विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले विहीबार गते सजाय निर्धारण गर्दै पौडेल र दीपक आनन्दलाई दोषी ठहर गरेको हो ।
फैसलाअनुसार पौडेल र आनन्दले तत्कालीन विनिमय दरअनुसार नेपाली रु.३ करोड ८ लाख ५० हजार ४ सय बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन सहमति गरेको पुष्टि भएको छ । सोही आधारमा दुवै जनालाई बिगो बराबर रु.३ करोड ८ लाख ५० हजार ४ सय कायम गरिएको छ ।
साथै पौडेललाई बिगोको आधा अर्थात् रु. १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय सुनाइएको छ । पौडेल सार्वजनिक पदमा रहेको अवस्थामा कसुर गरेको ठहर गर्दै ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत गरिएको छ । यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ ।
अदालतले दीपक आनन्दलाई पनि रु.१ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।
यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को अनुसार दुवै प्रतिवादीबाट असुल हुने रकमको २ प्रतिशत अर्थात् रु.६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।