इभी बीमा परिमार्जन र डिजिटल प्रणालीबारे बीमा प्राधिकरणको चासो, छुट्टै बीमालेख ल्याउने तयारी

Jun 25, 2026 04:53 PM Merolagani



नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन (इभी) को बढ्दो प्रयोगलाई ध्यानमा राख्दै विद्यमान मोटर बीमालेख परिमार्जन गर्ने वा छुट्टै नयाँ बीमालेख जारी गर्ने विषयमा गृहकार्य सुरु गरेको छ ।

प्राधिकरणकाे कार्यालयमा बुधबार आयोजित दुई छुट्टाछुट्टै छलफल कार्यक्रममा प्राधिकरणले इभीको बीमा, क्षति मूल्याङ्कन, मर्मत सम्भारका चुनौती र प्रविधिको माध्यमबाट बीमा पहुँच बढाउने वैकल्पिक वितरण प्रणालीका विषयमा सरोकारवालाहरूसँग विस्तृत अन्तरक्रिया गरेको हो ।

इभीको क्षति मूल्याङ्कनमा एकरूपता ल्याउन र यसका जोखिमहरूलाई सही रूपमा सम्बोधन गर्न सरोकारवालाहरूको सुझाव संकलन गर्ने उद्देश्यले पहिलो अन्तरक्रिया आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बजारमा विद्युतीय सवारी साधनको संख्या तीव्र रूपमा बढिरहेकाले परम्परागत बीमालेखको सट्टा छुट्टै इभी बीमालेख ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले जोखिम विश्लेषणका लागि इभीको आयात, बिक्री, क्षति र दाबी भुक्तानीको सही तथ्याङ्क राख्न सम्बद्ध सबै पक्षसँग आग्रह गरे।

 

त्यस्तै, प्राधिकरणका अर्का निर्देशक निर्मल अधिकारीले सरकारको तेस्रो पक्ष बीमा सम्बन्धी नीति बमोजिम बीमालेखको परिमार्जन र ह्रास कट्टी (डिप्रिसिएसन) लगायतका समसामयिक विषयमा स्पष्टता ल्याउन सरोकारवालाहरूसँग सुझाव माग गरे।

अन्तरक्रियामा सहभागी अटोमोबाइल र बीमा क्षेत्रका प्रतिनिधिहरूले इभी बीमामा भोग्नुपरेका व्यावहारिक समस्याहरूमाथि प्रकाश पारेका थिए । उनीहरूका अनुसार परम्परागत गाडीको तुलनामा इभी महँगो हुने र उत्पादक वा डिलरले मर्मत गर्नुको साटो पार्टपूर्जा नै फेर्न जोड दिने भएकाले बीमा दाबीको खर्च निकै बढेको छ । सरकारले इभी आयातमा सहुलियत दिए पनि पार्टपूर्जा आयातमा सहुलियत नदिँदा मर्मत खर्चिलो भएको, पर्याप्त संख्यामा वर्कसप नभएको, चालकहरूको तालिम अभाव र ब्याट्रीको क्षतिपछिको व्यवस्थापन सम्बन्धी नीति नहुँदा समस्या थपिएको उनीहरूको भनाइ थियो ।

डिजिटल माध्यमबाट बीमाको पहुँच विस्तार गरिने

बुधबार नै आयोजित अर्को छलफलमा प्राधिकरणले दूरसञ्चार सेवा, इन्टरनेट, वित्तीय भुक्तानी प्रणाली र डिजिटल वालेट जस्ता वैकल्पिक माध्यमलाई बीमा व्यवसायमा समेट्ने विषयमा सरोकारवालाहरूसँग संवाद गरेको छ ।

कार्यक्रममा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले वैकल्पिक वितरण प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढाउन आइपर्ने समस्या समाधानका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, प्राधिकरणकी उपनिर्देशक पुष्पा कुँवरले वैकल्पिक वितरण प्रणालीको सम्भावनाबारे प्रस्तुतीकरण दिँदै विशेषगरी वैदेशिक रोजगारीमा गएका नागरिक र बीमाको पहुँच नपुगेका दुर्गम क्षेत्र तथा विपन्न वर्गसम्म सहजै बीमा सेवा पुर्याउन यो प्रणालीलाई प्रोत्साहन गरिएको बताए ।

कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, नेपाल सर्भेयर संघ, बीमक संघ, नेपाल टेलिकम, एनसेल तथा विभिन्न डिजिटल वालेटका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।