरतपुरमा सबैभन्दा बढी संख्यामा कारोबार भएको छ भने काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी मूल्यको कारोबार हुने गरेको छ ।

बजारमा विशेषगरी २.५ आनादेखि १० आनासम्मका साना प्लटहरूको कारोबार बढी हुने गरेको छ, जसले सहरीकरणको बढ्दो चापलाई झल्काउँछ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने घरजग्गा कर्जामा पनि अघिल्ला वर्षहरूको तुलनामा वृद्धि भएको प्रतिवेदनले देखाएको छ । मधेशमा २० आना क्षेत्रफल माथिका र महानगर तथा उपमहानगरपालिका क्षेत्रमा भने ५ देखि १० आना क्षेत्रफलका जग्गाहरु बढी कारोबार हुने गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रयमासमा ८.२ अर्ब रुपैयाँमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँसम्म पुगेको छ ।

समग्रमा, मौसमी प्रभावका कारण पहिलो त्रैमासमा केही सुस्त हुने गरे पनि तेस्रो र चौथो त्रैमासमा घरजग्गा बजार निकै चलायमान हुने गरेको राष्ट्र बैंकको निष्कर्ष छ । पछिल्लो तथ्यांकले घरजग्गा व्यवसायी र सर्वसाधारणमा सकारात्मक आशा जगाएको छ।