जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको बाहुल्यता रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ। गत आर्थिक वर्षमा ओटिसी बजारमा कुल २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर किनबेच भएको छ। यस कारोबारबाट कुल ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार ५०० रुपैयाँ बराबरको पुँजी परिचालन भएको देखिन्छ। यो तथ्याङ्कले नेप्से बाहिर रहेका सार्वजनिक लिमिटेड कम्पनीहरूमा लगानीकर्ताको आकर्षण र तरलता निकै बलियो रहेको पुष्टि गर्दछ।
मूल्यका आधारमा यस वर्ष ओटिसी बजारमा 'फोनपे पेमेन्ट सर्भिस'ले सबैलाई उछिनेको छ। २०८२ माघ २५ गते यस कम्पनीको शेयर प्रति कित्ता १,३१५ रुपैयाँमा कारोबार भई वर्षकै सबैभन्दा महँगो शेयर सावित भयो। डिजिटल भुक्तानीको क्षेत्रमा रहेको यसको एकाधिकार र नाफाका कारण लगानीकर्ताले उच्च प्रिमियम तिरेको देखिन्छ। यसपछि फेडरल रिइन्स्योरेन्स ब्रोकरको शेयर १,०१० रुपैयाँमा कारोबार भएको थियो।
अर्कोतर्फ, सबैभन्दा सस्तो मूल्यमा कारोबार हुने कम्पनीमा 'हिमशिला पावर कम्पनी' देखिएको छ। २०८२ मंसिर १५ गते यसको शेयर प्रतिकित्ता मात्र ५१.८७ रुपैयाँमा किनबेच भएको थियो, जुन अंकित मूल्य (१०० रुपैयाँ) भन्दा झण्डै आधा कम हो। यस्तै, बुढानिलकण्ठ हेरिटेजको शेयर पनि ६३.१७ रुपैयाँको न्यून मूल्यमा कारोबार भएको रेकर्ड छ।
शेयर संख्या (कित्ता) का आधारमा 'बुढानिलकण्ठ हेरिटेज' ले सबैभन्दा ठूलो कारोबारको रेकर्ड राखेको छ। २०८२ असोज २९ गते यस कम्पनीको एकै पटक २३ लाख १९ हजार ६७६ कित्ता शेयर हस्तान्तरण भएको थियो। यस्तै, फोनपेको ११ लाख ५२ हजार ११ कित्ता र नेपाल सेरामिकको १० लाख कित्ताको ठूला कारोबारहरू पनि ओटिसी बजारमा देखिए।

सबैभन्दा कम कित्ता कारोबार हुने कम्पनीमा 'सिटिजन्स क्यापिटल' परेको छ। २०८२ पुस १४ गते यस कम्पनीको मात्र ५,००० कित्ता शेयर किनबेच भएको थियो। यसबाहेक टाइम फर्मास्युटिकल्सको ५,३८३ कित्ता र गज्र्याङ उपत्यका हाइड्रोपावरको ६,००० कित्ताका साना कारोबारहरू पनि सूचीमा छन्।
ओटिसी बजारमा 'गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड' सबैभन्दा बढी पटक (९ पटक) कारोबार हुने कम्पनी बनेको छ। यस कम्पनीको शेयर मूल्य १०० देखि १३० रुपैयाँको बीचमा स्थिर देखिएको छ। ब्रोकर कम्पनीहरू (नासा, हिमालयन, मिल्कीवे, सेन्चुरी, रोडशो आदि)ले पनि आफ्नो स्वामित्व परिवर्तनका लागि ओटिसी बजारलाई मुख्य प्लेटफर्मका रूपमा प्रयोग गरेका छन्। यस्तै, 'सर्वोत्तम स्टिल'को तीन पटक भएको कारोबारमा झण्डै १९ लाख कित्ता शेयर १३० देखि १४० रुपैयाँको हाराहारीमा किनबेच भएको छ, जसले उत्पादनमूलक उद्योगमा ओटिसीमार्फत ठूलो लगानी भित्रिएको संकेत गर्छ।
आर्थिक वर्ष २०८२/८३ को ओटिसी बजारको यो चित्रले नेपालको पूँजी बजार परिपक्व हुँदै गएको देखाउँछ। ५ अर्ब ६२ करोडको यो कारोबारले नेप्सेमा सूचीकृत नभएका तर बलियो व्यावसायिक आधार भएका कम्पनीहरूको मूल्य बजारले आफैँ निर्धारण गर्न थालेको छ।