२०८२ साललाई नियाल्दाः नीतिगत सुधार भएअनुसार शेयर बजारले उचाइ बनाउन सकेन

Apr 13, 2026 05:58 PM Merolagani



सुधा देवकोटा
२०८२ सालमा नेपालको शेयर बजारका लागि नीतिगत सुधारका लागि सुखद भएको मानिन्छ। यो वर्षभरिनै बजारसँग सरोकार राख्ने निकायहरुले नीतिगत लचकता अपनाए र बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरले बजारका लागि सकारात्मक रह्यो।

नेपाल राष्ट्र बैंकले शेयर कर्जाको सीमा र जोखिम भारमा गरेको सुधारले लगानीकर्तालाई राहत गरायो । तर बजार उल्लेख्य रुपमा उचाइ बनाउन सकेन । मुलुकमा भएको राजनीति अस्थिरता र अन्य बहानामा नेप्से सूचक लामो अवधिसम्म साइडवेजमा नै चल्यो। गत भदौमा भएको जेनजी आन्दोलनले मुलुकको राजनीति परिवेशलाई नै रुपान्तरण गर्यो । यो अवस्थामा लगानीकर्ताहरु अझै अन्योल भए । अहिले नेपालमा स्थिर सरकार बनेको छ। राजनीति चपेटामा बजार नपर्ने लगानीकर्ताहरुको बुझाई छ ।

 

 

२०८२ सालको अन्त्य तिर लगानीकर्ताको बजार प्रतिको आत्म विश्वास बढ्दो अवस्थामा देखिन्छ । यस वर्षलाई फर्केर हेर्दा, नेपाली शेयर बजारका उतारचढाव पूर्ण रहेता पनि औसतमा सामान्य बढेको देखिन्छ । गत २०८१ सालको चैत मसान्तको तुलनामा नेप्से सूचक औसत ६.४४ प्रतिशत सुधार भएको हो।

यसवर्ष अर्थात २०८२ चैत ३० गते सोमबार नेप्से सूचक २८३३.६० विन्दुमा बन्द भएको छ। अघिल्लो वर्ष अर्थात २०८१ चैत ३१ गते नेप्से परिसूचक २६६२.०८ विन्दुमा थियो । यो एक वर्षको अन्तरालमा नेप्से परिसूचक औसत १७१.५२ अंक अर्थात ६.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष र यस वर्षको उचाइमा ठूलो अंकको भिन्नता देखिदैन । यस वर्षको उच्च विन्दु ३०२८.७९ भने अघिल्लो वर्षको उच्च विन्दु ३०४८.१५ भन्दा सामान्य अर्थात ०.६४ प्रतिशतले कम हो ।

यो वर्षको अन्तरालमा राजनीति रुपमा धेरै उतारचढाव भएका छन् । तर नेप्से परिसूचक भने साइडवेजमा रहेको छ । यो वर्ष बजारमा ठूलो अंकको उतारचढाव भएको देखिदैन। यस वर्षको न्यून विन्दु २४६९.३७ विन्दु हो। यो अघिल्लो वर्षको तुलनामा २६.४६ प्रतिशतले माथि हो। २०८१ सालमा न्यून १९५२.६३ विन्दुमा थियो ।

बजार पूँजीकरण र कारोबार रकम

एक वर्षको अवधिमा बजार पूँजीकरण ९.२१ प्रतिशतको बढोत्तरी भएको छ। २०८१ चैतमा ४४ खर्ब २५ अर्ब ४० करोड रहेको कुल बजार पूँजीकरण २०८२ चैत मसान्तमा आइपुग्दा ४८ खर्ब ३२ अर्ब ८४ करोड पुगेको छ। यस बर्ष दोस्रो बजारमा प्रवेश गर्ने कम्पनीको संख्यामा पनि वृद्धि हुँदा पूँजीकरण वृद्धि भएको हो। त्यस्तै, वर्षभरिको कुल कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। यस वर्ष कुल १८ खर्ब ५० अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जुन अघिल्लो वर्षको तुलनामा ०.९२ प्रतिशतले बढी हो।

त्यसैगरी, यस वर्ष बजारका अन्य सूचकहरुमा समेत सुधार भएको छ। सेन्सेटिभ इन्डेक्स ६.७७ प्रतिशत, फ्लोट इन्डेक्स ७.२४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ७.५४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको तुलनामा २०८२ साल भरमा बजार सकारात्मक भयाे ।

उप समूहका सूचकमा मिश्रित परिणाम

यो एक वषमा नेप्सेमा कारोबार भएका १३ वटा उप समूहको सूचकमा मिश्रित परिणाम देखिएको छ। यो अवधिमा सर्वाधिक वढ्ने उपसमूहमा उत्पादन तथा प्रशोधन समूह परेको छ। समीक्षा अवधिसम्मा यो समूहमा ६६.६४ प्रतिशतको बढोत्तरी भएको छ। २०८१ चैतमा ७०१५.१३ विन्दुमा रहेको यो सूचक २०८२ चैत मसान्तमा ४६७४.७६ अंकले बढेर ११६८९.८९ विन्दुमा पुगेको छ। यस वर्ष भित्रमा यो उपसमूहमा ६ वटा कम्पनी भित्रिएका छन्। जसले गर्दा यस उपसमूहको सूचकलाई उल्लेख्य रुपमा बढोत्तरी गराउनको लागी योगदान पुर्याएको छ। जसमा सागर डिस्टिलरी, रिलायन्स स्पिनिङ्ग मिल्स, श्रीनगर एग्रीटेक इन्टष्ट्रिज, ओम मेगाश्री फर्मास्यूटिकल्स, एसवाई प्यानल र पाल्पा सिमेन्टस् रहेका छन।

त्यसैगरी, होटल तथा पर्यटन उपसमूह २३.३६ प्रतिशले बढेर ७९५३.२४ विन्दुमा पुगेको छ भने जलविद्युत उपसमूहमा पनि १७.८६ प्रतिशतको राम्रो वृद्धि भएको हो। म्युचुअल फण्ड समूहको सूचक पनि १३.५० प्रतिशतले बढेको हो।

यो वर्ष बैंक तथा वित्तीय क्षेत्रका समूहमा भने तुलनात्मक सुधार भएको देखिन्छ। बैंकिङ उपसूचक ८.४० प्रतिशतले बढेर १४६८.९० विन्दुमा पुगेको छ। विकास बैंक समूहमा १०.९८ प्रतिशत र माइक्रोफाइनान्समा २.८६ प्रतिशतको सामान्य सुधार भएको छ। अघिल्लो वर्ष अकर्षक रुपमा बढेको वित्त उप समूहको सूचक भने यो वर्ष खासै बढ्न सकेन। यो अवधिमा १.८६ प्रतिशतले सूचक घटेको छ।

यस वर्ष व्यापार उपसमूहको सूचकमा भने तुलनात्मक रुपमा गिरावट भएको देखिन्छ। समीक्षा अवधिसम्ममा १७.३८ प्रतिशतले गिरावट भएको हो। अन्य उपसमूह १२.५१ प्रतिशत र निर्जीवन बीमा उप समूहको सूचक ८.३८ प्रतिशतले घटेको हो।

सूचीकृत उपकरणहरूः

यस वर्ष प्राथमिक बजार हुँदै दोस्रो बजारमा सूचीकृत हुने कम्पनीहरुको संख्या उल्लेख्य रहेको छ । सूचीकृत विभिन्न उपकरणहरू मध्येमा साधारण शेयर, बोनस शेयर, हकप्रद शेयर, म्युचुअल फण्ड, अग्राधिकार शेयर र ऋणपत्र रहेका छन् । जसमा यस वर्ष कूल २ अर्ब ३२ करोड ७७ लाख १० हजार २९७ इकाइ सूचीकृत भएका छन्।

जसमा आईपीओ मार्फत ३७ करोड १३ लाख ४४ हजार २४५ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ भने एफपीओ मार्फत ९७ लाख ६८ हजार ५७८ कित्ता रहेको छ। यस अवधिमा नेप्सेमा सूचीकृत भएका विभिन्न कम्पनीका २७ करोड ७० लाख ८७ हजार ९३१ कित्ता बोनस शेयर र ११ करोड २१ लाख ७१ हजार ७१२ हकप्रद शेयर सूचीकृत भएको हो। अग्राधिकार शेयर ५ करोड ३५ लाख कित्ता बजारमा सूचीकृत भएको छ।

म्युचुअल फण्ड क्षेत्रको एक अर्ब ३४ करोड १६ लाख २५ हजार ३३० इकाई बजारमा आएको छ। विभिन्न कम्पनीको निष्काशन गरेका १६ करोड १९ लाख ८४ हजार इकाई ऋणपत्र बजारमा सूचीकृत भएको हो।