यही सोच र सपनाले जन्म दिएको हो क्याफे ओफिलिया, जसले आज नेपालमा गुणस्तरीय कफी संस्कृतिलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेको छ।
‘ओफिलिया’ अर्थात् गहिरो प्रेम। यही प्रेमलाई व्यवसायमा रूपान्तरण गर्ने साहस गरेका शशांकले होटल व्यवस्थापनमा स्नातक र एमबीए अध्ययन गरेपछि २० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा बिताए। होटल, रेस्टुरेन्टदेखि टेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मको अनुभव बटुलेपछि उनले अन्ततः आफ्नै सपना पछ्याउने निर्णय गरे। उनी आफूलाई कफी प्रेमी,जिम्मेवार अभिभावक र नेपाली कफी इकोसिस्टममा योगदान दिन चाहने उद्यमीका रूपमा चिनाउन रुचाउँछन्। व्यवसायसँगै उनी नेपाल कलेज अफ म्यानेजमेन्टमा अध्यापन पनि गरिरहेका छन्।
नेपालमा उत्पादन हुने उत्कृष्ट कफीको ठूलो हिस्सा विदेश निर्यात भइरहेका बेला शशांकले एउटा महत्वपूर्ण प्रश्न उठाए— विश्वस्तरको नेपाली कफी नेपालीले नै किन नपिउने ? यही सोचबाट उनले कफीलाई नै प्राथमिकता दिए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार १०० मध्ये ८० भन्दा बढी अंक प्राप्त गर्ने कफीलाई स्पेसियालिटी कफी मानिन्छ। कफी उत्पादन हुने स्थानको उचाइ, प्रशोधन विधि, रोस्टिङ र ब्रुइङसम्मका सबै प्रक्रियाले यसको स्वाद निर्धारण गर्छ। इलाम,गोर्खालगायत विभिन्न जिल्लामा उत्पादन हुने कफीको मौलिक स्वादलाई उपभोक्तासम्म पुर्याउनु नै क्याफे ओफिलियाको विशेषता बनेकोछ।
सुरुआती यात्रा भने सहज थिएन। धेरै उपभोक्ताले नयाँ स्वादलाई सहजै स्वीकार्न सकेनन्। कसैले कफी अमिलो भएको प्रतिक्रिया दिए भने कसैले यसलाई कफी नै होइन भन्ने टिप्पणी गरे। तर गुणस्तरमा सम्झौता नगर्ने अडान र निरन्तरको प्रयासले विस्तारै उपभोक्ताको सोच बदलियो। आज त्यही कफीका पारखीहरू नियमित रूपमा ओफिलियामा पुगेर दिनमा तीनदेखि पाँच कपसम्म कफीको स्वाद लिने गर्छन्।
अहिले क्याफे ओफिलियाका १५ वटा शाखा सञ्चालनमा छन् र विस्तारको यात्रा अझै जारी छ। तर शशांकका लागि शाखा विस्तार मात्रै सफलता होइन। उनको विश्वासमा क्याफे भनेको केवल कफी बेच्ने ठाउँ होइन,मानिसहरूलाई जोड्ने एउटा चाैतारी हो। उच्च गतिको इन्टरनेट,बैठकका लागि उपयुक्त वातावरण, सिर्जनात्मक छलफल गर्ने स्थान,रमाइला खेल र नेपाली स्वादका परिकारले ओफिलियालाई विद्यार्थी, युवा उद्यमी, फ्रीलान्सर र व्यवसायीहरूको रोजाइको गन्तव्य बनाएको छ।
आजका युवामा उद्यमशीलताको आकर्षण बढिरहेको देख्ने शशांक उनीहरूलाई हतारमा होइन, सोचविचार गरेर जोखिम लिन सुझाव दिन्छन्। उनका अनुसार व्यवसाय सुरु गर्नु अघि पर्याप्त अनुभव बटुल्नु, बजार बुझ्नु र अरूको समस्या समाधान गर्ने उद्देश्य राख्नु नै सफलताको आधार हो। नेपाललाई केवल भू–परिवेष्ठित देशका रूपमा हेर्नुभन्दा कफी, चिया, हस्तकला र स्थानीय उत्पादनमा रहेको सम्भावनालाई विश्वबजारसम्म पुर्याउनुपर्ने उनको विश्वास छ।
शशांक प्रभात श्रेष्ठको यात्रा एउटा सफल व्यवसायको कथा मात्र होइन। यो आफ्नो देशको उत्पादनप्रति विश्वास गर्ने, गुणस्तरमा सम्झौता नगर्ने र विश्वबजारमा नेपाली पहिचान स्थापित गर्ने दृढ संकल्पको कथा हो। क्याफे ओफिलियाको प्रत्येक कप कफीमा केवल स्वाद मात्र छैन, त्यहाँ नेपाली कफीलाई विश्वकै उत्कृष्ट ब्रान्डमध्ये एक बनाउने सपना मिसिएको छ ।
भिडियाे