बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उनले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने बताए । अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोईरालाको मृत्युबारे उठेका शङ्काको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरे । उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानविन आवश्यक रहेको बताए । निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उनले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए । साथै उनले टिकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसंग आग्रह गरे ।
उनले भने, ‘हिजो मात्रै नयाँ र पुनर्नियुक्त भएका गृहमन्त्री दुई तीनवटा विषय मध्येमा एउटा विषय राख्नुभयो– राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ । त्यसको हामी स्वागत गर्छौं । यो छानबिन एकदमै सजिलो हिसाबले यहाँका केही मान्छेहरूलाई राखेर अझ त्यसलाई छुट दिने हिसाबले छानबिन गरियो भने यसको कुनै अर्थ छैन । हामीले सुनेका छौँ, यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू शक्ति केन्द्रहरूको पनि यहाँ भूमिका छ । तसर्थ अब अन्तर्राष्ट्रिय विज्ञहरूलाई पनि राखेर छानबिन होस् । किन यो दरबार हत्याकाण्ड मात्रै ? मदन भण्डारी हत्याको पनि छानबिन होस् । किन नगर्ने ? पटक पटक राष्ट्रपति भएको छ, पटक पटक प्रधानमन्त्री भएको छ। त्यही पार्टीको, किन अहिलेसम्म छानबिन हुँदैन ? त्यो हत्या भनेर पटक पटक भनेको छ, त्यसको सही उत्तर किन आउँदैन ? त्यो पनि छानबिन होस् । त्यस्तै गरेर सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको हो, उहाँको पनि छानबिन होस् । राजनीतिक व्यक्तित्वहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय कुराहरूले गर्दाखेरि विभिन्न कुराहरू हामीले सुनेका छौँ, त्यसको पनि सही छानबिन होस् । राजनीतिक व्यक्तित्वको मात्रै छानबिन होइन, निर्मला हत्याकाण्ड अहिलेसम्म छानबिन भएर त्यसको बाहिर ल्याउन सकिएको छैन, अब उहाँहरूले ल्याउनुप¥यो, निर्मला हत्याकाण्डको । टिकापुर विद्रोह जुन भएको थियो, टिकापुर विद्रोहको एउटा छानबिन आयोग बन्यो, लाल आयोग । त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन, सार्वजनिक गरियोस् ।’
अध्यक्ष घिसिङले सहकारी ठगी प्रकरणको पनि निष्पक्ष छानविन गर्नुपर्ने बताए । सहकारीसम्बन्धी विभिन्न तहका छानबिन भएपनि पीडितहरूले अहिलेसम्म वचत रकम फिर्ता नपाएको उनको भनाई छ । उनले पीडितहरुलाई सरकारी कोषबाट नभई ठगीमा संलग्न व्यक्तिहरूबाट रकम असुल गरी फिर्ता गरिनुपर्ने बताए। उनले सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका जीबी राईलाई नेपाल ल्याई सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्ने पनि बताए। जीबी राईको उपस्थितिले सहकारी क्षेत्रमा भएको अनियमितताको वास्तविकता बाहिर आउनसक्ने उनको भनाई छ ।
उनले भने, ‘सहकारीको विषमा संसदीय छानबिन भयो, अरू विभिन्न किसिमका छानबिन भयो, जनताले त्यत्रो पैसा अहिलेसम्म पाएको छैन । तर अब जनतालाई त्यो पैसा ठगी गर्नेहरूबाट उठाएर दिने हो कि सरकारी ढुकुटीबाट दिने ? सरकारी ढुकुटीबाट यदि दिने हो भने त्यसलाई बहादुरी भन्न सकिदैन । यो चाहीँ हाम्रो आर्थिक रूपले अख्तियारको दुरुपयोग पनि हो । यसरी जान मिल्दैन । जो–जो सहकारी ठगीमा संलग्न छन्, सानादेखि ठुलासम्म छन् । मैले कुनै व्यक्ति प्रति इङ्गित गरेको होइन, देश भरिका सानासाना सहकारीमा ठगी भएको छ, त्यो सहकारी ठगीको अहिलेसम्म छानबिन गरेर केही पनि भएको छैन । सहकारी ठगीको तल्लो लेभलको सहकारीको ठगीको छानबिन नै भएको छैन । सहकारी बन्द छ, त्यहाँ सहकारीका व्यक्तित्वहरू अहिले हराएका छन्, छानबिन भएको छैन । साना भन्दा साना सहकारीको पनि छानबिन गरियोस् र त्यहाँबाट चाहिँ गरिब जनताको पैसा फिर्ता गरियोस् । त्यस्तै गरेर जिबी राई, जिबी राई, जिबी राई भनेर कुरा उठ्यो । विभिन्न सरकारहरू आए, विभिन्न गृहमन्त्रीहरू आए, अहिले दुई तिहाइको सरकार आएको छ । अब जिबी राईलाई ल्याएर वास्तविकता के हो ? जिबी राईलाई पनि ल्याएर वास्तविकता खोल्न दिनुपर्यो । उहाँलाई ल्याउन सक्नुपर्यो । अब जिबी राईलाई ल्याउन कसैले रोकेको छ, जस्तो मलाई लाग्दैन । किन आउँदैन जिबी राई ? जिबी राई पनि आउनुपर्यो, ल्याउनु पर्यो । सहकारीमा कुन कुन तहबाट जनतालाई अन्याय भयो, त्यो कुरा खुलस्त रुपमा आउनुपर्छ ।’
उनले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति पनि आपत्तिजनक भएको बताए । संवेदनशील विषयमा जथाभावी बोल्न नहुने उनको भनाई छ ।