करदातालाई नतर्साउन अर्थमन्त्रीको निर्देशन

Jul 23, 2026 04:20 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नबनाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभागमा कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर सङ्कलनका लागि जबरजस्ती नगर्न भनेका हुन्।

“करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,“ उनले भने, “कर प्रशासनमा सुधार भएछ र कर तिर्न बोझ छैन भन्ने सन्देश बजारमा जानुपर्छ। उनले जबरजस्ती र त्रास देखाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करको दायरा विस्तार गर्न कर्मचारीहरूलाई आग्रह गरे।

कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिको अभाव भए जानकारी गराउन उनले भनेका छन्। उनले अब्बल काम गर्ने र राज्यलाई लाभ दिलाउने कर्मचारीलाई प्रोत्साहन गर्ने बताए। राजस्वको १६ खर्बको लक्ष्य पूरा गर्न करदातालाई सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।

बजेटमा दिइएको छुट कार्यान्वयन गर्न, करदाता सचेतना वृद्धि गर्न र कारोबारलाई डिजिटल बनाउन उनले विभागीय नेतृत्वलाई निर्देशन दिएका छन्। मुलुकलाई ग्रे लिस्ट बाट निकाल्न सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट मिहीन ढङ्गले हेर्न उनले आग्रह गरे। यस्तै, उनले कर्मचारीको वृत्तिविकास कामको आधारमा हुने स्पष्ट पार्दै सरुवाका लागि सोर्सफोर्स नलगाउन कर्मचारीहरूलाई सचेत गराएका छन्।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।