थापाथलीको सुकुम्बासी बस्ती भत्काउने क्रम जारी

Apr 25, 2026 10:31 AM Merolagani



काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।

 लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियान अन्तर्गत प्रशासनले यो कदम चालेको हो । बस्तीमा डोजर पुगेपछि सुकुम्वासीहरुले बिहानै सामानहरु हटाएका थिए ।

प्रशासनले कानून बमोजिम सरकारी जग्गा खाली गराउनुपर्ने अडान लिएको छ भने बस्तीवासीहरूले आफूहरूको उचित व्यवस्थापन नभई उठिबास लगाउन नहुने माग राख्दै आएका थिए । अहिले सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयले सुकुम्वासी वस्तीहरू हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ । 

शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले नै प्याकेटमा खानाको प्रबन्ध गर्ने जनाइएको छ ।

सरकारले काठमाडौं उपत्यकाका सुकुम्वासी बस्ती हटाउने कार्य सुरु गरेसँगै उनीहरूलाई तत्कालीन पुनःस्थापना गर्न पाँच सुरक्षित विकल्प दिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले ती पाँच सुरक्षित विकल्प शनिबार सार्वजनिक गरेको हो । “जसको कतै पनि जायजेथा छैन, उनीहरूका लागि सरकारले मानवीय संवेदनाका आधारमा पाँचवटा स्थानमा तत्कालीन पुनःस्थापनाको बाटो खोलेको छ,” प्रधानमन्त्रीको सचिवालयले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुकुम्वासीको लागि तत्कालीन पुनःस्थापना गर्न पहिलो विकल्प नागार्जुन (इचंगु) मा ४२ वटा व्यवस्थित आवास युनिट दिइएको छ ।
 
दोस्रो विकल्पमा कीर्तिपुरस्थित सत्सङको ठूलो भवनलाई राखिएको छ । तेस्रो विकल्पमा भक्तपुरको बोडेस्थिल कृषि विकास बैंकको तालिम केन्द्रलाई राखिएको छ । 

चौथौ र पाँचौँ विकल्पमा खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गालाई पेस गरिएको छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।