प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै उनले १० कित्ते नीति पुनरावलोकन गर्ने बेला आएको बताएका हुन्। उनले १० कित्ते नीतिले धितोपत्र बजारमा दीर्घकालीन लगानी संस्कृति विकास गर्नुको सट्टा छोटो अवधिको नाफामुखी प्रवृत्ति बढाएको बताए ।
उनले अधिकांश सर्वसाधारणले आईपीओमा आवेदन दिनुअघि कम्पनीको बारेमा जानकारी समेत नलिने गरेको उल्लेख गरे । आईपीओ खुल्ने वित्तिकै अधिकांशले ‘मेरो सेयर’ एप खोलेर चिठ्ठा हालेजस्तै आवेदन दिने उनको भनाई छ । उनकाअनुसार १० कित्ता हाल्ने अधिकांश लगानीकर्ताले कम्पनीबारे अध्ययन नै गर्दैनन् । १० कित्ते नीतिले साना लगानीकर्तालाई प्रत्यक्ष शेयर बजारमा ल्याएपनि उनीहरूलाई कम्पनीको दीर्घकालीन लगानीकर्ता बनाउन नसकेको उनले बताए ।
यस्ता लगानीकर्तालाई म्युचुअल फण्डतर्फ लैजानुपर्ने उनको भनाई छ । नेपाली शेयर बजारमा दीर्घकालीन लगानी र लाभांशभन्दा पनि छोटो अवधिमा शेयर मूल्य दोब्बर–तेब्बर हुने अपेक्षा हावी रहेको उनको भनाई छ । उनले हाल खुलेका ७०–८० लाख डिम्याट खातामध्ये ठूलो हिस्सा निष्क्रिय रहेको उल्लेख गरे।
उनले भने, ‘धितोपत्रको समस्या भनेको साक्षरताका कुरा पनि हो । त्यो एउटा भयंकर समस्या छ, अहिले हामी कसैले पनि धितोपत्रमा आईपीओ खुल्यो भने कोही पनि प्रोस्पेक्ट पढ्दैनौं । हामी मेरो सेयर ट्याक्क खोल्छौं, ट्याक्क चाहीँ चिठ्ठा हाले जस्तो एप्लाइ गरिहाल्छौं । कोही मान्छेले पनि त्यो पढ्ने वाला छैन । अब कोही सीमित मान्छेले पढ्नुहोला, अधिकांश १० कित्ता हाल्ने मान्छेले कसैले पढ्दैन । त्यसले गर्दा यो १० कित्ते नीति चाहिँ सबैभन्दा ठूलो यो धितोपत्रमा नराम्रो कुरो भएर बसेको छ । साना लगानीकर्तालाई हामीले म्युचुअल फण्डमा लानुपथ्र्यो । हामी सबैलाई सेयर धनी बनाउने हिसाबले भरमार १० कित्ता हाल्न लगायौं । १० कित्ता हाल्ने मान्छेले के गर्दो रहेछ भने १० वर्षसम्म १० कित्ता हाल्ने मान्छे खोज्न जाँदैन । कम्पनीको एजीएममा पनि जाँदैन, यो कम्पनी कस्तो नि भन्दैन । उसलाई खाली के भन्दिएको छ भने सेयरमा हाल, पैसा दुई गुणा हुन्छ, तीन गुणा हुन्छ भन्दिएको छ । मान्छे त्यसमा कुदेको छ । यो ७०–८० लाख डिम्याट भएको पनि त्यही हो । मलाई लाग्छ, त्यो डिम्याट मध्ये अधिकांश चाहीँ डोरमेन्ट छन्, बैंकमा त्यस्तै छ । यो १० कित्ते नीति हामीले पुनरावलोकन गर्नुपर्ने बेला भो कि जस्तो लाग्छ । त्यस्ता मान्छेलाई हामीले म्युचुअल फन्डमा लान सकियो भने यो एउटा समस्या त्यसले हल गर्छ । अर्को समस्याहरु चाहिँ हाम्रो गभर्नेन्समा पनि छ । आईपीओमा पैसा मागिन्छ भन्ने कुराहरु आयो, हाम्रो फन्डामेन्टल नै अर्को चाहिँ खराब के भयो भने सेयर बजारमा हामी सबैजनाको ध्यान चाहिँ सेयरको प्राइस एकदम माथि आउँछ, हामी डिभिडेन्ड लिने अथवा लङ टर्ममा लगानी गर्ने भन्नेमै छैनौं । हामी आज लगानी गरेपछि हामीलाई एक महिना बीचमा चाहिँ दुई गुणा बढ्नै पर्छ । बढेन भने हामी अनि आन्दोलन गर्ने, के के गर्नेतिर चाहिँ लागेका छौं । यसलाई हामीले हटाउन सक्यौं भने यो सुधार हुँदै जान्छ ।’
उनले धितोपत्र बजारमा हाल देखिएका केही समस्या सुशासनसँग पनि जोडिएको उल्लेख गर्दै आईपीओ प्रक्रियामा देखिने अनियमिततासम्बन्धी विषय नियामकीय सुधारबाट समाधान गर्नुपर्नेमा जोड दिए ।
नेपाल छिट्टै ग्रे लिष्टबाट बाहिरिने दिशामा छ
बैठकमा उनले नेपालमा ग्रे लिस्टबाट बाहिरिने दिशामा रहेको पनि जानकारी दिए । उनकाअनुसार मन्त्रालयले नेपाललाई फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको १५ बुँदे कार्ययोजनामध्ये चार वटा पूर्ण रूपमा कार्यान्वयन गरिसकेको छ । ग्रे लिस्टबाट बाहिरिने दिशामा उल्लेखनीय प्रगति भएको उनले बताए । हालै सम्पन्न एफएटीएफ प्लेनरी बैठकबाट नेपालले चार कार्यसूचीमा ‘फुल्ली एड्रेस’ भएको मान्यता प्राप्त गरेको उनले जानकारी दिए । उनकाअनुसार आगामी सेप्टेम्बरमा मलेसियामा हुने एशिया प्यासिफिक ग्रुप अन मनी लाउण्ड्रिङ (एपीजी) को फेस–टु–फेस बैठकमा नेपालले बाँकी कार्यसूचीमा भएको प्रगति प्रस्तुत गर्नेछ । उनले सुपरभिजन, बेनिफिसियल ओनरशिप, सम्पत्ति जफत (कन्फिस्केशन), मुद्दा अनुसन्धान तथा अभियोजनमा निकायबीचको समन्वयलगायत क्षेत्रमा पनि काम भइरहेको बताए । उनकाअनुसार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, सहकारी र क्यासिनो क्षेत्रका नियामक निकायको सुपरभिजन पनि एफएटीएफ कार्ययोजनाको महत्वपूर्ण हिस्सा हो ।
उनले भने, ‘एफएटीएफको एउटा प्लेनरी थियो । त्यहाँ प्लेनरीमा हामीलाई यो ग्रे लिस्टमा गइसकेपछि एफएटीएफले १५ वटा कामहरु कामहरु गर्नुपर्छ भनेर दिएका कामहरु छन् । त्यसलाई हामी छोटकरीमा एक्शनहरु भन्छाैं। त्यो एक्शनहरु १५ वटा मध्ये चार वटा फुल्ली एड्रेस भयो, नेपालको चार वटा कुरामा हामी अपग्रेड भइसक्यौं । अब छिट्टै सेप्टेम्बरमा फेरि अर्को फेस टु फेस मलेसियामा हुँदैछ । त्यो एपीजीमा हुन्छ, फेस टु फेस भनेको हामीले दिएका एक्सन आइटमहरुमा कति काम गर्यौं, के के गर्यौं भनेर भन्ने विषय हो । त्यो मध्ये एउटा सुपरभिजनको कुरा पर्छ । सुपरभिजन भनेको हाम्रो रेगुलेटरहरुले गर्ने फाइनान्सियल सेक्टरको रेगुलेशन, रेगुलेटरहरुले गर्ने सुपरभिजन हो । त्यसमध्ये एउटा धितोपत्र भयो, नेपाल राष्ट्र बैंकले गर्नुपर्यो, धितोपत्र बोर्डले गर्छ, नेपाल बीमा प्राधिकरण छ । त्यसैगरी क्यासिनोका कुराहरु छन्, अर्को सहकारीका कुरा छन्, धितोपत्र पनि एउटा पार्ट हो, यसको । सुपरभिजनसँगै अरु विषयहरु पनि छन् । बेनिफिसियल ओनरशिप भन्छ, त्यसैगरी हाम्रो कन्फिस्केशन भन्छ । यी सबै कामहरुमा काम अहिले भइरहेको छ । मुद्दाका कुराहरु पनि छन्, मुद्दा लाँदा खेरी हाम्रो एजेन्सीहरुको मुद्दा लाने सन्दर्भमा कत्तिको कोअर्डिनेशन छ भन्ने विषय पनि छ । वर्तमान सरकार बनिसकेपछि हाम्रो मुद्दामा पनि प्रगति भइरहेको छ । ठूला–ठूला मुद्दाहरुका कुरा छन् । अहिले हामी चाहिँ सहि दिशामा गइरहेका छौं, अहिलेको हिसावमा जुन काम भइरहेको छ, त्यसैमा हामी जान सक्यौं भने अब छिट्टै नै हामी ग्रे लिस्टबाट बाहिरिन सक्ने परिस्थितिहरु बन्दै गएको छ ।’
ठूला मुद्दाको अनुसन्धान तथा नियामकीय सुधारमा प्रगति भइरहेको उल्लेख गर्दै उनले वर्तमान कार्यगतिले निरन्तरता पाएमा नेपाल निकट भविष्यमै एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सक्ने अवस्था बन्ने दाबी गरे ।