सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM mero lagani



सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहकै प्रत्यक्ष संलग्नतामा सरुवा गर्ने तयारी गरिएपछि वर्षाैंदेखि ‘जमेर’ बसेकाहरुमा आतंकको वातावरण सृजना भएको छ भने अन्य कर्मचारीहरु भने नयाँ सरुवाप्रति उत्सुक देखिएका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री शाहले दुई दिन अघि सामान्य प्रशासन मन्त्रालयलाई चैत्र अन्तिमसम्म (अर्थात् आज साँझसम्म) सिंहदरवार भित्रका कर्मचारीहरुको दरवन्दीसहितको विवरण उपलब्ध निर्देशन दिएका थिए । त्यहीअनुसार मन्त्रालयहरुले हतार हतार विवरण उपलब्ध गराइरहेको बताइएको छ ।

स्रोतकाअनुसार सिंहदरबार भित्रका मन्त्रालय र निकायहरुमा कतिपय कर्मचारीहरु सोर्सफोर्सको आधारमा वर्षाैंदेखि एउटै कार्यालयमा कार्यरत रहेको गुनासो बढेपछि प्रधानमन्त्रीले ‘एक्सन’ लिन लागेका हुन् । ‘बढुवाको लागि अतिरिक्त नम्बर पाउने मनसायले दुर्गम क्षेत्रमा दरवन्दी कायम गर्ने तर सरुवा मिलाएर सिंहदरवा वा वरपरका कार्यालयमा वर्षाैंदेखि धाक जमाएर बस्ने कर्मचारीहरुलाई सकेसम्म दुर्गम स्थानमा सरुवा गरिनेछ भन्ने सुनेका छौं, हेरौं के हुन्छ ?’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले मेरो लगानीसँग भने ।

प्रधानमन्त्री आफैले आफ्नै कार्यालयसहितका सबै मन्त्रालय र सिंहदरवार भित्र रहेका अन्य कार्यालयका कर्मचारीहरुको नियुक्ति र सरुवा, बढुवाको समेत विवरण माग गरेपछि सरुवा, बढुवामा भैरहेका वेथिति रोकिने हो कि भन्ने आशा जगाएको कर्मचारीहरु बताउंछन् ।