सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Jun 11, 2026 10:12 AM Merolagani



सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज (जेठ २८ गते), बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँबराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ८५ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा १७ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याई बाँकी रहेको ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले जेठ २८ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा असार २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असार ११ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नेपाल लाइफ क्यापिटल रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ पुस ८ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ माघ ३ गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

सर्वोत्तम पेन्टस् ईण्डष्ट्रिज २०७१ माघ ९ गते प्रा.लि.को रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७९ असार ३१ गतेदेखि प्रा.लि.बाट पब्लिक लिमिटेडमा परिणत भई कारोबार सञ्चालन गरिरहेको छ। सो सम्बन्धमा नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयको २०७९ असार ३० गते पत्र प्राप्त भएको थियो।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रचलित कानुन तथा नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी २०७१ माघ ९ कारोबार सञ्चालन गर्ने आधिकारिक स्वीकृति प्राप्त गरेको थियो र सोही स्वीकृतिको आधारमा कम्पनीले आफनो व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दै आएकोे छ।

कम्पनीको रजिष्टर्ड कार्यालय (कर्पोरेट कार्यालय) कैलाली जिल्ला, गोदावरी नगरपालिका वडा नं. २ (साविकको मालाखेती गा.वि.स. वडा नं. ४) मा रहेको छ। आवश्यकता अनुसार स्वीकृति लिई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न र नेपाल भित्र वा विदेशमा समेत शाखा कार्यालय खोल्न सकिनेछ।

कम्पनीले कैलाली जिल्लाको साविकको मालाखेती गा.वि.स.वडा नं.४ हाल गोदावरी नगरपालिका वडा नं.२ मा विभिन्न रङ उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यको उद्योग स्थापनार्थ प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन नेपाल सरकार, उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभागबाट २०७२ असार ३० गते स्वीकृत प्राप्त गरेको थियो। यसको पेटेण्ट, डिजाईन ट्रेडमार्क ऐन, २०२२ को दफा १८ बमोजिम ब्रान्डनेम ‘सर्वोत्तम पेन्ट्स’ रहेको छ।

कम्पनीले २०७४ सालमा आफ्नो टिन्टिङ्ग सिस्टम र जी–डाटा विकास गर्दै एउटा अटोमेटिक र १२ वटा म्यानुअल मेशिनहरु सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउँका डिलरहरुमा जडान गरी ग्राहकको रोजाई अनुसारका रङहरु तयार गर्ने गरेको छ। सोही वर्षको अन्ततिर कम्पनीले सुदुरपश्चिम प्रदेश बाहिर कर्णाली, लुम्बिनी तथा बागमती प्रदेशको काठमाडौंसम्म डिलर सञ्जाल विस्तार गरी डिलर टिन्टिङ्ग मेसिनको संख्या ६० वटा अटोमेटिक तथा ६५ वटा म्यानुअल मेशिनहरु मार्फत ग्राहकको रोजाईका रङहरु उपलब्ध गराई रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, संकलित पूँजीलाई परिचालन गरी उद्योगको क्षमता विस्तार गर्न तथा निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन गर्दै विदेशी मुद्रा भित्राउन कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई कम्पनीले हेटौँडा औद्योगिक क्षेत्र तथा गोदावरी नगरपालिका, हरैया, कैलालीमा भवन निर्माण, मेशिन तथा उपकरण खरिद र जडान कार्य गर्न र सामान ओसारपसार तथा ढुवानीका साधन खरिद गर्न प्रयोग गरिनेछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ २४ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ४ करोड १८ लाख ५४ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा २ करोड ५९ लाख ३४ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ १७ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५८ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड १० लाख २ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३१ पैसा र प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ९४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम (२७) मा भएको व्यवस्था अनुसार पाँच सदस्यीय सञ्चालक समिति गठन हुने व्यवस्था रहेको छ। जसमा संस्थापक समूहबाट तीनजना तथा सर्वसाधारण समूहबाट एकजना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा चारजना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिव सिंह कार्की रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा लक्ष्मी दत्त पाण्डेय रहेका छन् भने प्रबन्ध सञ्चालक नविन प्रसाद भट्ट र स्वतन्त्र सञ्चालकमा कमलेश पाण्डेय रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीले उत्पादन विविधिकरण गर्ने, अन्तर्राष्ट्रिय स्तरको पेन्ट स्वदेशमै उत्पादन गरी आयातलाई प्र्रतिस्थापन गर्ने तथा आन्तरिक कच्चा पदार्थका स्रोतहरु पहिचान गरी विदेशी कम्पनी माथिको निर्भरतालाई न्यूनिकरण गर्ने रणनीति लिएको छ। कम्पनीको आफ्नो नाममा सम्पत्ति खरिद गरी स्वचालित प्रणालीको उपकरणहरु जडान गरी उद्योग क्षमता विस्तार गर्ने तथा भौगोलिक दृष्टिकोणले औद्योगिक केन्द्र मानिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्ने साथै देशका उपयुक्त अन्य स्थानमा शाखा खोली सञ्चालन गर्ने योजना राखेको छ। कम्पनीको मुख्य उद्देश्य नेपालको पेन्ट उद्योगको क्षेत्रमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने, प्लान्ट तथा उत्पादन क्षमतालाई वृद्धि गर्ने तथा सोहि अनुसार बजार विस्तार गर्ने र गुणस्तरीय उत्पादनलाई प्राथमिकतामा राखी देशको आर्थिक विकासमा योगदान पुर्‍याउने रहेको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।