पूँजीगत लाभकरमा गिरावट: अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले घट्यो, लगानीकर्ताले कमाए १ खर्ब १२ अर्ब

Jul 18, 2026 07:03 PM Merolagani



सुवास निरौला
नेपालको शेयर बजारमा आर्थिक वर्ष २०८१/८२ मा कायम भएको ऐतिहासिक रेकर्ड आर्थिक वर्ष २०८२/८३ मा भने टिक्न सकेन। 

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सरकारले संकलन गर्ने पूँजीगत लाभकर (CGT) मा उल्लेख्य गिरावट आएको छ।

आर्थिक वर्ष २०८१/८२ नेपालको पूँजी बजारका लागि 'स्वर्ण वर्ष' सावित भएको थियो। उक्त वर्ष सरकारले शेयर बजारबाट हालसम्मकै उच्च १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको थियो। तर, भर्खरै प्राप्त आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार, वर्षभरिमा कुल १० अर्ब ३५ करोड १६ लाख रुपैयाँ मात्र लाभकर संकलन भएको छ। यसरी तुलना गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सरकारको राजस्व ६ अर्ब १९ करोड २१ लाख रुपैयाँ (करिब ३७.४२ प्रतिशत)ले घटेको छ। बजारमा कारोबार रकम र लगानीकर्ताको सक्रियतामा आएको उतारचढावका कारण राजस्वमा यस्तो संकुचन देखिएको हो।

 

आर्थिक वर्ष २०८२/८३ सम्म लगानीकर्ताले पुरानै दर रेटमा कर तिरेका थिए। जस अन्तर्गत व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत, व्यक्तिगत अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो।

१. दीर्घकालीन लगानीकर्ता (Individual LT): यिनीहरूले वर्षभरिमा कुल २ अर्ब ७४ करोड १२ लाख रुपैयाँ कर बुझाएका छन्। ५ प्रतिशत करका आधारमा हिसाब गर्दा यी लगानीकर्ताले कुल ५४ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ मुनाफा गरेका देखिन्छन्।

२. अल्पकालीन लगानीकर्ता (Individual ST): यिनीहरूले कुल ५ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कर तिरेका छन्। ७.५ प्रतिशतको करका दरले हिसाब गर्दा अल्पकालीन लगानीकर्ताले ७२ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्।

३. संस्थागत लगानीकर्ता (Corporate): यिनीहरूबाट २ अर्ब १८ करोड ४ लाख रुपैयाँ कर संकलन भएको छ। १० प्रतिशत करका आधारमा उनीहरूको मुनाफा २१ अर्ब ८० करोड ४७ लाख रुपैयाँ रहेको छ।

समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा शेयर बजारका सबै वर्गका लगानीकर्ताले कुल १ खर्ब ४९ अर्ब २ करोड ७९ लाख रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाउँछ।

आज श्रावण १ गतेदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०८३/८४ सँगै शेयर बजारको पूँजीगत लाभकरमा नयाँ दर रेट लागू भएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लाभकरको दर बढाउने निर्णय गरेको थियो। जुन आजबाट पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।

नयाँ व्यवस्था अनुसार अब:

  • अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम होल्ड गर्ने): अब १० प्रतिशत कर तिर्नुपर्नेछ (यसअघि ७.५% थियो)।

  • दीर्घकालीन लगानीकर्ता (१ वर्षभन्दा बढी होल्ड गर्ने): अब ७.५ प्रतिशत कर तिर्नुपर्नेछ (यसअघि ५% थियो)।

  • संस्थागत लगानीकर्ता: यसअघिकै १० प्रतिशत कर यथावत राखिएको छ।

यो नयाँ व्यवस्थाले आगामी दिनमा शेयर कारोबारबाट हुने मुनाफामा लगानीकर्ताको करको भार केही बढाउने निश्चित छ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोडको ऐतिहासिक कारोबार भएको थियो। तर २०८२/८३ मा बजारले सोही स्तरको गति समात्न सकेन। यद्यपि, श्रावण र चैत महिनामा भने बजारमा राम्रो चहलपहल देखिएको थियो। गत आर्थिक वर्षकाे चैत महिनामा सबैभन्दा धेरै १ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ लाभकर संकलन भएको थियो भने असोज महिनामा सबैभन्दा कम २४ करोड ३६ लाख मात्र राजस्व उठेको थियो।

तुलनात्मक तालिका: पूँजीगत लाभकर (करोडमा)

महिना आ.व. २०८१/८२ (करोडमा) आ.व. २०८२/८३ (करोडमा) वृद्धि/कमी (करोड)
साउन ४२३.७८ २१५.७५ -२०८.०३
भदौ २५७.९४ ६०.१५ -१९७.७९
असोज ५८.६५ २४.३६ -३४.२९
कार्तिक ७५.८७ ३८.०६ -३७.८१
मंसिर १०४.०६ ६२.९८ -४१.०८
पुस ५८.०७ ५८.४३ +०.३६
माघ १०५.७० १२९.१९ +२३.४९
फागुन १३३.०२ ५५.१५ -७७.८७
चैत ६९.३५ १७३.५७ +१०४.२२
वैशाख १२२.९२ ९३.६१ -२९.३१
जेठ ११७.८२ ४३.१८ -७४.६४
असार १२७.१२ ८०.६८ -४६.४४
कुल जम्मा १६५४.३७ १०३५.१६ -६१९.२१

अघिल्लो वर्षको तुलनामा गत वर्षको राजस्व संकलनमा कमी आए पनि १० अर्ब माथिको पूँजीगत लाभकर संकलन हुनुले नेपाली शेयर बजारको परिपक्वता र अर्थतन्त्रमा यसको योगदानलाई पुष्टि गर्छ। लगानीकर्ताले करिब १ खर्ब ४९ अर्ब मुनाफा आर्जन गर्नुले शेयर बजार आम्दानीको एउटा बलियो स्रोत बनेको देखाउँछ।

आजबाट सुरु भएको नयाँ आर्थिक वर्ष र बढेको करको दरले आगामी दिनमा राजस्व संकलनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बजारको आगामी दिशा र कारोबारको आकारमा निर्भर गर्नेछ। नीतिगत स्थिरता र बजार विकासमा राज्यले ध्यान दिन सके शेयर बजारबाट संकलन हुने पूँजीगत लाभकरले राज्यको आन्तरिक राजस्वमा थप योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।