कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरुदेखि नै लकइनसम्बन्धी सबै नियमहरूको कडाइका साथ पालना गरिएको उल्लेख गर्दै यस्ता अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।
कम्पनी–सचिव सुन्दरबहादुर सेनीले जारी गरेको विज्ञप्तिअनुसार कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग संस्थापक शेयरको अद्यावधिक विवरण माग गरेको थियो। प्राप्त विवरणअनुसार संस्थापक तथा कर्मचारी समूहका कुल २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता शेयर २०८३ जेठ ४ सम्म लकइनमै रहने पुष्टि भएको छ। हाल कम्पनीका कुल जारी शेयरमध्ये ९०.४० प्रतिशत शेयर लकइन अवस्थामै रहेको पनि जनाइएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा हकप्रद शेयर जारी गरिएको र बिक्री नभएको बाँकी शेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार लिलाम प्रक्रियामार्फत बिक्री गरिएको जानकारी दिएको छ। उक्त प्रक्रियामा लगानीकर्ताहरूले न्यूनतम अंकित मूल्य १०० रुपैयाँभन्दा माथि आफ्नै मूल्यांकनअनुसार बोलकबोल गरी शेयर खरिद गरेका थिए। साथै, लिलामअघि सार्वजनिक सूचनामार्फत संस्थापक र कर्मचारी समूहका शेयर तोकिएको मितिसम्म लकइनमै रहने जानकारी स्पष्ट रूपमा दिइएको थियो।
कम्पनीले सबै नियामकीय प्रावधान पूरा गरी काम गरेको दाबी गर्दै हाल प्रकाशित भइरहेका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता आधारहीन सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने पनि कम्पनीले चेतावनी दिएको छ।