BYD को अर्थ "बिल्ड योर ड्रिम्स" अर्थात् 'आफ्ना सपनाहरू निर्माण गर्नुहोस्' भन्ने हुन्छ। हालैका दिनहरूमा इरान र वरपरको क्षेत्रमा भएको तनावका कारण इन्धन (पेट्रोल/डिजेल) को मूल्य बढेको छ, जसले विश्वभर विद्युतीय सवारी साधन (EV) को माग बढाउन मद्दत गरेको छ। चिनियाँ कार निर्माताहरूले यस अवसरको भरपुर फाइदा उठाइरहेका छन्।
चीन अहिले विश्वकै सबैभन्दा ठुलो विद्युतीय गाडी उत्पादक राष्ट्र हो। चिनियाँ गाडीहरूलाई अमेरिकाको ठुलो बजारमा छिर्न केही बाधा र चुनौती भए पनि एसिया र अन्य क्षेत्रका डिलरहरूबाट प्राप्त भइरहेको अर्डर र मानिसहरूको चासोका कारण उनीहरूले ठुलो नाफा कमाइरहेका छन्। गत वर्ष मात्रै BYD ले एलन मस्कको चर्चित कम्पनी टेस्लालाई पछि पार्दै विश्वकै सबैभन्दा धेरै विद्युतीय गाडी बेच्ने कम्पनी बनेको थियो। अहिले यो कम्पनी आक्रामक रूपमा विदेशमा आफ्नो व्यापार विस्तार गरिरहेको छ।
कार्यकारी उपाध्यक्ष स्टेला लीले भनिन्, "हामी आज अमेरिकी बजार बिना नै बाँचिरहेका छौँ र सफल पनि छौँ।" उनले अमेरिकी ग्राहकहरूलाई लक्षित गर्नुको सट्टा कम्पनीले अहिले ब्राजिल,बेलायत र युरोप लगायतका क्षेत्रमा बढिरहेको माग पूरा गर्नुलाई आफ्नो मुख्य चुनौती ठानेको बताइन्। "तेलको मूल्य बढ्दा ग्राहकहरूले हरेक दिन हुने बचत महसुस गर्छन्, विद्युतीय गाडीले उनीहरूलाई पैसा जोगाउन मद्दत गर्छ," उनले थपिन्, "अहिले हाम्रो अवस्था यस्तो छ कि गाडीको माग धेरै छ तर हामीले मागअनुसार गाडी उत्पादन गरेर पुर्याउनै सकिरहेका छैनौँ।"

BYD ले अहिले आफ्नो नयाँ 'फ्ल्यास चार्जिङ' प्रविधिमा ठुलो भरोसा गरेको छ। लीका अनुसार यो प्रविधिले विद्युतीय गाडीको क्षेत्रमा ठुलो परिवर्तन ल्याउनेछ। धेरैजसो मानिसहरू गाडी चार्ज गर्न धेरै समय लाग्ने चिन्ताले विद्युतीय गाडी किन्न डराउँछन्,तर फ्ल्यास चार्जिङले केही मिनेटमै सयौँ किलोमिटर गुड्ने गरी ब्याट्री चार्ज गर्न सक्छ। यसले गर्दा गाडी किन्न हिचकिचाउनेहरूलाई पनि मनाउन सजिलो हुने र बजारमा प्रतिस्पर्धा गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।
यस वर्षको बेइजिङ अटो शोमा चिनियाँ र विदेशी कम्पनीका १,४०० भन्दा बढी सवारी साधनहरू प्रदर्शनमा राखिएका छन्। यो शोमा चिनियाँ कम्पनीहरूकै वर्चस्व देखिएको छ। तर, यो सफलताका बिच केही जटिल राजनीतिक समस्याहरू पनि छन्। चिनियाँ विद्युतीय गाडीहरूले अमेरिकामा उच्च कर र कडा नियमहरूको सामना गरिरहेका छन्। अमेरिकाले चिनियाँ सरकारले आफ्ना कम्पनीहरूलाई दिने आर्थिक अनुदानको आलोचना गर्दै डेटा सुरक्षा र राष्ट्रिय सुरक्षाको विषयमा चिन्ता व्यक्त गरेको छ।
तर, स्टेला लीले भने बेलायत जस्ता देशहरूमा आफ्नो कम्पनीले राम्रो पहिचान बनाइरहेको बताइन्। पहिले चिनियाँ कम्पनीहरू सस्तो गाडी बनाउन मात्र चिनिन्थे, तर अहिले उनीहरू ब्याट्री, चार्जिङ प्रविधि र सफ्टवेयर जस्ता प्राविधिक क्षेत्रमा पनि निकै अगाडि बढिसकेका छन्। लीका अनुसार BYD केवल कार बनाउने कम्पनी मात्र होइन,यसले विश्वभरका झण्डै एक तिहाइ स्मार्टफोनका पार्टपुर्जाहरू पनि बनाउँछ। साथै, ब्याट्री भण्डारण, सोलार प्यानल, बस र ट्रक उत्पादनमा पनि यो कम्पनी विश्वमै अग्रणी छ।
अटो शोमा कार बाहेक अन्य नयाँ प्रविधिहरू पनि देखाइएका थिए। जस्तै, चीनको एक्स-पेङ (XPeng) कम्पनीले छ सिट भएको नयाँ इलेक्ट्रिक एसयूभी र मानिसजस्तै देखिने रोबोटहरू प्रदर्शन गरेको थियो। यो कम्पनीले सन् २०२७ देखि उड्ने कारहरू बनाउन सुरु गर्ने योजना बनाएको छ।
कुनै समय चीनको बजारमा राज गरेका फक्सवागन, टोयोटा र फोर्ड जस्ता विदेशी कम्पनीहरूलाई अहिले चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भइरहेको छ। त्यसैले कतिपय विदेशी कम्पनीहरूले चिनियाँ कम्पनीहरूसँगै मिलेर काम गर्न थालेका छन्। जस्तै, बीएमडब्लू (BMW) ले ब्याट्री बनाउने कम्पनी सीएटीएल (CATL) सँग साझेदारी गरेको छ भने फक्सवागनले एक्स-पेङसँग मिलेर गाडीहरू बनाइरहेको छ।
चीनभित्रै पनि गाडी कम्पनीहरूबिच कडा प्रतिस्पर्धा छ। कम्पनीहरूबिच मूल्य घटाउने होडबाजी चलिरहेको छ। यस वर्षको पहिलो तीन महिनामा युरोपमा BYD को बिक्री १५६ प्रतिशतले बढेको भए पनि चीनको आफ्नै बजारमा भने विगत सात महिनादेखि यसको बिक्रीमा केही गिरावट आएको छ। बजारको यो तीव्र प्रतिस्पर्धाका कारण सबै कम्पनीहरू टिकिरहन नसक्ने उपाध्यक्ष लीले बताइन्। उनले विगतमा जापानी र दक्षिण कोरियाली कार कम्पनीहरू उदाउँदा पनि यस्तै प्रतिस्पर्धा भएको र अन्तमा बलिया कम्पनीहरू मात्र टिकेको उदाहरण दिइन्।