सुन आयातको रोचक तथ्याङ्क: परिमाण १ प्रतिशतले मात्रै बढ्दा मूल्य र राजस्वमा कीर्तिमानी उछाल

Jul 25, 2026 05:51 AM Merolagani



सुवास निरौला

नेपालमा सुन आयातको पछिल्लो तथ्याङ्कले अर्थतन्त्रको एउटा अनौठो र चुनौतीपूर्ण पाटो उजागर गरेको छ। 

भन्सार विभागको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को तथ्याङ्क तुलना गर्दा सुनको आयात परिमाणमा खासै ठूलो फेरबदल नदेखिए पनि यसका लागि बाहिरिने रकम र राज्यले उठाउने राजस्वमा भने भारी वृद्धि भएको पाइएको छ।

परिमाणको तुलना: केवल १.०८ प्रतिशतको वृद्धि

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले विभिन्न देशबाट कुल १,३८९.४३ किलो सुन आयात गरेको थियो। जसमा युएईबाट १,२८५ किलो र टर्कीबाट १०० किलो मुख्य रूपमा भित्रिएको थियो। त्यसको ठीक एक वर्षपछि, अर्थात् गत आर्थिक वर्ष २०८२/८३ मा सुन आयातको कुल परिमाण बढेर १,४०४.४९ किलो पुगेको छ।

 

 

अघिल्लो वर्षको तुलनामा यो आयात परिमाण केवल १५.०६ किलो अर्थात् १.०८ प्रतिशतले मात्र बढी हो। यसले के देखाउँछ भने नेपालमा सुनको वास्तविक मागमा उल्लेख्य वृद्धि नभए पनि अन्तर्राष्ट्रिय बजार र मूल्यका कारण अर्थतन्त्रमा यसको भार भने झन् गह्रौँ हुँदै गएको छ।

कुन देशबाट कति भित्रियो सुन? (देशगत विश्लेषण)

नेपालको सुन आयातको मुख्य स्रोतमा संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो एकाधिकार जस्तै पकड कायम राखेको छ। २०८१/८२ मा युएईबाट १,२८४.९ किलो सुन आएकोमा २०८२/८३ मा यो बढेर १,४०३.१९ किलो पुगेको छ। समग्र आयातको ९९ प्रतिशतभन्दा बढी हिस्सा युएईकै छ। अघिल्लो वर्ष (२०८१/८२) टर्कीबाट १०० किलो सुन आएको थियो, तर गत वर्ष टर्कीको आयात शून्यप्राय: देखिएको छ। गत वर्ष भारतबाट १ किलो (१००० ग्राम) सुन आयात भएको छ, जुन अघिल्लो वर्षको तथ्याङ्कमा देखिएको थिएन। कतार, साउदी अरब, थाइल्याण्ड, अमेरिका, र बेलायतबाट पनि सानो परिमाणमा (ग्राममा) सुन भित्रिएको छ। यी देशहरूबाट हुने आयात व्यापारिक भन्दा पनि वैदेशिक रोजगारीबाट फर्कनेहरूले ल्याएको सुन बढी हुन सक्ने देखिन्छ।

मूल्य र राजस्वमा ६७ देखि ३७३ प्रतिशतको 'ब्लास्ट'

तथ्याङ्कको सबैभन्दा डरलाग्दो पक्ष मूल्य र राजस्वमा देखिएको छ। २०८१/८२ मा युएईबाट आएको सूनको लागत १६ अर्ब ३ करोड रुपैयाँ थियो। तर, गत वर्ष २०८२/८३ मा सोही युएईबाट आएको सूनको मूल्य ६७ प्रतिशतले बढेर २६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। परिमाणमा १ प्रतिशत मात्र बढ्दा मूल्यमा ६७ प्रतिशतको वृद्धि हुनुले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकासिएको पुष्टि गर्छ।राजस्वको क्षेत्रमा भने सरकारले 'ज्याकपट' नै मारेको देखिन्छ। २०८१/८२ मा युएईको सुन आयातबाट १ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा २०८२/८३ मा यो ३७३ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। सरकारले सुनमा बढाएको भन्सार दर र मूल्य वृद्धि दुवैका कारण राजस्वमा यो ऐतिहासिक उछाल देखिएको हो।

अर्थतन्त्रमा असर: राजस्वको आडमा वैदेशिक मुद्राको क्षति

सुन आयातबाट ७ अर्ब ७६ करोड राजस्व उठ्नु सरकारका लागि सुखद पक्ष भए पनि यसका लागि बाहिरिएको २६ अर्ब ७७ करोड रुपैयाँ (विदेशी मुद्रा) ले नेपालको शोधनान्तर स्थितिमा दबाब थपेको छ। परिमाणमा वृद्धि नहुँदा पनि १० अर्बभन्दा बढी थप रकम सूनका लागि बाहिरिनुले नेपालको क्रयशक्ति र डलर सञ्चितिमा प्रत्यक्ष असर पारेको छ।

दुई आर्थिक वर्षको यो तुलनात्मक तथ्याङ्कले नेपालको सुन बजार युएईमा निर्भर रहेको र अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिले नेपाली उपभोक्ता र अर्थतन्त्र दुवैलाई नराम्ररी थिचेको देखाउँछ। १ प्रतिशतको परिमाण वृद्धिमै मूल्य ६७ प्रतिशत र राजस्व ३७३ प्रतिशतले बढ्नुले सुन अब केवल गरगहना मात्र नभई सरकारका लागि राजस्वको र उपभोक्ताका लागि विलासिताको महँगो वस्तु बनेको छ। 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।