अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै डिजिटल भुक्तानी गरी बिल लिने उपभोक्तालाई दैनिक र पाक्षिक रूपमा नगद पुरस्कार दिने व्यवस्था गरेको हो ।
कसरी सहभागी हुने ?
यो कार्यक्रममा सहभागी हुन उपभोक्ताले नेपालभित्र स्व-प्रयोजनका लागि एक पटकमा कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्नुपर्नेछ । खरिद गर्दा विद्युतीय भुक्तानी (Digital Payment) माध्यमबाट रकम तिरेको हुनुपर्ने र उक्त बिजक आन्तरिक राजस्व विभागको प्रणालीमा प्रविष्ट भएको हुनुपर्नेछ ।
पुरस्कारको राशि र छनोट प्रक्रिया
कार्यविधिअनुसार उपहारका लागि दुईवटा विधा तोकिएका छन्:
१. दैनिक उपहार: प्रत्येक दिन एक जना भाग्यशाली विजेता छनोट गरिनेछ, जसले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्राप्त गर्नेछन् ।
२. पाक्षिक बम्पर उपहार: हरेक १५ दिनमा एक जना बम्पर विजेता छनोट गरिनेछ, जसले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
विजेताको छनोट विभागले स्वचालित प्रणाली (Automatic System) बाट गर्नेछ । यसरी प्राप्त हुने पुरस्कारको रकममा आयकर ऐनअनुसार २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरिने कार्यविधिमा उल्लेख छ ।
यी बिलहरू मान्य हुने छैनन्
व्यवसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थाले जारी गरेका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी साधन तथा ढुवानी र हवाई टिकटको बिल यस कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन् । साथै, स्थायी लेखा नम्बर (PAN) नलिएका व्यक्तिबाट खरिद गरिएको बिल पनि मान्य हुने छैन ।
दाबी गर्ने प्रक्रिया
विजेता घोषणा भएको १५ दिनभित्र उपभोक्ताले सक्कल बिजक, नागरिकता वा परिचयपत्र र बैंक खाताको विवरणसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ । विभागले निवेदन जाँचबुझ गरी १० दिनभित्र पुरस्कार रकम विजेताको बैंक खातामा सिधै जम्मा गरिदिनेछ ।
मुख्य उद्देश्य
अर्थ मन्त्रालयले वास्तविक कारोबारको अभिलेखनलाई प्रोत्साहन गर्न र उपभोक्तामा 'बिल माग्ने' संस्कृतिको विकास गर्न यो कार्यविधि ल्याएको हो । यसले राजस्व चुहावट नियन्त्रण गर्न र बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।