यसैक्रममा जापानमा विकास गरिएको केन्द्रीय बैंकका गभर्नरहरूको शारीरिक लवज (Body Language) र बोलीको सूक्ष्म उतारचढाव नाप्ने एआई प्रविधिले विश्वको वित्तीय बजारलाई नै नयाँ मोड दिएको छ । गभर्नरहरूले बजारमा त्रास नफैलियोस् भनेर धेरैजसो कुराहरू लुकाउने वा कूटनीतिक भाषामा बोल्ने प्रयास गर्छन्। तर उनीहरूको शरीर र अनुहारले झूट बोल्न सक्दैन। एआईले गभर्नरको त्यही ‘शारीरिक झूट’ (Discrepancy) लाई समातेर बजारको वास्तविक दिशा अनुमान गर्छ। यस प्रविधिको विकास टोकियो विश्वविद्यालयका प्राध्यापक किओताका सातो (Kiyotaka Sato) र कृत्रिम बौद्धिकता (AI) कम्पनी ZMP का वित्तीय विश्लेषकहरूको टोलीले गरेको हो ।
यो प्रविधि के हो र यसले कसरी काम गर्छ ?
यो प्रविधिलाई मुख्य रूपमा एआई पावर्ड सेन्टिमेन्ट एनालिसिस (AI-Powered Sentiment Analysis) र बायोमेट्रिक फेशियल रिकग्निसन (Biometric Facial Recognition) भनिन्छ। यसले गभर्नरहरूको प्रेस कन्फ्रेन्सको लाइभ भिडियो र अडियोलाई मिलिसेकेन्डको गतिमा विश्लेषण गर्छ। यसका प्रमुख ३ वटा पाटा हुन्छन्:
क. फेशियल कोडिङ (Facial Action Coding System - FACS)
एआई सफ्टवेयरले गभर्नरको अनुहारमा सयौँ अदृश्य ट्र्याकिङ विन्दुहरू राख्छ। यसले गभर्नरले बोलिरहँदा उनको अनुहारका साना सिना मांसपेशीको हलचल (Micro-expressions) नाप्छ। यदि गभर्नरले अर्थतन्त्रको अवस्था राम्रो छ भन्दै गर्दा उनको ओठको कुना थोरै तल झुक्यो वा निधारको मांसपेशी संकुचित भयो भने, मानिसको आँखाले त्यो ठम्याउन सक्दैन। तर एआईले तुरुन्तै पत्ता लगाउँछ कि गभर्नर भित्रभित्रै तनावमा वा असमञ्जसमा छन्।
ख. बोलीको टोन र फ्रिक्वेन्सी (Voice Stress Analysis)
गभर्नरले कुन शब्द बोल्दा आवाजको तिखोपन (Pitch) कस्तो थियो, उनको बोलीमा कत्तिको कम्पन (Treble) थियो र उनले कति पटक घाँटी सफा गरे वा खोके भन्ने कुरा अडियो एआईले विश्लेषण गर्छ।
यदि गभर्नरलाई ब्याजदरबारे सोधिएको प्रश्नमा उनी सामान्य भन्दा ०.५ सेकेन्ड ढिलो बोले वा अलमलिए भने एआईले त्यसलाई अनिश्चितताको संकेत (Bearish Signal) मान्छ।
ग. शब्दको छनोट (Natural Language Processing - NLP)
गभर्नरहरूले कस्ता शब्दहरू प्रयोग गरिरहेका छन् भन्ने कुरा एनएलपी (NLP) सफ्टवेयरले केलाउँछ। अर्थशास्त्रमा दुईवटा चर्चित शब्द छन् Hawkish (ब्याजदर बढाउने कडा नीति) र Dovish (ब्याजदर घटाउने वा खुकुलो नीति)। एआईले भाषणमा प्रयोग भएका यी दुई धारका शब्दहरूको अनुपात तुरुन्तै गणना गर्छ ।
विश्वका ठूला बहुराष्ट्रिय वित्तीय कम्पनीहरू (जस्तै Pragma, RavenPack, वा Bloomberg का विशेष एआई मोडेलहरू)ले यस प्रविधिलाई आफ्नो एल्गोरिदमिक ट्रेडिङ (Algorithmic Trading) मेसिनसँग जोडेका हुन्छन्।
केही वर्षअघि जापानको प्रसिद्ध विश्वविद्यालय र वित्तीय विश्लेषकहरू मिलेर बैंक अफ जापान (BOJ) का गभर्नर हारुहिको कुरिडोको प्रेस कन्फ्रेन्समा यस्तै एउटा एआई परीक्षण गरेका थिए। एआईले कुरिडोको पुराना वर्षौदेखिका भिडियोहरू अध्ययन गरेर उनको सामान्य अनुहारको ढाँचा तयार पार्यो।
परीक्षणका क्रममा जब गभर्नर कुरिडोले बजारमा आर्थिक सहजता छ, डराउनुपर्ने केही छैन भनिरहेका थिए, एआईले उनको अनुहारमा तनाव र उदासी (Sadness/Anxiety) को मात्रा बढी देखायो।
नभन्दै, त्यसको केही हप्तापछि जापानको अर्थतन्त्रमा समस्या देखियो र केन्द्रीय बैंकले नीति परिवर्तन गर्नुपर्यो । अर्थात्, मानिसले थाहा पाउनु अगावै एआईले गभर्नरको अनुहार पढेर बजारको दुर्गति पहिल्यै थाहा पाइसकेको थियो।
गभर्नरहरूको बडी ल्याङ्ग्वेज नाप्ने यो एआई प्रविधिले शेयर बजारलाई यस्तो ठाउँमा पुर्याएको छ, जहाँ देशको सबैभन्दा शक्तिशाली बैंकरको एउटा साना मुभमेन्ट वा आँखाको झिम्काइ पनि अर्बौँ डलरको नाफा घाटाको कारण बन्न सक्छ।