बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) लिएका लगानीकर्ताहरूले अब आफ्नो कर्जा चुक्ता गरी शेयर फुकुवा (Pledge Release) भएको सेकेन्डभरमै उक्त शेयर दोस्रो बजारमा बिक्री गर्न पाउने भएका छन्।
सिडिएससीले बैंक,सिडिएससी र ब्रोकरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई एक आपसमा जोड्ने 'एपिआई' (API- Application Programming Interface) प्रविधिको विकास गरेपछि यो सम्भव भएको हो। तर, विडम्बना के छ भने सिडिएससीले यो सुविधा उपलब्ध गराइसकेको भए पनि नेपालका करिब ५० प्रतिशत ब्रोकर कम्पनीहरूले अझै पनि यो प्रणालीलाई आफ्नो टिएमएसमा अद्यावधिक नगर्दा आधाभन्दा बढी लगानीकर्ताहरूले भने अझै पुरानै सास्ती भोग्नु परिरहेको छ।
विगतमा शेयर धितो कर्जा लिएर कारोबार गर्ने लगानीकर्ताहरूको अवस्था निकै निराशाजनक थियो। मानौँ, कुनै लगानीकर्ताले बैंकमा शेयर धितो राखेर कर्जा लिएको छ। आज दोस्रो बजार अचानक बढ्यो र उसको शेयरको मूल्य उच्च बिन्दुमा पुग्यो। ऊ तुरुन्तै शेयर बेचेर नाफा सुरक्षित (Profit Book) गर्न चाहन्छ। तर, विगतको प्रणालीमा यो असम्भव जस्तै थियो। शेयर बिक्री गर्नका लागि लगानीकर्ताले सबैभन्दा पहिले ब्रोकर कम्पनीमार्फत अग्रिम चेक बुझाएर कर्जा तिर्नुपर्थ्यो। चेक बुझाएकै दिन वा भोलिपल्ट मात्रै बैंकले कर्जा चुक्ता भएको यकिन गरी शेयर फुकुवा (प्लेज रिलिज) गर्न सिडिएससीलाई सिफारिस गर्थ्यो। सिफारिस भएको भोलिपल्ट मात्रै सिडिएससीको सिस्टममा उक्त शेयर फुकुवा भएको अपडेट हुन्थ्यो।
यसको अर्थ,लगानीकर्ताले कर्जा तिरेको कम्तीमा दुईदेखि तीन दिनपछि मात्रै उसको टिएमएस खातामा शेयर बिक्रीका लागि उपलब्ध हुन्थ्यो। तर, शेयर बजारको गति यति तीव्र हुन्छ कि दुई दिनअघि बढेको शेयरको मूल्य पर्सिपल्टसम्म पुग्दा ह्वात्तै घटिसकेको हुन्थ्यो। आज नाफामा शेयर बेच्छु भनेर कर्जा तिरेको लगानीकर्ताले दुई दिनपछि शेयर फुकुवा भएर आउँदा घाटामा शेयर बेच्नुपर्ने वा होल्ड गरेर बस्नुपर्ने दर्दनाक बाध्यता थियो। प्राविधिक ढिलासुस्तीका कारण लगानीकर्ताले आफ्नो सम्पत्तिमाथि सही समयमा निर्णय लिन नपाउँदा करोडौँको नोक्सानी बेहोर्दै आएका थिए।

लगानीकर्ताको यही गुनासोलाई सम्बोधन गर्दै सिडिएससीले 'एपिआई' प्रणालीको विकास गर्यो। यो यस्तो डाटा आदानप्रदान गर्ने प्रविधि हो जसले सिडिएससी र ब्रोकरको टिएमएसलाई 'रियल टाइम' (तत्काल) मा जोड्छ। अब नयाँ व्यवस्था अनुसार, लगानीकर्ताले बैंकमा कर्जा चुक्ता गर्ने बित्तिकै कर्मचारीले आफ्नो सिस्टमबाट 'प्लेज रिलिज' (शेयर फुकुवा) को बटन थिच्छन्। बैंकले बटन थिचेको त्यही सेकेन्डमा सिडिएससी हुँदै ब्रोकरको टिएमएसमा लगानीकर्ताको शेयर 'फ्रि' (स्वतन्त्र) भएको देखाउँछ। अर्थात्, जुन दिन र जुन समयमा शेयर फुकुवा हुन्छ ठिक त्यही समयमा लगानीकर्ताले अनलाइनमार्फत आफ्नो शेयर बिक्री गर्न सक्छन्। यसले लगानीकर्तालाई बजारको उतारचढावबाट फाइदा लिन सक्ने ठूलो हतियार दिएको छ।
प्रविधि तयार भयो, सिडिएससीले बाटो पनि खुला गरिदियो। तर बजारमा अहिले दुई थरी लगानीकर्ता देखिएका छन्— एउटा, जसले फुकुवा भएकै दिन शेयर बेचिरहेका छन् र अर्को, जसले अझै पनि फुकुवा भएको शेयर टिएमएसमा आउन भोलिपल्टसम्म कुरिरहेका छन्। एउटै बजारमा यस्तो विभेद किन भइरहेको छ ? यस विषयमा सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने स्पष्ट पार्छन्, "हामीले हाम्रो तर्फबाट प्रणाली विकास गरेर सम्पूर्ण ब्रोकर कम्पनीहरूलाई एपिआई लिन र आफ्नो टिएमएसमा इन्टिग्रेट (जडान) गर्न आह्वान गरिसकेका छौँ। तर, हालसम्म जम्मा ५० प्रतिशत ब्रोकर कम्पनीहरूले मात्रै यो एपिआई सुविधा आफ्नो प्रणालीमा जडान गरेका छन्।"
प्रवक्ता न्यौपानेका अनुसार, जुन ५० प्रतिशत ब्रोकर कम्पनीले यो प्रविधिलाई आत्मसाथ गरेर आफ्नो टिएमएस अद्यावधिक गरेका छन्, ती ब्रोकरमार्फत कारोबार गर्ने लगानीकर्ताले शेयर फुकुवा भएकै दिन, सोही क्षण शेयर बिक्री गर्न पाइरहेका छन्। "तर, एपिआई नलिएका र सिस्टम अपडेट नगरेका बाँकी ५० प्रतिशत ब्रोकर कम्पनीका लगानीकर्ताले भने पुरानै समस्या भोगिरहेका छन्। उनीहरूले शेयर बेच्न अझै पनि अर्को दिन कुर्नुपर्ने बाध्यता छ," न्यौपानेले भने।
सिडिएससीले सहज रूपमा एपिआई उपलब्ध गराउँदा पनि किन आधा ब्रोकरहरूले यसलाई जडान गर्न आनाकानी गरिरहेका छन् ? जानकारहरूका अनुसार, यसमा ब्रोकर कम्पनीहरूको प्राविधिक ढिलासुस्ती र टिएमएस भेन्डर (सफ्टवेयर प्रदायक कम्पनी) सँगको समन्वयको अभाव मुख्य कारण हो। कुनै पनि नयाँ एपिआई जडान गर्न ब्रोकर कम्पनीले आफ्नो टिएमएस भेन्डरलाई निर्देशन दिनुपर्छ र त्यसको प्राविधिक परीक्षण गर्नुपर्छ। कतिपय ब्रोकर कम्पनीहरूले प्रविधि स्तरोन्नतिमा पर्याप्त चासो नदिँदा वा लगानी गर्न नचाहँदा लगानीकर्ताले दुःख पाइरहेका हुन्।
एउटै बजारमा कारोबार गर्दा कुनै ब्रोकरका ग्राहकले तत्काल शेयर बेच्न पाउने र कुनै ब्रोकरका ग्राहकले दुई दिन कुर्नुपर्ने अवस्थाले बजारको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। यो समस्या समाधानका लागि अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपिआई जडान नगर्ने ब्रोकर कम्पनीहरूलाई तत्काल प्रणाली अद्यावधिक गर्न कडा निर्देशन दिनुपर्ने माग आम लगानीकर्ताहरूले गर्न थालेका छन्। प्रविधिले दिएको सुविधाबाट कुनै पनि लगानीकर्ता ब्रोकरको कमजोरीका कारण वञ्चित हुनु न्यायसंगत देखिँदैन।