गत साता करिब १४ अंक घटेको नेप्से, यस साता के होला?

May 18, 2026 06:16 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १४ अंक घटेर बन्द भएको छ। अघिल्लो साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.५० प्रतिशत अर्थात १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द भएको हो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। गत साताका अधिकांश दिनमा नेप्सेमा खासै ठूलो उतारचढाव भएको छैन र भोल्यूम पनि कम रहेको छ। चार्टको बनोट अनुसार नेप्से अहिले ‘बटमिङ्ग आउट’ को प्रक्रियामा छ। यदि यस साता बजार २७०० देखि २७२० को क्षेत्रमा केही दिन स्थिर रहन्छ भने बलियो फण्डामेन्टल र राम्रो लाभांश क्षमता भएका कम्पनीहरुको एकुमुलेशन हुने देखिन्छ।

बियरिश प्रेशर

मुभिङ्ग एभरेज रेखाहरुले बजार छोटो अवधिको बियरिश प्रेशर प्रष्ट देखाएका छन्। नेप्से अहिले १० दिने एसएमएमए र २५ दिने एसएमएमए दुबैभन्दा तल झरेको छ। बजार बढ्न खोज्दा यी दुई रेखाहरुले तत्कालको लागि बलियो अवरोधको काम गरिरहेका छन्। त्यस्तै, नेप्से ५० दिने एसएमएमएभन्दा थोरै मात्र तल छ भने १०० दिने एसएमएमएभन्दा माथि नै छ। १०० दिनको यो रेखा बजारका लागि ‘पिभोट पोइन्ट’ बन्दै आएको छ।

बिक्री चाप सुख्खा

बजारमा कारकोबार रकम निकै कम भएको छ। २० दिने औषत भोल्यूमभन्दा साताको अन्तिम कारोबार दिनको भोल्यूम निकै तल रहेको छ।

बियरिश मोमेन्टम कमजोर हुँदै

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा छन्। त्यस्तै, हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा छ। यद्यपि, यसको आकार विस्तारै घट्न थालेको, जसले बजारमा बियरिश मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

ओभरसोल्ड जोन

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनमा रहेको छ। स्टकास्टिक आरएसआई यो लेभलमा पुगेपछि बजारमा छिट्टै एउटा राम्रो ‘टेक्निकल बाउन्स’ आउने गर्छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)