दीपक भट्ट संलग्न कम्पनीको संस्थापक सेयरधनी विवरण माग्दै सम्पत्ति शुद्धीकरण विभागको सूचना

Apr 30, 2026 02:04 PM Merolagani



सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेको कम्पनीहरूको संस्थापक सेयरधनी सम्बन्धी विवरण माग गरेको छ।

विभागले भट्ट संलग्न विभिन्न कम्पनीका संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूसँग सम्बन्धित सम्पूर्ण विवरण पेस गर्न सार्वजनिक सूचना जारी गरेको हो। अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक विवरण संकलन गर्न यो सूचना जारी गरिएको विभागले जनाएको छ।

सूचनाअनुसार नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी तथा हिमालयन रिइन्सुरेन्स कम्पनीको संस्थापनाकालमा संस्थापक सेयर खरिद गरेका व्यक्तिहरूको विवरण माग गरिएको छ।

विभागका अनुसार बिमा प्राधिकरणबाट अनुमति लिने क्रममा संस्थापक सेयर खरिदकर्ताले चुक्ता पूँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत विभिन्न व्यक्ति वा संस्थाका बैंक खातामा जम्मा गरेको रकमसम्बन्धी विवरण आवश्यक परेको छ।

सूचनामा “कति रकम, कसको नाममा रहेको, कुन बैंक तथा वित्तीय संस्थाको कुन खातामा जम्मा गरिएको हो” भन्ने सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन आग्रह गरिएको छ।

विभागले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित भई वा आवश्यक कागजातसहित विवरण बुझाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।