नेपाली भान्सामा चाउचाउको बढ्दो वर्चस्व : स्वाद, बजार र संस्कृतिको संगम

May 07, 2026 11:06 AM mero lagani



चाउचाउ नेपालीको मुख्य आहारा होइन, तर मुख्य आहारा भन्दा कम छैन । बिहान–साँझ अधिकांश नेपालीका भान्छामा भात, रोटी, ढिँडो नै पाक्छ । 

तर, दिउँसोमा भने धेरैको रोजाई चाउचाउ बन्ने गरेको छ । चिउरा, रोटी, मकै–भटमास जस्ता परम्परागत खाजा (अर्नी)लाई चाउचाउले विस्थापित गर्दै लगेको छ ।

बिना झन्झट सजिलै छिटो पकाउन सकिने, काँचै खाए पनि हुने, साँधेर खाए पनि हुने चटपटे स्वाद, सस्तो भएकाले चाउचाउको बजार हिमालदेखि तराईसम्मै बढेको छ ।

 

यो आलेखमा चाउचाउ किन यति लोकप्रिय भयो र नेपालमा चाउचाउ उद्योगको समग्र अवस्था कस्तो छ भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

चाउचाउ इतिहासदेखि वर्तमानसम्म

अनुसन्धानकर्ताहरुका अनुसार ४ हजार वर्षअघि नै चीनमा चाउचाउ खाने प्रचलन थियो । त्यो अहिलेको जस्तो गहुँको थिएन, बरु कोदोबाट बनेको थियो ।

आधुनिककालमा सन् १९५८ मा जापानी व्यवसायी मोमोफुकु एण्डोले तयारी चाउचाउको आविष्कार गरेका थिए । उनको कम्पनी निसिनले सोही वर्षदेखि तातोपानीमा डुबाएको दुई मिनेटमै खान मिल्ने ‘चिकेन रामेन’ नामक चाउचाउ बिक्री गर्न शुरु गरेको थियो ।

जापानमा चाउचाउको महत्व र लोकप्रियता कतिसम्म छ भन्ने कुरा नयाँ शताब्दी शुरुवात भएको उपलक्ष्यमा सन् २००० मा गरिएको एउटा सर्वेक्षणले स्पष्ट पार्छ । १० हजार जापानीहरुका बीचमा गरिएको सर्भेक्षणमा सहभागीहरुले २०औं शताब्दीको जापानको सबैभन्दा उत्कृष्ट आविष्कारकारुपमा चाउचाउलाई छानेका थिए । जबकी उक्त शताब्दीमा जापानले प्रविधिको क्षेत्रमा फड्को मारेको थियो, वाकमेन, घडी, क्यामेरादेखि कम्प्युटर र सवारी साधनसँग सम्वन्धित अनेकौं आविष्कार गरेको थियो ।

 छाउछाउबाट चाउचाउमा रुपान्तरण हुँदाको कथा

नेपालको सन्दर्भमा विसं २०३४ मा सरकारी स्वामित्वको कम्पनी नेशनल ट्रेडिङले गोरखापत्रमा चीनबाट आयात गरेको सिन्के ‘छाउछाउ’ बनाउने मेशिन बिक्री गर्नको लागि विज्ञापन गरेको थियो ।

विज्ञापन हेरेपछि पोखराका होटल व्यवसायी कृष्ण आचार्य र भूतपूर्व लाहुरे फणिन्द्रमान श्रेष्ठले मिलेर ९ हजार रुपैयाँमा मेसिन किनेर सिन्के ‘छाउछाउ’ उत्पादन शुरु गरे । तर, यो व्यवसाय खासै चलेन ।

‘छाउछाउ’ले त्यतिबेला उपभोक्ताको मन जित्न नसकेपनि त्यसले भविश्यमा तहल्का पिट्ने कुरामा भने उनीहरु विश्वस्त थिए । त्यहीक्रममा आफूहरुको लगानीले मात्र नपुग्ने भएपछि उनीहरुले पोखराकै व्यवसायीहरु सूर्यबहादुर केसी, सुशील गोसली र भूतपूर्व ब्रिटिश आर्मी पूर्णबहादुर गुरुङ सहितका झण्डै पाँच दर्जन व्यक्तिबाट शेयर लगानी गरेर करीब ५० लाख लगानीमा गण्डकी नुडल्स प्रालि नामक उद्योग स्थापना गरे ।

 

उद्योगले २०३९ माघ २३ देखि उत्पादन थाल्यो, रारा चाउचाउको नाममा । शुरुमा ‘रारा छाउछाउ’ नाम राखिए पनि नेपालीहरुलाई छाउछाउ भन्ने उच्चारण गर्न भन्दा चाउचाउ उच्चारण गर्न सजिलो हुने देखेर यो उत्पादनको नाम नै रारा चाउचाउ भनेर लेखिएको संस्थापकमध्येका एक आचार्यले केही समय अगाडि बताएका थिए ।

यसरी ‘रारा छाउछाउ’ चाउचाउमा परिणत भएपछि त्यसपछि आएका हरेक कम्पनीहरुले चाउचाउ नै भन्न थाले । यसरी नेपाली चाउचाउ उद्योगको एउटा इतिहास छाउछाउ शब्द नै लोप भयो ।

आचार्यका अनुसार जापानबाट मेशिन ल्याउँदा उत्पादकले नै तीन–चार स्वादका चाउचाउ उत्पादन गर्न सकिने तरिका बताएका थिए । त्यसमध्ये, सुप नमिसाइएको सेतो रंगको कम तिख्खर स्वाद राखेर रारा तयार गरिएको थियो । त्यसैलाई मानक मानेर अधिकांश चाउचाउ उद्योगले अहिले पनि स्वादको लागि विभिन्न रंग र सुगन्धहरु प्रयोग गरे पनि वास्तविक रंग भने सेतो नै प्रयोग गर्ने गरेका छन् । गण्डकी नुडल्सले त्यतिबेला प्रति प्याकेट मूल्य ३ रुपैयाँ ५० पैसा राखेको थियो । त्यतिबेला दैनिक २३ हजार प्याकेट चाउचाउ उत्पादन गर्ने गरेको उद्योगले अहिले दैनिक ४५ लाख प्याकेट बिक्री गर्ने गरिरहेको उद्योगसँग सम्वन्धित अधिकारीहरु बताउँछन् ।

गण्डकी नुडल्सको रारा चाउचाउ उत्पादन शुरु गरेको करिब २ वर्षपछि विसं २०४१ मा चौधरी समूहले थाइल्याण्डको एशियन थाई फुड्सको लोकप्रिय ब्राण्ड वाईवाईलाई नेपाल भित्र्यायो ।

राराभन्दा फरक चटपटे स्वादको खैरो र सुप मिसाइएको वाईवाई नेपाली जिब्रोले यति रुचायो कि, यसले बजारमा वर्चश्व मात्र जमाएन विनोद चौधरीलाई ‘डलर अर्बपति’ नै बनाइदियो ।

अहिले चौधरी ग्रुपले ललितपुरको भैसेपाटी र नवलपुरको चौधरी उद्योग गाउँको साथै भारतको सिक्किम, आसाम, उत्तराखण्ड, विहार, आन्ध्र प्रदेश, बंगलादेश र सर्वियामा वाईवाई चाउचाउ उत्पादन गर्दै आएको छ ।

दुई दशकअघि अर्काे व्यवसायिक घराना खेतान समूहले पनि थाई एक कम्पनीसँगकै सहकार्यमा मायोज ब्राण्डमा चाउचाउ उत्पादन थालेको थियो । तर यो ब्राण्डले अपेक्षित सफलता प्राप्त नगरेको कम्पनीकै अधिकारीहरु स्वीकार गर्छन ।

पछिल्लो समय यसोदा फुट्सले बजारमा ल्याएको पिरो स्वादको करेण्ट चाउचाउले चाउचाउको पारखी रहेका खासगरि युवाहरुलाई निकै आकर्षित गरिरहेको छ ।

चाउचाउले नेपालको बहुआयामिक क्षेत्रमा पारेको असर

चाउचाउ नेपालीको खाजा मात्र होइन, यो नेपालीको एक प्रकारको संस्कृति नै बनेको छ र यसले रोजगारी सृजनालगायत अनेक क्षेत्रमा प्रभाव पारेको छ ।

जानकारहरुकाअनुसार नेपालमा शुरु शुरुमा चाउचाउ मंगोलियनमूलका मानिसहरुबीच लोकप्रिय थियो । अरु समुदायका मानिसहरु के हो के ? भन्ने आशंका गर्दै खान असजिलो मान्थे भने बाहुन समुदायका मानिसहरुबीच यसलाई ‘बाहुनले खान नहुने’ वस्तुकोरुपमा लिइन्थ्यो ।

त्यहीकारण गण्डकी नुडल्सले शुरुआतमा चाउचाउको बिक्री बढाउन काठमाडौंको थापाथलीमा चाउचाउ पकाएर बिक्री गर्ने रेस्टुँरा नै शुरु गर्यो । अन्यत्र पनि चाउचाउ पकाउने विधि सिकाउन ‘डेमो’हरु देखाइएको थियो ।

५० को दशकमा एकातर्फ माओवादी जनयुद्ध शुरु हुनु र अर्काेतर्फ नेपाल टेलिभिजनको नेटवर्क काठमाडौं बाहिरका प्रमुख शहरी क्षेत्रहरुमा विस्तार हुनु चाउचाउ उद्योगको लागि सुनौलो मौका बन्यो । माओवादी लडाकुहरुले सजिलो खाद्य पदार्थको रुपमा चाउचाउलाई देशको कुना कुनामा पुर्याए भने नेपाल टेलिभिजनका पर्दामा देखाइने आकर्षक विज्ञापनहरुले उपभोक्तालाई सजिलै लोभ्यायो ।

देशभित्र टेलिभिजनसमेत शुरु नभएको त्यस बेला यो कम्पनीले बम्बई पुगेर विज्ञापन बनाएर ल्याई सिनेमा हलमा देखायो । शम्भुजित बाँस्कोटाको संगीतमा बनेको विज्ञापन आर ए आर ए रारा नामक विज्ञापन नेपालको चाउचाउ उद्योगको लागि मात्र होइन विज्ञापन उद्योगको लागिसमेत एउटा ‘माइलस्टोन’ मानिन्छ ।

५० कै दशक ग्रामीण क्षेत्रमा सडक निर्माणमा आएको व्यापकतासँगै शहरबाट झिलिमिली प्याकेटमा चाउचाउ बोकेर साना, ठूला ट्रक गाउँगाउँ पुग्न थाले । चाउचाउ एकाएक ग्रामीण समाजका मानिसहरुको दैनिक जीवनको अभिन्न पाटो बन्न पुग्यो ।

अहिलेसम्म चाउचाउ उद्योगमा लगानीको अवस्था के छ ? त्यो एकिन भन्न नसकिने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेल बताउँछन् । चाउचाउका सामान्य घरेलु उद्योगहरु ठूलो संख्यामा देशका कुनाकुनामा रहेकोले त्यस्तो अवस्था सृजना भएको हो ।

रोजगारीको अवस्था पनि त्यस्तै हो । करोडौं लगानी गरेका केही सिमित ठूला उद्योगहरुले प्रत्यक्ष, अप्रत्यक्षरुपमा झण्डै २० हजार मानिसहरुलाई रोजगारी दिएको र साना तथा घरेलु उद्योगहरु चलाएर स्वरोजगार बनिरहेका तथा उनीहरुले स्थानीय स्तरमा सृजना गरेका रोजगारका अवसरहरुलाई आंकलन गर्दा त्यो १ लाखको संख्या भन्दा धेरै पुग्ने विश्लेषकहरु बताउँछन् ।

चाउचाउ उद्योग संचालन हुनुको अर्थ केवल एउटा उद्योग संचालन हुनु मात्र होइन, कृषि क्षेत्रमा टेवा पुर्याउनु पनि हो । चाउचाउको मुख्य कच्चा पदार्थकोरुपमा रहेको गहुँ, खुर्सानी, बेसारलगायतका उत्पादन र बिक्री वितरणमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नेपाली उत्पादनले नपुगेर भारतसहित विभिन्न देशबाट मगाउनु पर्ने वाध्यता रहेको व्यवसायीहरु बताउँछन् । गहुँ, खुर्सानी, बेसारहरु केही मात्रामा नेपाली किसानबाटै प्राप्त हुने भए पनि मसलाजन्य सामाग्रीहरु लगभग सबैजसो भारत र चीनबाट मगाउनु पर्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।

 बजारको आकार र खपतको अवस्था

विश्व तयारी चाउचाउ संघ (WINA) को पछिल्लो प्रतिवेदन अनुसार सन् २०२५ विश्वमा करिब ५२ अर्ब २० करोड डलर (नेपाली रुपैयाँ करिब ८ खर्ब २८ अर्ब)को चाउचाउको कारोबार भएको थियो । अबको चार वर्ष भित्र अर्थात् सन् २०३० सम्म त्यो बढेर १ खर्ब २ अर्ब डलरको कारोबार पुग्ने अनुमान गरिएको उक्त संघले जनाएको छ ।

यो तथ्याँकबाट विश्वमा तयारी चाउचाउको विश्व बजार कसरी बढिरहेको छ भन्ने स्पष्ट हुन्छ ।

उत्पादन र खपतको दृष्टिले सन् २०२५ मा विश्वभर १ खर्ब २५ अर्ब ७ करोड प्याकेट चाउचाउ उत्पादन र खपत भएको थियो । जसमा सबैभन्दा धेरै चीनमा ४३ अर्ब ८ लाख प्याकेट, इण्डोनेशियामा १४ अर्ब ७ लाख प्याकेट, भारतमा ८ अर्ब ३ लाख प्याकेट, भियतनाममा ८ अर्ब १ लाख प्याकेट, जापानमा ५ अर्ब ९ लाख प्याकेट, फिलिपिन्समा ४ अर्ब ५ लाख प्याकेट, दक्षिण कोरिया तथा थाइल्याण्डमा समान ४ अर्ब १ लाख प्याकेट उत्पादन भएको थियो ।

नेपाल विश्वमा प्रतिव्यक्ति चाउचाउ खपत गर्ने अग्रणी देशहरू मध्ये एक हो । विश्व तयारी चाउचाउ संघ (WINA) का अनुसार सन् चाउचाउ २०२५ मा उत्पादन र खपतको हिसाबले नेपाल विश्वको १५ औं ठूलो देश हो । प्रतिव्यक्ति खपतको आधारमा भने नेपाल विश्वको चीन र भारतभन्दा धेरै अगाडि भियतनाम, दक्षिण कोरिया र थाइल्याण्ड पछि चौथो नम्बरमा पर्छ । वार्षिक प्रति व्यक्ति भियतनाममा खपत ८० प्याकेट, दक्षिण कोरियामा ७५ प्याकेट र थाइल्याण्डमा ५७ प्याकेट छ भने नेपालमा ५३ देखि ५५ प्याकेट छ ।

नेपालमा वार्षिक करिब १ अर्ब ६० करोड प्याकेट चाउचाउ खपत हुने गरेको अनुमान छ । नेपालमा आन्तरिक उत्पादनको साथै चीन, भारत, दक्षिण कोरिया, थाइल्याण्डलगायतका देशहरुबाट पनि आयात हुन्छ । नेपाली चाउचाउ भारत, भुटान, अष्ट्रेलिया, अमेरिका, र युरोपेली देशहरूमा समेत पुगेको छ । ‘नेपालमा चाउचाउको उत्पादन र खपत प्रकृया बडो अनौठो छ,’ करेण्ट चाउचाउको उत्पादक यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेल भन्छन् ।

उनकाअनुसार कतिपय विदेशीहरुलाई नेपाली स्वाद मन पर्छ र व्यवसायीहरुले यहाँको चाउचाउ मगाउँछन्, कतिपय नेपालीलाई विदेशी कम्पनीका चाउचाउको स्वाद मन पर्छ र उताबाट मगाउँछन् । आफ्नो देशको उत्पादनभन्दा विदेशी उत्पादनमा स्वाद र गुणस्तर राम्रो मान्ने प्रवृत्तिले पनि नेपालको चाउचाउ बजार प्रभावित छ ।

 

 




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।