लाइसेन्सबाट 'चिप' हटाएर 'क्यूआर कोड' किन राखियो ? ‘चिप’ शक्तिशाली कि ‘इन्टेलिजेन्ट क्यूआर’ ? यथार्थ  के हो ?

Apr 26, 2026 05:43 AM Merolagani



पछिल्लो समय सामाजिक सञ्जालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बाट 'चिप' हटाएर 'क्यूआर कोड' राखिएको भन्दै विभिन्न टीकाटिप्पणी र व्यङ्ग्य भइरहेका छन्।

धेरैले चिप जडित लाइसेन्सलाई उच्च प्रविधिको र क्युआर भएकोलाई 'कमसल' वा 'पुरानो प्रविधि' का रूपमा व्याख्या गरिरहेका छन्। के आम सर्वसाधारणले सामाजिक संजालमा भनिरहेको जस्तै  लाइसेन्सबाट 'चिप' हटाएर 'क्युआर कोड' खर्च घटाउने उपाय मात्रै हो कि प्रविधि सँगै आएको परिवर्तन ?  यो गम्भीर प्रश्न छ। सर्वसाधारणले भने जस्तै  'क्युआर कोड' भएको अहिलेको लाइसेन्स कमसल नै हो त ? वास्तविक यथार्थ के हो ?

अहिलेको नयाँ लाइसेन्स छपाइ गरिरहेको सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागले भने यो बुझाइलाई 'भ्रम' मात्र भएको स्पष्ट पारेका छन्।केन्द्रका अनुसार अहिले वितरण भइरहेको लाइसेन्स पहिलेको चिप जडित कार्डभन्दा कैयौँ गुणा बढी सुरक्षित, आधुनिक र प्रविधिमैत्री छ।

किन राम्रो छ नयाँ लाइसेन्स ?

पहिले वितरण गरिने चिप जडित लाइसेन्समा जम्मा १८ थरी सुरक्षा विशेषता (फिचर) हरू थिए। तर, अहिले छापिएर आएको नयाँ लाइसेन्समा ३९ थरी सुरक्षा फिचर रहेका छन्। सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाकाअनुसार यो साधारण क्युआर होइन, यसमा 'इन्टेलिजेन्ट क्युआर' प्रविधि प्रयोग गरिएको छ। जुन सुरक्षाका दृष्टिले निकै बलियो छ। 'यसमा पाँच तहका लेयरहरू छन्। साधारण आँखाले देखिने, उपकरणको सहायताले मात्र देखिने र ल्याबबाट मात्रै परीक्षण गर्न मिल्ने गरी सुरक्षा फिचरहरू राखिएका छन्,' ढुंगानाले भने, 'चिप राख्नु आफैँमा एउटा प्रविधि हो भने क्युआर अर्को। अहिले संसारका धेरै विकसित देशहरूले पनि चिपको सट्टा यही 'इन्टेलिजेन्ट क्युआर' प्रविधि अपनाइरहेका छन्।'

पहिलेको भन्दा अहिलेको लाइसेन्स जाँच गर्न सजिलो

पहिलेको चिप जडित लाइसेन्स जाँच गर्न ट्राफिक प्रहरीलाई छुट्टै 'डिभाइस' (यन्त्र) आवश्यक पर्थ्यो। जुन जाँचका लागि खटिएका सबै ट्राफिक प्रहरीसँग उपलब्ध हुने गरेको थिएन। जसले गर्दा चिप जडित भएपनि ठाउको ठाउँ जाँच गर्न डिभाइस अभावका कारण चिपभित्रको डाटा हेर्न असम्भव जस्तै थियो। जसले गर्दा स्मार्ट भनिए पनि लाइसेन्सको प्रभावकारिता भने शून्य जस्तै थियो।

 

तर, नयाँ लाइसेन्समा अगाडि र पछाडि दुई वटा क्युआर कोड छन्। ट्राफिक प्रहरीलाई एउटा विशेष 'कोड' वा 'की' उपलब्ध हुन्छ। जसलाई आफ्नो प्रणालीमा राखेपछि उनीहरूले मोबाइल वा ट्याब्लेटबाटै सेवाग्राहीको पूर्ण विवरण क्षणभरमै हेर्न सक्नेछन्। अहिले हरेक जाँचकीको हातमा स्मार्ट फोन हुन्छ नै। त्यही फोनबाट जाँचकीले ठाउको ठाउँ आफूले चाहेको विवरण हेर्न सक्छ। जसले गर्दा पहिलेको भन्दा यो प्रभावकारी साबित हुने  ढुंगानाले बताए। तर सेवाग्राही आफैँले स्क्यान गर्दा भने आफ्नो सामान्य विवरण मात्र देखिने गरी 'डेटा सेक्युरिटी' समेत कायम गरिएको छ।

साउन १ बाट 'रसिद युग' को अन्त्य

लाइसेन्स नपाएर वर्षौँदेखि राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यतालाई नयाँ प्रविधिले अन्त्य गर्ने दाबी गरिएको छ। मुद्रण केन्द्रले अहिले दैनिक ४० हजारका दरले लाइसेन्स छापिरहेको छ। आगामी वैशाख १२ गतेभित्र १२ लाख थान लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको छ। यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाका अनुसार १ साउनदेखि कुनै पनि सेवाग्राहीले रसिद बोकेर हिँड्नुपर्ने छैन। साथै, सरकारले १०० दिने कार्यसूचीअन्तर्गत लाइसेन्स छापेर हुलाकमार्फत घरमै पुर्‍याउने व्यवस्था समेत मिलाएको छ।

सामाजिक सञ्जालमा चर्चा भएजस्तो क्युआर कोड 'सस्तो' वा 'कमजोर' प्रविधि होइन। चिपको तुलनामा यो छिटो रिड हुने, डाटा सुरक्षित रहने र जुनसुकै स्थानमा सजिलै जाँच गर्न सकिने भएकाले यसलाई थप प्रभावकारी मानिएको छ। त्यसैले, प्रविधिको स्वरूप परिवर्तन हुनुलाई 'कमसल' मान्नु केवल प्राविधिक जानकारीको अभाव मात्र भएको केन्द्रको भनाइ छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।