५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सकियो, आईपीओ ल्याउने तयारी

Jul 09, 2026 02:26 PM Merolagani



लमजुङ जिल्लामा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्यले तीव्रता पाएको छ।

अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको हालसम्म करिब २५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल गरी तीनवटै क्षेत्रका कामहरू समानान्तर रूपमा अघि बढिरहेका छन्। गण्डकी प्रदेशको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा केन्द्रित यस आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।

भौतिक प्रगति र निर्माणको अवस्था

आयोजनाको इन्टेक र डिसेन्डर क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। निर्माण कार्यलाई गति दिन रातिको समयमा समेत कङ्क्रिट ढलानका कामहरू भइरहेका छन्। यस्तै, पावरहाउस निर्माणका लागि आवश्यक उत्खननको कामलाई प्राथमिकतामा राखिएको छ भने भू-संरचनाको स्थायित्वका लागि पूर्वाधार निर्माण जारी छ।

उपकरण निर्माण र मेकानिकल कार्य

सिभिल संरचनासँगै मेकानिकलतर्फको कामले पनि गति लिएको छ। आयोजनाका लागि आवश्यक स्टिल संरचना, गेट र पाइप जस्ता हाइड्रो-मेकानिकल उपकरणहरूको फेब्रिकेसन हेटौंडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको छ।

त्यसैगरी, इलेक्ट्रो–मेकानिकल उपकरणका लागि युरोप र भारतका अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता भई उत्पादन प्रक्रिया अघि बढेको छ। ती उपकरणहरू निर्माण सम्पन्न हुनासाथ आयोजना स्थलमा ल्याएर जडान गरिनेछ।

लगानी र प्रसारण लाइन

कुल ११ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सुनिश्चित भइसकेको छ। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सह–वित्तीयकरणमार्फत लगानी गरेका छन् भने बाँकी रकम स्वपूँजीबाट व्यवस्थापन गरिएको छ।

आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको १३२ केभी उदिपुर सब-स्टेशनमा जोडिनेछ। यसका लागि प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता(पीपीए) भइसकेको छ।

स्थानीय सहभागिता र आईपीओको तयारी

आयोजनामा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता र लगानी रहेको छ। समुदायको अपनत्वलाई ध्यानमा राख्दै कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रिया समेत अगाडि बढाएको छ।

आयोजना समयमै सम्पन्न भएमा यसले राष्ट्रिय प्रसारण प्रणालीमा ५० मेगावाट थप बिजुली योगदान पुर्‍याउने र ऊर्जा क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ