तर, त्यति मात्रै होइनन् । उनका अस्वभाविक गतिविधि, अस्वभाविक मौनताले उनी केवल प्रधानमन्त्री मात्रै हुन कि अरु नै केही ? यो प्रश्न अहिले उनको आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि विभिन्न राजनीतिक पार्टीका नेताहरु र उच्च पदस्त कर्मचारीहरुदेखि न्यायाधीशहरु मात्रै होइन, स्वदेशी विदेशी कुटनीतिक क्षेत्रका व्यक्तिहरु पनि अन्योलमा परेका छन् ।
उनी प्रधानमन्त्री हुन्—तर, संसद वैठकमा जाँदैनन् ।
उनी रास्वपा संसदिय दलका नेता हुन्—तर दलको बैठकमा जाँदैनन् ।
उनी रास्वपाको वरिष्ठ नेता हुन्—तर पार्टी बैठकमा जाँदैनन् ।
उनी गृहमन्त्री पनि हुन—तर गृहमन्त्रालय जाँदैनन् ।
प्रधानमन्त्री बनेको झण्डै २ महिना बितिसकेको छ, तर उनी प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्किएका छैनन् । अर्थात् औपचारिक कार्यक्रमहरुमा सहभागि भएका छैनन् । विगतमा जस्तो प्रधानमन्त्री निवासलाई भेटघाटको स्थल बनाएका छैनन् । अधिकांश भेटघाट प्रधानमन्त्री कार्यालयमै गर्छन् र केही अति नजिकका मानिसहरुलाई मात्र निवासमा भेट्ने गरेका छन् ।
विगतमा सरकार फेरिएपछि भएपछि बालुवाटार र सिंहदरबारमा भेटघाट गर्ने र बधाई दिनेहरुको लर्काे लाग्थ्यो । खासगरि व्यवसायिक क्षेत्रका मानिसहरुको बधाई थाप्न भ्याईनभ्याई हुन्थ्यो ।
तर, यस पटक त्यस्तो देखिएको छैन । उनले अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर र ट्रम्पका दूत सर्जियो गोर १० दिनको बीचमा अलग अलग रुपमा भ्रमण गरे । तर, प्रधानमन्त्री बालेनले उनीहरुलाई भेटेनन् । जवकी विगतमा कुनै विदेशी उच्च अधिकारी आउँदा प्रधानमन्त्रीलाई नभेटेको घटना सम्भवतः थिएन । तर, बालेनले यसपटक भेटेनन् ।
उनीहरुलाई नभेटेको मात्र होइन, कुनै पनि राजदूतहरुलाई एक्ला एक्लै भेटेका छैनन् । कम्तिमा त्यस्तो समाचार सार्वजनिक भएको छैन । भेट्न चाहाने राजदूतहरुलाई पनि उनले अहिले कुनै एजेण्डा नभएको, छलफलको एजेण्डा भएमा भेट्ने तर केवल बधाई लिनको लागि नभेट्ने जवाफ दिने गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोत बताउँछ ।

नेपाल आउन लागेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग समेत भेट्न रुचि नदेखाएपछि उनको भ्रमण पछाडि धकेलिएको बताइएको छ । मिश्री प्रधानमन्त्री बालेनको भारत भ्रमणको निम्तो दिनकै लागि नेपाल आउने तयारी गरे पनि बालेन नै भेट नदिनेपछि आउन हच्किएको बताइएको छ । योसँगै उनको भारत भ्रमण पनि अनिश्चित भएको छ भने अरु देशको भ्रमणको पनि टुंगो लागेको छैन ।
उनी आफ्नै पार्टीका उच्च नेताहरु र मन्त्रीहरुलाई समेत सहजरुपमा भेट दिने गरेका छैनन् । केही समय अघि सांसद दीपक बोहोरालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार भेट्न पुगेका रास्वपा सभापति रवि लामिछानेलाई झण्डै एक घण्टा कुर्याएर १० मिनेट भेटेका उनले कुराकानीको बीचमै उठेर हिँडेको र पछि ‘सुकला भइसकेको’ खबर पठाएको समाचार सार्वजनिक भएको थियो । सभापति लामिछाने त प्रधानमन्त्रीलाई भेट पाउन यस्तो अवस्था छ भने अरुको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।
प्रधानन्यायाधीश नियुक्त गर्दा होस् कि उपसभामुख नियुक्ति गर्दा होस्, सुकुम्बासी बस्ती खाली गर्न देखाइएको निर्ममता होस् वा आब्हान भइसकेको संसद बैठक स्थगित गरेर अध्यादेशहरु जारी गर्दा होस् वा राजनीतिक नियुक्ति लिएका झण्डै १५ सय मानिसहरुको नियुक्ति खारेज गर्दा होस्, प्रधानमन्त्री बालेनले कार्यकारी प्रधानमन्त्रीको ‘कडा अनुहार’ मात्र देखाएका छैनन्, शासन संचालनको फरक शैली अपनाएको देखिएको छ । उनको त्यो फरक शैली निरंकुशता उन्मुख भएको, सैनिक शासनलाई निम्त्याउन खोजेको, संसदीय मूल्य र मान्यता विपरित भएको, संघीयता विरोधी भएको गरिबमारा भएको आदी इत्यादी अनेक कोणबाट विरोध भइरहेको छ ।
ती विरोधका स्वरहरुमा कति सत्यता छ ? त्यो विश्लेषकहरुले जान्ने कुरा हो, धेरै हदसम्म समयक्रममा खुल्दै जाने रहस्यहरु हुन् ।
तर, अहिले तत्काल देखिएको वास्तविकता के हो भने बालेन को हुन् ? र उनले गर्न खोजेको के हो ? उनले अपनाउन खोजेको शासनको ‘मोडालिटी’ कस्तो हो ? अन्तराष्ट्रिय सम्वन्ध कस्तो हो ? भन्ने बुझन् नसकेर विपक्षी राजनीतिक पार्टीका नेता कार्यकर्ता मात्र होइन, स्वंय सभापति लामिछानेसहितका रास्वपाकै नेता कार्यकर्ता, उच्च पदस्त सरकारी अधिकारी र विदेशी कुटनीतिज्ञहरुसमेत विलखवन्दमा परिरहेका छन् भन्नेमा भने कुनै शंका छैन ।