प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संख्याको दम्भमा विधि मिच्ने काम भइरहेको भन्दै जनताको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गरे । दाहालले सरकारले संसद स्थगित गरेर जनप्रतिनिधिलाई छल्दै अध्यादेशमार्फत शासन चलाउने प्रयास गरेको भन्दै त्यस्तो कार्य स्वीकार्य नहुने बताए । उनले सरकारमाथि आलोचना गर्नेहरूमाथि धरपकड र गिरफ्तारी गर्दै प्रतिशोध साँध्ने काम गरिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘ संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । तपाईहरुलाई जनताले विश्वास गरेका छन् । त्यो विश्वास विधि बलियो बनाउनेतर्फ लगाउनुस् । आफैंले बोलाएको संसद स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नुभयो, जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धती र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ? हिजो पुराना दलहरु सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो । तर आज तपाईहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने कामगर्दै हुनुहुन्छ । सम्पत्ति विवरणबारे जनस्तरबाट प्रश्न उठेपछि त्यसको पारदर्शि जवाफको अपेक्षा जनताले गरेका थिए तर तपाईहरु त्यसलाई ढाकछोप गर्नतिर लाग्नुभयो । पत्रकार र युट्युबरहरूलाई आलोचना गरेकै आधारमा पक्राउ गर्नुभयो ।’
उनले पुराना दल सबै गलत भन्दै आएको सरकार स्वयं स्वेच्छाचारिता र संसद् छल्ने अभ्यासमा लागेको उनको आरोप छ ।