प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताले मैदानभित्रका रोमाञ्चक खेल मात्र होइन, मैदानबाहिरका अनेक अनौठा र रमाइला घटनालाई पनि जन्म दिएको छ। त्यसमध्ये सबैभन्दा लोकप्रिय परम्परामा पर्छ, विश्वकप विजेताको भविष्यवाणी गर्ने जनावरहरू।
तपाईले पक्कै सम्झनु भएको छ विगतका विश्वकपमा अक्टोपसदेखि कुकुर र मुसासम्मले फलनाले जित्ने भविष्यवाणी गर्यो भन्दै विश्वव्यापीरुपमा सनसनी मच्चाएका समाचारहरु। तर, यस पटक त्यस्ता केही घटना सुनिएका छैनन्, अलि अलि सुनिएका हल्लाहरुले पनि न त संचारमाध्यमको ध्यान तान्न सकेको छ, न त फुटबल प्रेमीहरुकै। लाग्छ अब विश्वकपमा भविष्यवाणी गर्ने ज्योतिषीहरुको व्यापार सकियो ।

विश्वकपका भविष्यवक्ता जनावरको चर्चा गर्दा सबैभन्दा पहिले सम्झनुपर्ने नाम हो—पाउल अक्टोपस।
जर्मनीको ओबरहाउजनस्थित एक्वेरियममा रहेको पाउललाई दुईवटा पारदर्शी बाकस अगाडि राखिन्थ्यो। दुवै बाकसभित्र उसको मनपर्ने खाना हुन्थ्यो, तर प्रत्येक बाकसमा प्रतिस्पर्धी देशको झण्डा टाँसिएको हुन्थ्यो। पाउलले जुन बाकस पहिले खोल्थ्यो, त्यही टोली विजेता हुने भविष्यवाणी मानिन्थ्यो।
सुरुमा यसलाई सामान्य मनोरञ्जन मानिएको थियो। तर २०१० को विश्वकपमा पाउलले जर्मनीका सबै खेल र अन्तिम फाइनलसमेत लगातार सही अनुमान गरेपछि संसार नै अचम्ममा पर्यो। स्पेनले नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक विश्वविजेता बन्ने भविष्यवाणी पनि उसैले गरेको थियो।
त्यसपछि पाउल विश्वकै चर्चित ‘सेलिब्रेटी’ बन्यो। उसको तस्बिर टी–सर्टमा छापियो, समाचारको मुख्य शीर्षक बन्यो, सामाजिक सञ्जालमा करोडौं पटक साझा गरियो। कतिपय समर्थकले त उसलाई ‘विश्वकपको ज्योतिषी’ नै भन्न थाले।
कछुवा, हात्ती र बिरालोको प्रवेश
पाउलको सफलतापछि विश्वभरका चिडियाखाना र एक्वेरियमले आफ्ना जनावरलाई पनि भविष्यवक्ता बनाउन थाले।
ब्राजिलमा २०१४ को विश्वकपका बेला एउटा समुद्री कछुवाले खेलको नतिजा अनुमान गरेर चर्चा कमायो। उसको अगाडि दुईवटा झण्डा राखिन्थ्यो र उसले जुनतर्फ गएर खाना खान्थ्यो, त्यही टोलीलाई विजेता घोषणा गरिन्थ्यो।
जर्मनीमा एउटा हात्तीले बललाई कुन गोलपोस्टतर्फ प्रहार गर्छ भन्ने आधारमा विजेता छनोट गरिन्थ्यो। कतै तोताले कार्ड टिप्थे, कतै ऊँटले झण्डा भएको बाकस रोज्थे।
रुसमा २०१८ विश्वकपका बेला सेतो बिरालो अखिलिस सबैभन्दा चर्चित बन्यो। सेन्ट पिटर्सबर्गको संग्रहालयमा बस्ने यो बिरालोलाई दुईवटा खानाका भाँडामध्ये एउटा छान्न लगाइन्थ्यो। रोचक कुरा के थियो भने आयोजकहरूले उसको बहिरोपनलाई पनि विशेषता बनाए। उनीहरूको तर्क थियो,दर्शकको आवाजले उसको निर्णय प्रभावित हुँदैन।
जापानी अक्टोपसको दुःखद अन्त्य
विश्वकप इतिहासको सबैभन्दा विवादास्पद घटना जापानमा भयो।
‘राबियो’ नामको अक्टोपसले जापानका खेलहरूको सही अनुमान गरेपछि ऊ एकाएक चर्चामा आयो। तर विश्वकप सकिनुअघि नै त्यसलाई बजारमा बेचियो र खानाका रूपमा प्रयोग गरियो।
यो घटनाले विश्वभर पशु अधिकारकर्मीबाट तीव्र आलोचना निम्त्यायो। त्यसपछि धेरै संस्थाले जनावरलाई यस्ता प्रचारात्मक गतिविधिमा प्रयोग गर्दा थप सावधानी अपनाउन थाले।
२०२२ मा ऊँट
कतार विश्वकपका बेला ऊँट, बाज र अन्य मरुभूमिका जनावरहरूलाई भविष्यवाणीका लागि प्रयोग गरिएको थियो। सामाजिक सञ्जालमा उनीहरूको भिडियो निकै भाइरल बने।
तर, सन् २०२६ को विश्वकप आइपुग्दा यो दृश्य पूर्ण रूपमा बदलिएको छ। यसपटक जर्मनीको ‘वाल्टर’ ओराङ्गुटान वा युएईको ‘शक’ बाजको चर्चा निकै फिक्का रह्यो। क्यानडामा Swimbappé नामको गोल्डफिसले खेलअघि विजेता छनोट गरिरहेको भिडियो चर्चामा आयो। ब्राजिलमा Poty नामको कालो जगुआरले पनि खेलको परिणाम अनुमान गर्ने कार्यक्रममा भाग लियो। मेक्सिकोका केही चिडियाखानाले हात्ती, गोरिल्ला र जिराफलाई पनि यस्तै कार्यक्रममा सहभागी गराए।
तर यस्ता समाचारहरू अहिले मुख्यधाराका मिडियामा पहिलेजस्तो ठूलो स्थान बनाउन सकेका छैनन्।
विश्वकपका यी परम्परागत र रमाइला ‘ज्योतिषी’ हरूको बजारलाई यसपटक प्रविधि, अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (AI) र सुपरकम्प्युटरले निलेको छ ।
अध्ययन र तथ्याङ्कहरूले देखाउँछन् कि अचेल खेलप्रेमीहरू जनावरको र्यान्डम छनोट भन्दा एआईको वैज्ञानिक डेटा विश्लेषणलाई बढी विश्वास गर्न थालेका छन्।
जनावरबाट ‘डेटा एण्ड एल्गोरिदम’ तर्फ स्थानान्तरण
यो विश्वकपमा Opta, EA Sports र वित्तीय क्षेत्रका ठूला संस्थाहरूका सुपरकम्प्युटरहरूले लाखौँ डेटा सेटहरू विश्लेषण गरेर भविष्यवाणी गरे। एआईले खेलको विजेता अनुमान गर्न केवल अनुमानको भर परेन, उसले निम्न विषयहरूको विस्तृत अध्ययन गर्यो:
- खेलाडीहरूको पछिल्लो फर्म र चोटपटकको इतिहास
- टिमको ऐतिहासिक प्रदर्शन र विपक्षी विरुद्धको रेकर्ड
- खेल भएको रंगशालाको वातावरण, मौसम र मैदानको प्रकार
- मैदानभित्रका प्रत्येक खेलाडीको दौडने गति, पासको शुद्धता र गोल गर्ने सम्भावना
यस प्रकारको कठोर गणितीय विश्लेषणका अगाडि कुनै पार्क वा चिडियाखानाको जनावरले खानाको कचौरा रोजेको भरमा गरिने भविष्यवाणी फिक्का र अप्राकृतिक देखिनु स्वाभाविकै थियो।
कसरी प्रभावित भयो ‘भविष्यवाणीको व्यापार’ ?
विगतका विश्वकपहरूमा ज्योतिषी जनावरहरू राख्ने चिडियाखाना वा एक्वेरियमहरूले विश्वभरका मिडियाहरूबाट मोटो रकम र पब्लिसिटी पाउँथे। कर्पोरेट कम्पनीहरूले आफ्ना उत्पादनको विज्ञापनका लागि ती जनावरहरूलाई प्रायोजन गर्थे। तर यसपटक त्यो सबै बजेट र ध्यान प्राविधिक कम्पनीहरूतर्फ मोडिएको छ।
विदेशी सञ्चारमाध्यम र सट्टेबाजी बजारका अनुसन्धानहरूका अनुसार, यसपटक ९० प्रतिशतभन्दा बढी गम्भीर फुटबल प्रशंसक र विश्लेषकहरूले एआई मोडलहरू (जस्तै- Elo Ratings र Predictive AI) लाई पछ्याए। सामाजिक सञ्जालमा पनि जनावरका भिडियोहरूभन्दा एआईले निकालेका प्रतिशत र ग्राफिक्सहरू बढी सेयर भए। परिणामस्वरुप, जनावरहरूलाई अघि सारेर लाखौँ डलर कमाउने मिडिया र पीआ एजेन्सीहरूको व्यापार यसपटक करिब(करिब बन्द जस्तै भयो।
एआई भर्सेस मैदानको यथार्थ को कति सफल ?
अनुसन्धानले के देखाउँछ भने, एआई र सुपरकम्प्युटरहरू समूह चरण र प्रि क्वार्टरफाइनलसम्मका खेलहरूको नतिजा मिलाउन ७५ देखि ८० प्रतिशतसम्म सफल रहे। ऐतिहासिक डेटा बलियो भएका खेलहरूमा एआईको गणित सटीक साबित भयो।
तर, नकआउट चरणका अप्रत्याशित परिणाम र पेनाल्टी सुटआउटको समयमा भने एआई पनि चुक्यो। फुटबल विश्लेषकहरूका अनुसार एआईले खेलाडीको क्षमता र इतिहासको विश्लेषण गर्न सक्छ, तर मैदानभित्र ९० मिनेटमा खेलाडीले अनुभव गर्ने मानसिक दबाब, इन्जुरी समयको एउटा रातो कार्ड, वा रेफ्रीको एउटा विवादास्पद निर्णयलाई कम्प्युटरको कोडले अझै पनि समात्न सक्दैन।
जेहोस् यसपटकको विश्वकपले के स्पष्ट पारेको छ भने, भविष्यमा फुटबल मात्र होइन, समग्र खेलकुदको विश्लेषण र पूर्वानुमानमा प्रविधिको वर्चस्व रहनेछ। विश्वकपका रैथाने ‘जनावर ज्योतिषी’ हरूको व्यापार एआईको तीव्र लहरमा बगेर इतिहासको पानामा सीमित हुन पुगेको छ।