गहना बजारमा धमाका मच्चाउँदै जेम स्टोन ! के सुन चाँदीको बजारलाई चुनौति दिन लागेको हो ?

Jun 24, 2026 10:43 AM Mero lagani



विश्वभर सुन र चाँदीको मूल्य आकासिएको छ । त्योसंगै विश्वभरका गहना प्रेमीहरुको आकर्षण अहिले बहुमूल्य पथ्थरहरुप्रति बढेको छ । 

त्यसमा पनि जेमस्टोन प्रतिको बढ्दो आकर्षणका कारण कतै यस्ले विश्वभर सुन चाँदीको बजारलाई चुनौति दिने अवस्था आउन लागेको त होइन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

जेमस्टोन (Gemstone) पृथ्वीको गर्भ वा समुद्रमा प्राकृतिक रूपमा बन्ने आकर्षक,दुर्लभ र कडा खनिज पदार्थ हो । यिनलाई नेपालीमा रत्न वा बहुमूल्य पत्थर पनि भनिन्छ। यिनको सुन्दरता, टल्किने गुण र स्थायित्वका कारण गहना बनाउन तथा ज्योतिष शास्त्रमा भाग्य चम्काउन प्रयोग गरिन्छ।

धेरैजसो जेमस्टोनहरू हिरा, नीलम, माणिक,पुष्पराज र गार्नेट आदि जमिनमुनि हजारौँ वर्षको प्राकृतिक चापर तापक्रमका कारण खनिज क्रिस्टलको रूपमा बन्छन् । मुगा र मोती जस्ता केही रत्न भने समुद्रमा जीवहरूद्वारा जैविक रूपमा निर्माण हुन्छन् ।

‘इण्टरनेशनल कलर्ड जेमस्टोन एशोसियसन’ का अध्यक्ष बेनेडिकेट लाभोईका अनुसार यो वर्ष जेमस्टोनको विश्व बजार ३६.८६ अर्व डलर पुगेको छ । र, सन् २०३३ सम्म यो बढेर ५८ अर्व डलर पुग्ने अनुमान गरिएको छ ।

रुस, बोट्सवाना,अङ्गोला,कोलम्बिया, मोजाम्बिक,म्यानमार,माडागास्कर,तान्जानिया,ब्राजिल,प्रमुख उत्पादक देशहरु हुन् । अचम्म लाग्दो कुरा के छ भने ती देशका खानीबाट निकालिएका ९०% भन्दा बढी कच्चा रत्न र हीराहरू काट्न, मिलाउन र चम्काउनका लागि भारत पठाइन्छ। भारतको जयपुर र सूरत विश्वकै सबैभन्दा ठूला प्रशोधन केन्द्र हुन् । त्यसैले तयारी जेमस्टोन उत्पादनमा भारत विश्वमै पहिलो नम्बरमा आउँछ।

भारतकै सबैभन्दा ठूलो ज्वेलरी ब्रान्ड देश्या बाइमा प्यासनकी क्रिएटिभ डाइरेक्टर तथा ज्वेलरी डिजाइनर रिया पोद्दारका अनुसार केही समय यता जेमस्टोनप्रतिको आकर्षण निकै बढेका छ । ‘पहिले पनि जेमस्टोनसहितका पथ्थरहरुप्रति सर्व साधारणको आकर्षण थियो, तर पछिल्लो समय यसमा अनौठो किसिमको आकर्षण बढेको छ । मानिसहरु सुन चाँदीका गहना बरु सानो वा पातलो भए पनि हुन्छ, स्टोनहरु मंहगो लगाउनु पर्छ भन्ने सोंच्न थालेका छन्’ लोयलका भन्छिन् ।

उनकाअनुसार जेमस्टोन सुन चाँदीको विकल्प हुन सक्दैन, किनकी तिनीहरुलाई उपयोग गर्ने मुख्य माध्यम भनेकै सुन, चाँदीका गहना हुन् । तर, जेमस्टोन प्रतिको बढ्दो आकर्षणले गर्दा मानिसहरु सुन, चाँदीका गर गहनाहरु थोरै खरिद गरेर वा बाक्लोको साटो पातलो प्रयोग गरेर जेमस्टोनमा धेरै खर्च गर्न सक्छन् । अहिले देखिएको ‘ट्रेण्ड’ पनि त्यही हो ।

यस परिवर्तनमा एउटा चाखलाग्दो सांस्कृतिक पाटो पनि छ । खासगरि हिन्दू धार्मिक परम्परामा नीलमको ज्योतिषीय महत्त्व निकै ठूलो मानिन्छ । यसलाई शनि ग्रहको रत्न मानिन्छ र उचित सल्लाह बिना पहिरिनु जोखिमपूर्ण मानिन्छ । अर्कोतर्फ, ट्यान्जनाइटसँग यस्तो कुनै धार्मिक वा ज्योतिषीय धारणा जोडिएको छैन । यसले कुनै पनि आध्यात्मिक सावधानी बिना नै गाढा निलो रङ दिन्छ । त्यसैगरी, विभिन्न रङका सैफायर र टुरमलाइनहरू अब रत्न संकलनकर्ताहरूको नयाँ रोजाइ बन्दै गइरहेका छन् ।

प्राचीन नौ रत्नहरू मिलेर बन्ने नवरत्न अब आधुनिक डिजाइन हाउसहरूमा नयाँ रूपमा देखिन थालेको छ । यसमा उस्तै रङ भएका अन्य रत्नहरूको प्रयोग भइरहेको छ ।

लोयलका भन्छिन्—जो ग्राहकहरू भारतको विरासतसँग जोडिन चाहन्छन् तर आधुनिक समयसँगै अघि बढ्न पनि चाहन्छन्, उनीहरूलाई यस प्रकारको नयाँ व्याख्या मन पर्छ। सफा सुग्घर डिजाइन र नयाँ सेटिङ स्टाइलका साथ परम्परागत र आध्यात्मिक विरासतलाई आधुनिक लक्जरी शैलीमा प्रस्तुत भइरहेको छ। यसले गर्दा यस्तो नयाँ विरासत बनिरहेको छ, जुन एकैसाथ प्राचीन पनि देखिन्छ र आधुनिक पनि ।

यही सोचले जडाउ र पोल्की ज्वेलरीलाई पनि बदलिरहेको छ। रातो र हरियो रङको परम्परागत रङ(संरचनामा अब बिस्तारै दुर्लभ रत्नहरूका थप आकर्षक रङहरू समावेश भइरहेका छन्। यसले गर्दा डिजाइनरहरूले पहिलेभन्दा धेरै नयाँ र प्रयोगात्मक डिजाइनहरू तयार पारिरहेका छन् ।


नेपाली जेमस्टोन बजार र सम्भावना

नेपालको हिमाली र पहाडी भूभाग संसारकै उत्कृष्ट गुणस्तरका केही रत्नहरूका लागि चिनिन्छ। भूगर्भ विभाग र विज्ञहरूका अनुसार नेपालका विभिन्न जिल्लामा अर्बौ मूल्यका रत्नहरू रहेका छन् ।

जाजरकोट र कालिकोटमा पाइने काइनाइट र टुरमलाइन संसारकै उच्च गुणस्तरको मानिन्छ। अन्तर्राष्ट्रिय बजारमा यसको ठूलो माग छ।

धादिङको गणेश हिमाल क्षेत्रमा बहुमूल्य रातो रुबीको खानी रहेको छ।

संखुवासभा र ताप्लेजुङ क्षेत्रमा उत्कृष्ट नीलो हरियो अक्वामरिन र गार्नेटहरू पाइन्छन्।
दोलखा, धादिङ र सिन्धुपाल्चोकमा उच्च गुणस्तरको क्रिस्टल क्वार्ट्ज पाइन्छ।

नेपालमा खानीहरू भए तापनि कानुनी जटिलता, प्रविधिको अभाव र नीतिगत स्पष्टता नहुँदा व्यावसायिक उत्खनन हुन सकेको छैन। फलस्वरुप, नेपाली सुनचाँदी व्यवसायी र ज्योतिषीहरूले भारत, श्रीलंका र थाइल्याण्डबाट प्रमाणित रत्नहरू आयात गरेर बेचिरहेका छन्।

नेपालमा जेमस्टोनको मुख्य बजार ज्योतिष शास्त्रमा टिकेको छ। देशका मुख्य सहरहरू (काठमाडौँ, पोखरा, बुटवल, विराटनगर) मा राहु, केतु, शनि आदिको ग्रह शान्तिका लागि मूङ्गा, मोती, पोखराज, नीलम र पन्ना किन्ने ग्राहकहरूको सङ्ख्या ठूलो छ।

काठमाडौँको ठमेल र बौद्ध क्षेत्रमा विदेशी पर्यटकहरूलाई लक्षित गरी नेपाली र तिब्बती शैलीका चाँदीका गहनाहरूमा सेमी प्रिसियस पत्थर जस्तै एमेथिस्ट, गार्नेट, टर्कुइज जडेर बेच्ने ठूलो बजार छ।