दश वर्षमा जेल गएका १० अर्थमन्त्रीहरु, जो भ्रष्टाचारको अभियोगमा जेल परेपछि राजनीतिमा ‘कमव्याक’ गर्न सकेनन्, विष्णु पौडेल अपवाद बनलान् ?

Jun 24, 2026 05:06 AM Mero lagani



अर्थमन्त्री जुनसुकै देशमा पनि प्रधानमन्त्री (कार्यकारी राष्ट्रपति भएको देशमा राष्ट्रपति) पछिको आकर्षक पद मानिन्छ । 

देशको ढुकुटी हातमा हुने भएकोले अर्थमन्त्री पद आकर्षक मानिएको हो । त्यहीकारण अधिकांश देशमा अर्थमन्त्रीलाई ‘नेक्स्ट प्राइमिनिष्टर’ मानिन्छ । तर, अर्थमन्त्री पद केवल आकर्षक मात्र होइन, भ्रष्टाचार र आर्थिक अनियमितताको मूल पनि मानिन्छ । त्यहीकारण अर्थमन्त्री भएका थुप्रै नेताहरु भ्रष्टाचारको काण्डमा मुछिएका छन्, त्यसमध्ये कतिपय जेल परेका छन् ।

नेपालको मात्र होइन, विश्व राजनीतिकै विश्लेषण गर्ने हो भने भ्रष्टाचारको अभियोगमा एक पटक जेल परेपछि फेरि उहि हैसियत प्राप्त गरेका घटना निकै कम छ । जेल परेका अर्थमन्त्रीहरुमध्ये कतिपयले राजनीतिमा ‘कमव्याक’ गर्ने प्रयास गरे पनि उनीहरु सफल भएको देखिदैन ।

यहाँ विगत एक दशक अर्थात् १० वर्षको अवधिमा भ्रष्टाचारको अभियोगमा जेलमा परेका १० जना अर्थमन्त्रीहरुको बारेमा चर्चा गरिएको छ ।

१ . कृष्ण बहादुर महरा

नेकपाका उपाध्यक्ष कृष्णबहादुर महराले हालै राजनीतिबाट अवकाश लिएको घोषणा गरे ।

नेपालको संसदीय राजनीति र माओवादी सशस्त्र विद्रोह दुवै कालखण्डका एक प्रभावशाली र चतुर खेलाडी मानिने महरा २०७३ सालमा अर्थमन्त्री भएका थिए । त्यस अघि र पछि गरेर पटक पटक मन्त्री तथा एक पटक सभामुख भएका महरा पटक पटक विभिन्न काण्डहरुमा मुछिए । सुन तस्करी, माओवादी लडाकुको समायोजनको क्रममा गरिएको अर्वाैंको घोटाला, भेप प्रकरण लगायतका अनेकौं प्रकरणमा मुछिएका महरा बैवाहिक बलत्कारको मुद्धामा सभामुख छदै पक्राउ परे । त्यसपछि सुन तस्करी र भेप प्रकरणमा पनि पक्राउ परे । पक्राउ पछि पार्टी राजनीतिमा सक्रिय रहे पनि उनको अवस्था पहिलेको झैं प्रभावकारी हुन सकेन । अन्ततः उनले सक्रिय राजनीतिबाटै विश्राम लिने घोषणा गर्न वाध्य भए ।

 २. पी चिदम्बरम, भारत

भारतका तर्फबाट दुई पटक अर्थमन्त्री भइसकेका वरिष्ठ नेता तथा वरिष्ठ अधिवक्ता पी चिदम्बरमको पक्राउ र जेल यात्रा निकै नाटकीय थियो । सन् २००७ मा अर्थमन्त्री बहाल रहेका बेला चिदम्बरमले विदेशी लगानी प्रवर्द्धन बोर्ड को नियम मिचेर आईएनएक्स मीडिया नामक सञ्चार गृहलाई ३०५ करोड भारु वैदेशिक लगानी भित्र्याउन अवैध रूपमा स्वीकृति दिएको आरोप लागेको थियो। त्यसबापत उनका छोरा कार्ती चिदम्बरमको कम्पनीमार्फत वित्तीय लाभ लिएको अनुसन्धानमा देखियो । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र प्रवर्तन निर्देशनालय (ED) को घेराबन्दीमा परेका उनलाई पक्राउ गर्न प्रहरी पर्खाल नाघेर उनको घरभित्र छिरेको थियो। सन् २०१९ अगस्ट २१ मा पक्राउ परी उनी सर्वोच्च अदालतबाट धरौटीमा रिहा हुनुअघि साढे ३ महिना जेलमा बसेका थिए । पक्राउ पछि पार्टी राजनीतिमा सक्रिय हुने प्रयास गरे पनि सकिरहेका छैनन् ।

३. म्यानुएल चाङ— मोजाम्बिक

अफ्रिकी मुलुक मोजाम्बिकको इतिहासमा मात्र नभई सम्पूर्ण अफ्रिका महादेशकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमध्ये एक मानिने टुना बन्ड घोटालामा पूर्व अर्थमन्त्री म्यानुएल चाङ जेल परेका हुन्।

चाङले सन् २०१३ देखि २०१५ सम्म मोजाम्बिकको अर्थमन्त्री रहँदा सामुद्रिक सुरक्षा र माछापालन (टुना माछा) परियोजनाका लागि वैदेशिक बैंकहरूबाट २ अर्ब डलर ऋण लिन सरकारी ग्यारेन्टीमा गोप्य रूपमा हस्ताक्षर गरेका थिए । उक्त ऋणको ठूलो हिस्सा ९२० करोड डलरभन्दा बढी सरकारी अधिकारी र बैंकरहरूलाई घुस बाँड्न प्रयोग गरियो । चाङ आफैँले ७० लाख डलर घुस बुझेका थिए। यस घोटालाले मोजाम्बिकको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त पारेको थियो। अमेरिकी लगानीकर्ताहरू समेत ठगिएकाले अमेरिकी संघीय अदालत (न्युयोर्क) मा मुद्दा चल्यो । उनी डिसेम्बरमा दक्षिण अफ्रिकामा पक्राउ परे । उनलाई दक्षिण अफ्रिकाले सन् २०२३ मा अमेरिका सुपुर्दगी गर्यो । सन् २०२४ को अगस्टमा अमेरिकी अदालतद्वारा दोषी ठहर गर्दै साढे ८ वर्षको जेल सजाय सुनाइयो। उनी अहिले पनि जेलमै छन् ।


४. नजीब रजाक— मलेसिया
मलेसियाका पूर्व प्रधानमन्त्री नजीब रजाकले प्रधानमन्त्री पदसँगै देशको अर्थमन्त्रीको पोर्टफोलियो पनि आफैँसँग राखेका थिए। उनी विश्वकै सबैभन्दा ठूलो वित्तीय घोटालामध्ये एक मानिने 1MDB (1Malaysia Development Berhad)  काण्ड मा जेल परेका हुन्।

५ अर्ब अमेरिकी डलरभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा सन् २०१८ को जुलाईमा पक्राउ परेका थिए ।

मलेसियाको आर्थिक विकासका लागि स्थापना गरिएको सरकारी कोषबाट अर्बौ डलर हिनामिना गरी नजीबको निजी बैंक खातामा सारिएको, विलासी जग्गाजमिन, कलाकृति र हलिउड चलचित्रमा समेत लगानी गरिएको पुष्टि भएको थियो। सन् २०१८ मा उनको सरकार ढलेपछि मलेसियाली भ्रष्टाचार विरोधी आयोगले उनलाई पक्राउ गर्यो। अदालतले उनलाई शक्तिको दुरूपयोग,आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणमा १२ वर्षको जेल सजाय र भारी जरिवाना सुनायो उनी हाल जेलमै छन्।


५. अलेक्सेई उल्युकाएभ— रुस

रुसको आर्थिक विकास मन्त्री अलेक्सेई उल्युकाएभ आधुनिक रुसको इतिहासमा रंगेहात पक्राउ पर्ने सबैभन्दा ठूला अधिकारी हुन्।

रुसको ठूलो सरकारी तेल कम्पनी रोजनेफ्टले अर्को एक सरकारी तेल कम्पनी बाशनेफ्टुको शेयर खरिद गर्ने प्रक्रियामा अनुकूल मूल्यांकन प्रतिवेदन तयार गरिदिए बापत उल्युकाएभले २० लाख अमेरिकी डलर घुस मागेका थिए। रुसी संघीय सुरक्षा सेवा (FSB) ले उनलाई ब्यागभरि नगद घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो। सन् २०१६ को नोभेम्बरमा पक्राउ परी सन् २०१७ मा सजाय तोकिएर ५ वर्षभन्दा बढी जेल परेका थिए । अदालतले उनलाई ८ वर्षको कठोर कारावास को सजाय सुनाएको थियो। उनी सन् २०२२ मा स्वास्थ्यको कारण देखाई जेलबाट रिहा भएका थिए।


६. केनेथ ओफोरी अट्टा — घाना

घानाका सबैभन्दा लामो समयसम्म अर्थमन्त्री रहेका उनीमाथि घाना राजस्व प्राधिकरणको ठेक्कामा व्यापक आर्थिक अनियमितता गरेको र राष्ट्रपति नाना अकुफ अड्डोको लहडमा बनाउन लागिएकोराष्ट्रिय क्याथेड्रल परियोजनामा ४०० मिलियन डलरभन्दा बढी सरकारी रकम हिनामिना गरेको अभियोग छ। उनी उपचारको बहानामा अमेरिका भागेपछि घाना सरकारले सुपुर्दगीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो । ६ जनवरी २०२६ मा अमेरिकाको वासिङ्टन डीसीबाट अमेरिकी अध्यागमन अधिकारीद्वारा पक्राउ परेका उनी भर्जिनियाको क्यारोलिन डिटेन्सन फेसिलिटी (जेल) मा थुनामा छन् ।

 

७. एलाटोभ बाकमातोभ — किर्गिस्तान

मध्य एसियाली मुलुक किर्गिस्तानका पूर्व अर्थमन्त्री एलाटोभ बाकमातोभ राज्यकोष दोहनको ठूलो मुद्दामा जेल २०२० मा पक्राउ परेका उनी अहिले पनि जेलमै छन् । अर्थमन्त्रीको कुर्सीमा रहँदा निश्चित व्यापारिक फर्म र वैदेशिक कम्पनीहरूलाई गैरकानुनी रूपमा अर्बौैको भन्सार तथा कर छुट दिने निर्णय गरी राज्यकोषलाई ठूलो नोक्सानी पुर्याबएको र त्यसबापत अवैध कमिसन लिएको कसुर पुष्टि भएपछि उनलाई पक्राउ गरी जेल पठाइएको थियो।

 

८ . कार्ल हेइन्ज ग्रासर — अस्ट्रिया 

अस्ट्रियाको इतिहासमा सबैभन्दा कान्छो उमेर (३१ वर्ष) मा अर्थमन्त्री बनेर निकै चर्चित र शक्तिशाली बनेका कार्ल हेइन्ज ग्रासर युरोपको राजनीतिमा भ्रष्टाचारको अभियोगमा जेल पर्ने विश्वकै सबैभन्दा हाई प्रोफाइल नेतामध्ये एक मानिन्छन् ।

सन् २००० देखि २००७ सम्म अस्ट्रियाको अर्थमन्त्री रहेका उनको पालामा सरकारको स्वामित्वमा रहेका ६०,००० सरकारी अपार्टमेन्टहरू निजीकरण गर्ने प्रक्रिया सुरु भयो। ग्रासरले अर्थमन्त्रीको पदीय गोपनीयता र शक्तिको दुरुपयोग गर्दै टेन्डर प्रक्रियाको गोप्य सूचना बिचौलियामार्फत एउटा निश्चित व्यापारिक समूह लाई चुहाइदिए। त्यो समूहले ९६ करोड युरोमा ती अपार्टमेन्टहरू खरिद गर्योे, जसको मूल्य ३ वर्षमै दोब्बर भयो। यो सेटिङ मिलाएबापत ग्रासर र उनका सहयोगीहरूले बिक्री मूल्यको १ प्रतिशत (९० लाख युरोभन्दा बढी) अवैध कमिसन लिएको अदालतमा प्रमाणित भयो। लामो कानुनी लडाइँपछि अस्ट्रियाको अदालतले उनलाई ८ वर्षको जेल सजाय सुनायो। उनी अहिले पनि जेलमै छन् ।


९.जेरोम काहुजाक — फ्रान्स

फ्रान्सका पूर्व बजेट तथा अर्थमन्त्री जेरोम काहुजाकको काण्डलाई फ्रान्सको इतिहासमै सबैभन्दा ठूलो र लज्जास्पद राजनीतिक कपटका रूपमा हेरिन्छ।

उनलाई सन् २०१६ मा दोषी ठहर र सन् २०१८ मा ३ वर्षको जेल सजाय फ्रान्सेली कानुन अनुसार पछि उनलाई जेलको सट्टा इलेक्ट्रोनिक ब्रेसलेट लगाएर नजरबन्दमा राखियो । त्योसंगै राजनीतिक यात्रा पनि समाप्त भयो । जेलबाट छुटेपनि उनले राजनीतिकरुपमा सक्रियता देखाउन सकेका छैनन् ।

काहुजाक फ्रान्सको सरकारमा अर्थ तथा बजेट मन्त्री छँदा उनले सार्वजनिक रूपमा कर छली गर्नेहरू विरुद्ध ठूलो अभियान चलाएका थिए र आफ्नो कतै पनि अवैध सम्पत्ति नभएको कसम खाएका थिए तर, खोजमूलक पत्रकारिताका कारण उनको पोल खुल्यो। उनी आफैँले स्विस बैंक  र सिंगापुरका गोप्य खाताहरूमा लाखौं युरो कालोधन लुकाएको र कर छलेको प्रमाणित भयो। संसद् र जनतालाई ढाँटेको भन्दै फ्रान्समा उनको तीव्र आलोचना भयो। उनले मन्त्री पदबाट राजीनामा दिनुपर्यो  र अदालतले उनलाई जेल सजाय र महँगो जरिवाना तोक्यो।

 १० .झाङ शाओचुन चीन

चीनका तत्कालिन उप अर्थमन्त्री झाङ शाओचुनलाई सन् २०१९ मा अदालतले १५ वर्षको जेल सजाय सुनाएको थियो। अर्थ मन्त्रालयको शक्तिशाली पदमा रहँदा उनले विभिन्न कम्पनीहरूलाई ठेक्का दिलाउन, कर छुट दिन र कतिपय व्यक्तिहरूलाई पदोन्नति गराइदिनका लागि करिब १० मिलियन डलर घुस लिएको प्रमाणित भएको थियो। उनी अहिले पनि जेलमै छन् ।

स्मरणरहोस्  सन् २०२३० सन् २०२२ मा बेलायतको अर्थमन्त्री बनेका नदिम जहावीमाथि आफूले स्थापना गरेको वित्तीय अनुसन्धान कम्पनी YouGov को शेयर बिक्री गर्दा करोडौं पाउण्ड कर छली गरेको अभियोग लाग्यो। बेलायतको आन्तरिक राजस्व विभागले छानबिन गर्दा उनले कर लुकाएको प्रमाणित भयो। उनले जरिवाना सहित करिब ५० लाख पाउण्ड (करिब ८० करोड नेपाली रुपैयाँ) सरकारलाई तिर्नुपर्‍यो र तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले उनलाई मन्त्रिपरिषद्‍बाट बर्खास्त गरे। उनी जेल भने परेनन् । तर, त्यो काण्डपछि उनको राजनीति भने संकटमा परेको छ ।